१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

यही सोमवारको विहान नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापासँगै तिनाउको सिद्धबाबामा भेट गएर दोभान पुग्यौं । त्यतिबेला विहानको नौ बजिसकेको थियो । घोडेबासमा पुग्दा पाध्यबाजेले घर अघि आफूलाई पारिलो घाममा सुकाएका थिए ।

Advertisement

शेरबहादुर थापा दाइले बाटोमून्तिरको दुकानमा चुरोटको धूँवा उडाउँदै थिए । हामीभने मोटरसाइकलमा बेतोडले उड्दै थियौं । डोलमा कमल,बाबुराम थिएनन् । उनीहरुका टिप्पर भने ठिंग उभिएका थिए सेकुरिटी गार्डझैं । पासकुण्डा गाउँमा कालिका आधारभूत विद्यालयका प्रअ पर्शुराम लम्सालसँगखेतमा भेट भो । उनले खेत सिंचित गर्दै थिए । उनका दाइ भोगप्रसाद भने घरअघि तरकारी केलाउँदै थिए ।

खुर्साने गाउँ पुग्नु अघि हामीले पारिपाखामा रहेको बगाह गाउँको फोटो खिचियो । लक्ष्मण जीसीको घर पारिलो घामले गर्दा झलल देखिन्थ्यो । उनकी बहिनी कुमारीको घर देख्यौं तर उनलाई भने टाढा भएर होला देखेनौं । अघि बढियो । माथिल्लो खुर्साने गाउँका हिमाल खातीसँग टाढैबाट कुराकानी भो । उनले रानीझरना हेर्न आउने पर्यटन झुक्किएर यता आएका हुन् कि झैं मानेका रहेछन् हामीलाई । सञ्चो,विसञ्चो कुरो गरियो । यही गाउँमा वडा नं. २ वडापालिका सदस्य शान्ति विकको घरपनि । उनलाई भने देख्न,भेट्न पाइएन । कारण हामी माथि गाउँमा गइएन,उनी बाटामा थिइनन् । प्रकाश विकलाई पनि देखिनँ ।

कुँडापानी पुगियो । कुर्मान खोला तरियो । डाँडालाई खुइलाइएर हिमालजस्तै बनाइएको रहेछ । सर्वोत्तम सिमेन्ट कारखानाको करामत रहेछ त्यो । हामीले खोला तरेर तालगाउँतिर उक्लिदा एउटो पाखोमा उभिएर,त्यो हिमालजस्तो डाँडोलाई इन्सेटमा राखेर फोटो खिच्यौं । बेनुले दङ्ग परेर पत्रकारलेजस्तै प्रश्नका ओइरो तेर्साए मलाई । चुनखानीका बारेमा सोध्न मन लागेजति प्रश्न गरेर थाकेपछि फेरि उकालो लागियो । ताल गाउँको मिलनचोक नजिकै जन आधारभूत विद्यालयका प्रअ भीमबहादुर चिदीको पसल छ । त्यहाँ इन्टरनेट जोडिएकाले सामाजिक सञ्जाल चलाउन गाउँलेहरुको कुम्भमेला लाग्ने कुरा मैले ज्ञानोदय मावि,ओखलढुंगाका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घर्तिमगरबाट थाहा पाएको थिएँ ।
त्यही भेट भयो धनबहादुरसँग पनि ।

भीम सरकी कान्छी बुहारीले हामीलाई पानीले स्वागत गरिन् । मेडमले सेलरोटी फन्काउँदै थिइन् । रोटी चाख्नु हुन्छ र भन्लिन् भनेको त लाजले पो मुख छोपिन् । भीम सर भने घरतिर लागेका रहेछन् । एकछिन बात मारेर हिडियो । जन आधारभूत विद्यालय हुँदै ज्ञानोदय माविका शिक्षक लोकबहादुर सुनारी सरकहाँ । बाटामूनिको घरमा बोका काटेर भागको पसारो लगाउँदै थिए । एकजना बहिनीले बार्दलीमा सिलाइकटाइ मेसीन दौडाइ रहेकी थिइन् खररर …..पार्दै ।

लोक सरकहाँ पुग्दा उनका सबै परिवार घर अघि आआफ्ना कर्ममा तल्लीन देखिन्थे । उनका बाबा नेपाल प्रहरीको हवल्दारबाट निवृत्त भएका रहेछन् । तीन भाइ रहेछन् लोकसरका । सबै आआफ्नै कर्ममा गतिशील रहेछन् । तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरको दिदीको घर पनि हो । ओम सरकी दिदीले पिंढीमा बसेर टपरी खुट्दै थिइन् । गुन्द्रीमा पाहुना बनेर बेनु र मैले दुईदुई थान फन्केरोटीसँगै मासु र अचार धस्काइयो । अचार विपत्ता मिठो लागेपछि पुनः थपें मैले । खाना खाएर विदा हुन भनेका थिए लोक सरका सबैले तर सकिन्न हजुर भन्दै बिन्ति दर्साएर विदा भइयो ।

