ताजा अपडेट »

भैरहवाका अभिभावक थिए स्वर्गीय गौचन

शनिबार, ३० भदौ २०८०, १६ : ५५
181 Shares
शनिबार, ३० भदौ २०८०
181 Shares

भैरहवा । भैरहवाका प्राय कार्यक्रममा उपस्थित हुन्थे गौचन । उपस्थित भएर मात्र नपुग्ने उनी कार्यक्रममा आफ्नो राय सुझाव सहित आयोजकलाई मार्गनिर्देशन गर्ने गरेका थिए । बिरोध कार्यक्रम होस कि जनचेतनामूलक कार्यक्रम गौचन सधै अग्रपंक्तिमा रहने गर्दथे ।

भैरहवाका ब्यवसायी एवम वरिष्ठ समाजसेवी उनै ओमकार गौचन गुमाउनु पर्दा भैरहवाले आफ्नो अभिभावक गुमाएको छ । शनिबार उद्योग बाणिज्य संघ भैरहवाको संयोजनमा भएको कार्यक्रममा उनलाई नजिकैबाट जान्नेहरुले उक्त प्रतिक्रिया दिएका हुन् । करिब १ दर्जन संघ संस्थाको आयोजनामा भएको कार्यक्रममा आयोजित श्रद्धान्जली सभामा बोल्ने वक्ताहरुले भैरहवाले अभिभावक, शिक्षाप्रेमी एवम अग्रज समाजसेवी गुमाएको बताए ।

“गौचन आफु ७ कक्षा सम्म अध्ययन गर्नुभएको थियो,” गौचनको मित्र समेत रहेका साहित्यकार बिजय गोविन्द श्रेष्ठले भने “७ कक्षा मात्र अध्ययन गरेको उहा मूनलाईट बिद्यालयको बिद्यालयको अध्यक्ष भए, जहा पिएचडी गरेका शिक्षक छन् ।” सामान्य शिक्षा ग्रहण गरे पनि गौचन शिक्षाको बिकासमा अग्रणी भूमिका खेलेको श्रेष्ठको भनाई छ । श्रेष्ठको भनाईमा मुस्ताङमा त्यति बेला ७ कक्षा भन्दा बढी पढ्ने बिद्यालय थिएनन् त्यसले उनले थप शिक्षा लिन पाएनन् । “कसैले डिग्री पाउदा उहाले आफैले सो डिग्री पाउने गरेको बताउनु हुन्थ्यो,” श्रेष्ठले सम्झिए “गौचनले उद्योग बाणिज्य हुदै दर्जनौ संघ संस्थाको बिभिन्न पदमा रहि काम गर्नुभयो ।”

२००० सालमा मुस्ताङमा जन्मिएका गौचन २०१८ सालमा हितमान शेरचनको काम गर्न भनि १ सय रुपैया मासिक पारिश्रमिकमा भैरहवा झरेका थिए । पछि उनले यहि स्वतन्त्र ब्यवसाय गर्न थाले र भैरहवाकै स्थापित भए । उनै गौचनको स्मृतिमा भैरहवामा क्रियाशिल संघ संस्थाहरुले श्रद्धान्जली सभाको आयोजन गरेको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, भैरहवा मर्निङवाक ग्रुप, बैद्धिक सनातन धर्म सेवा समिति, लायन्स क्लव अफ सिद्धार्थनगर, जेसीआई सिद्धार्थ नेपाल, थकाली सेवा समाज, नेत्र ज्योति संघ, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, संस्कृत विद्याश्रम र सहीद स्मृति पुस्ताकालयको संयुक्त आयोजनामा सभा गरिएको हो ।

उद्योग बाणिज्य संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी वक्ताले गौचनले भैरहवाको बिकासमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए । सभामा कयौं उद्योगी व्यवसायी, आफन्त, गौचनलाई नजिकबाट चिन्नेहरु भावुक बनेका थिए ।
“उहाँले उद्योगी व्यवसायी, भैरहवाबासी र समग्र मुलुकको हीतका लागि निरन्तर आवाज उठाउनुभयो”, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले भने, “सकारात्मक सोंच, सधैं युवाजस्तो ऊर्जावान क्षमता, केही गरौं भन्ने हुटहुटी, आदर्श र प्रेरणाका स्रोत पूर्वअध्यक्ष गौचनलाई गुमाउँदा हामी दुखित छौं । हाम्रो मानसपटलमा सधैं रहीरहनु हुनेछ ।”

गौचनका सत्कर्मबाट भैरहवाबासीले धेरै कुराहरु सिक्नसक्ने बताउदै श्रेष्ठले उद्योगी व्यवसायीको हीतलाई सर्वोपरी ठानेर पूर्वअध्यक्ष स्वर्गीय गौचनले काम गरेको स्मरण गरे ।
संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न श्रद्धान्जली सभामा स्वर्गीय ओमकार गौचनको परिवारका सदस्यहरु धर्मपत्नि लिला गौचन, छोरा सुधिर गौचन, छोरीहरु सुमि गौचन, शुसि गौचन, सुजा गौचन लगायतको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।