ताजा अपडेट »

गठबन्धन : सबैभन्दा ठूलो दल

सोमबार, १८ मंसिर २०८०, १२ : ००
70 Shares
सोमबार, १८ मंसिर २०८०
70 Shares

हो राजनीतिक दलको परिभाषा र सिद्धान्त विपरीत प्रजातान्त्रिक मूल्य मान्यतालाई अँठ्याउँदै वर्तमानमा गठबन्धन मुलुकको सबैभन्दा ठूलो दलमा परिणत हुँदै गरेको अवस्था छ। यस्तो दल जसको आफ्नो सिद्धान्त, झण्डा, चिन्ह, घोषणापत्र केही हुँदैन । मान्यताको हकमा साझा कार्यक्रम मात्र हुन्छ। तर सम्बद्ध दलहरूको आ-आफ्नो सिद्धान्त, मान्यता, घोषणापत्र, चिन्ह, झण्डा, सांगठनिक संरचना सबथोक हुन्छ। राजनीति र राजनीतिक दलहरूप्रतिको परिवर्तित जनदृष्टिकोणको कारण विशेषतः पुराना ठूला दलहरूलाई आफ्नो दलीय अस्तित्व बरकरार राख्न निकै कठिन भएको, भुईँ पार्टीको दर्जामा पुग्ने जोखिम रहेको र परिवर्तित अवस्थाको चुनौतीहरू थेग्न सक्ने आफ्नो दलको ल्याकतमा विश्वस्त हुने स्थिति नरहेको आत्मानुभूति कै कारण दलीय हैसियत मेन्टेन गर्न गठबन्धनकारी दलहरू मौजुदा गठबन्धनलाई दलको रूपमा स्थापित गर्ने तरखरमा छन्। हाम्रो लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यो एउटा अप्राकृतिक अभ्यास हुनेछ। प्रतिस्पर्धात्मक बहुदलीयता क्रेक हुनेछ।

राजनीति भनेको जोखिम उठाउनु हो। तर गठबन्धनकारी दलहरू जोखिमको राजनीति होईन, आनन्दको राजनीति गर्न चाहन्छन्। गठबन्धनकारी दलहरूले भन्ने गर्दछन कि गत वर्ष २०७९ मंसिर ०४ गते सम्पन्न संघीय संसदको निर्वाचनमा तिनीहरूलाई जे जति सिट संख्या प्राप्त भयो त्यो गठबन्धन कै कारण प्राप्त भएको थियो। बदलिँदै गरेको राजनीतिक माहोलमा एक्ला एक्लै निर्वाचन लड्दा बहुमत ल्याउन सकिँदैन त्यसैले गठबन्धन गरेर निर्वाचनमा जानु परेको नेताहरू बताउने गर्दछन्। वास्तवमा त्यो राजनीतिक लुच्च्याइँ हो।

निर्वाचनमा कुनैपनि दलको स्पष्ट बहुमत नआउँदैमा राजनीतिक उथल-पुथल हुने होईन। त्यस अवस्थामा सरकार निर्माणको सर्वोत्तम मार्ग भनेको गठबन्धन हो। त्यो नै गठबन्धनको वास्तविक प्रयोजन हो। मूलतः सरकार निर्माण गर्ने क्रममा र राष्ट्रीय संकटको बखतमा निश्चित समयावधिको लागि गठबन्धनको अवस्था आइपर्दछ। तर विगत केहि वर्षयता मुख्य दलहरू निर्वाचनमा पनि गठबन्धन गरेर जाने विकृत परिपाटी स्थापित हुँदै आएको छ। गठबन्धनको विरोध गर्नेहरूलाई पार्टी नेतृत्व र उनको झोलेहरूले खेदो गर्दछन्। तिनीहरू गठबन्धन एडिक्टेड जस्तै भएका छन्। जीवनपर्यन्त चैनको राजनीति गर्न चाहन्छन्। त्यसैले गठबन्धन अतिआवश्य रहेको अनेक देखौवा गर्दै मौजुदा गठबन्धनलाई सबै भन्दा ठूलो दलको रूपमा स्थापित गर्नमा तत्पर देखिन्छन्।

गठबन्धनको निम्ति पार्टीलाई जोखिममा पुर्याउनु किमार्थ राजनीतिक आचरण होईन। सर्वथा अहंवाद हो। गठबन्धन टुटेको खण्डमा आबद्ध कम्युनिस्ट दलहरूले विगतमा झैँ एकता गरेमा बाहेकको अवस्थामा ती दलहरू लगाएत कांग्रेसको दलीय हैसियत अन्ततः छर्लङ्गिने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।