मुर्थुम गाउँ पुगियो । ३४ घरमा मुनबहादुर विक बाहेक अरु सबै मगर जातिको रहेछ । चिटिक्क परेको पारिलो ठाउँमा रहेको गाउँमा कच्चीबाटो पुगेको रहेछ । खानेपानी हिउँदमा अभाव हुने कुरा थाहा भयो । सिंचाइका लागि खासै सुविधा रहेनछ । गाउँलेहरु धेरै खोटोमा काम गर्न जाजरकोट, अछाम,सल्यान जाँदा रहेछन् । गाउँमा बस्नेहरुले बाख्रा,भैसी पालेका रहेछन् । अदुवा,बेसार,केरा,तरकारी लगाएर आफ्नो परिवार पाल्दा रहेछन् । धनबहादुर घर्तिमगरले दिएको बोडी र सेमी उपहार लिएर उनकै जहान र छोरीले पकाएको फिनी रोटी चपाउँदै पानीले निलियो । रानीढुंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रहेछन् उनी । सोही गाउँबाट पूर्वीपाखा तलपट्टि तालगाउँ,कुँडापानी,पारिपाखा ओखलढुंगा र सालघारी देखिन्छ भने दक्षिण–पश्चिमको तलतिर आरखुदी गाउँ देखिदो रहेछ ।

ओखलढुंगा पुग्नेबेला उकालोमा हुमबहादुर गाहासँग भेट भो । ७३ वर्ष पुगेका उनी,गजवले हिडडूल गर्न सक्छन् । उनका दुईभाइ छोरा( कुलबहादुर र नरबहादुर) हरु विद्यालयमा पढाउँछन् । गाउँमा ज्ञानोदय मावि छ । १२ कक्षासम्म पढाई हुने उक्त, विद्यालयमा पौने तीन सय विद्यार्थी छन् । हामी त्यहाँ पुग्दा वडाध्यक्ष भुवानसिंह चिदी ससुराली गाउँ कचलफाँट गएका रहेछन् ।

प्रेमबहादुर विकसँग भेट भयो । बाटामा तोरणसँगै सेलरोटी झुण्डाएको देख्दा रमाइलो लागेर फोटो खिचें । रिङसिङ लेकलाई इन्सेटमा राखेर गाउँकै फुच्चे भाइ प्रवीणले हामी दुईको झिल्के फोटो झ्याप्प खिचि दिए । ओखल र ढुंगा पनि हे¥यौं । कलाकार यमबहादुर थापाको कलाकृति हो त्यो । परिकल्पना चाहिं तिनाउ गापाका पूर्वअध्यक्ष ओमबहादुर घर्तिमगरको रहेछ । उनका दाइलाई भेटियो । सालधारा हुँदै कुँडापानी झरियो । कुर्मानखोला तरेर एउटा गतिलो फोटो खिचें । कचल र दोभान छुट्टाउने सीमाना खोला हो त्यो ।

दोभानको अविरल पार्क आउँदा तीन बज्दै थियो । नरसिंह भण्डारीसँग भेट भयो । उनले मोबाइलमा यूट्यूव हेर्दै थिए । बाख्रा चराउन आएका रहेछन् । पार्क सातपत्रे सामुदायिक वनभित्र रहेको छ । भौतिक संरचना बनेपनि संरक्षण हुन नसकेको देखेपछि नरमाइलो लाग्यो । कसले संरक्षण गर्नुपर्ने थियो,हो र छ ? सायद जिम्मेवारी बोक्ने निकाय कोही भएनन र त आज करोडौंका सरकारी सम्पत्तिको यो हालत देख्दा दुःख लाग्छ ।

फर्किदा दोभान चौकीनिर रहेका राजबहादुर श्रेष्ठ दाइकहाँ पाडाको सुकुटी मस्त चपाइयो । भाउजुको कलात्मक पाक्वकलाका कारण सुकुटी खानेहरुको भीड लाग्छ । सस्तो,मीठो सुकुटीले सबैको मन तानेको छ । गाईतिहारको दिन गाउँ घुमेर रोटी र सुकुटी चपाउँदै बटौली झरियो । ट्राफिक चोक,बुटवलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देउसी,भैलोको कार्यक्रम सुरु गर्दै रहेछ । हेरियो एकछिन् । कलाकारहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । सबैथोक पाइने चोकमा मान्छेको भीड नहुने कुरै भएन । बुटवलबाट बुटवलसम्म करिव ४४ किलोमीटरको दूरी नापियो । आफ्नो गाउँ घुम्दा आफैलाई रमाइला त लागे । आँखाले धेरै फोटो खिचियो । मनले धेरैका भावना खिचे होलान् । गाउँलेका कथा धेरै सुनियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशनी