ताजा अपडेट »

रनवीरको रहर

सोमबार, १५ साउन २०८०, १७ : २२
51 Shares
सोमबार, १५ साउन २०८०
51 Shares

स्टीलका थाल, ग्यालेन (प्लाष्टिकको जर्किन),गिलास, कचौरा,चम्चाहरुलाई बाजा मानेर बजाउन थालेको ६ महिना नबित्दै रनवीर बरालले साँच्चिकै बाजा बजाउन सिके । गाउँतिर उनलाइ सहनाइ बजाउने मान्छे ( सहनाइ बादक) भनेर सबैले चिन्छन् । सहनाइ लगायत बाँसुरी,सारङी समेत बजाउँछन् । गाडी चलाउने सीप समेत सिकी सकेका छन् । गाउँको एक उदाहरणीय युवा हुन् उनी । जुनसुकै श्रम गर्नपनि पछि पर्दैनन् ।

गाउँमै न्यू जल्पाली पञ्चेबाजा समूह बनाएका छन् । उक्त समूहको संस्थापक नाइके हुन् उनी । समुहमा १५ जना युवाहरु छन् । सुरुमा पञ्चेबाजा सेट खरिद गर्नको लागि समूहका १५ जना साथीहरुले १०/१० हजार उठाएका रहेछन् । यो समूहले कुनै कार्यक्रममा बाजा बजाउन जान प¥यो भने समय र दूरी अनुसार २० देखि ४० हजार रुपैयाँसम्म लिने रनवीरले सुनाए । सहनाइ बजाउनका लागि मात्र पनि उनको माग हुने रहेछ । सहनाइमात्र बजाएमा उनले बढीमा १० हजार रुपैयाँसम्म पाउँदा रहेछन् । यो बाजा समुहले सात लाख जतिको आर्थिक कोष जम्मा गरेको रहेछ । कोषबाट मिर्गौला पीडितहरु र दुःखमा परेकाहरुलाई आर्थिक सहयोग गरेको कुरा रनवीरले बताए ।

पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा मैदान गाउँमा २५ वर्ष अघि जन्मिएका उनी, चन्द्रिसरा र बोमबहादुर बरालका जेठा सन्तान हुन् । पाल्पा सदरमुकाम तानसेनदेखि ३७ किलोमीटर पूर्वी–दक्षिणमा जल्पा बजार पर्छ । जल्पा बजारदेखि ३ किलोमीटर पूर्वी–दक्षिणमा मैदान गाउँ पर्छ । गाउँमा ८५ घरधूरी मगरजातिको घना बस्ती छ । मैदान गाउँबाट चुलीडाँडा,हात्तीलेक तथा हिमश्रृखलाहरु अवलोकन गर्न सकिन्छ । बाख्रा बेचेर,बचत कार्यक्रम सञ्चालन गर्ने अनि अम्रिसो र तेजपात बिक्रीबाट समेत गाउँमा मनग्य आम्दानी भएको छ । निम्तो गरेको कार्यक्रम बाहेक आफ्नो चालचलन एवम् रीतिरिवाज,देउसी भैलो, होलीमा पैसाबिना बाजा बजाएर गाउँलेहरुलाइ रमाइलो गराउने रनवीरले जानकारी गराए ।

अहिलेसम्म बाजा समूह नवलपरासी ,पाल्पा,गुल्मी ,रुपन्देही लगायतका जिल्लाहरुमा बाजा बजाउन पुगिसकेका रहेछन् । जल्पाको गहनाको रूपमा परिचित, यो बाजा समूह गठनका लागि रनवीरको योगदानलाई कसैले भुल्न सक्दैनन् । सहनाइ बजाउँदै हिड्नेक्रममा आउने दुःखका कुरा सुनाउँदै रनवीर भन्छन्–मादल जस्तो पालो गर्न नि मिल्दैन । सुरु गरेपछि कार्यक्रम सम्पन्न नहुँदासम्म घाँटी दुखेपनि,सन्चो नभएपनि बजाउनै पर्ने हुन्छ । पर्छ । नबुझेका मान्छेले मगर भएरपनि दमाइ दाइले जस्तै बजाउने भनेर जिस्काउँछन् । बाल्यकालमा बाबाले जौ, निगालाको पिपिरी बनाइदिन्थे । त्यस्तै बजाएर अहिले यो सहनाइ बजाउने उत्प्रेरणा मिल्यो ।

रनवीरको मन पढाइमा खुबै जान्थ्यो रे । तर समय र घरायसी परिस्थितिले उनको पढाईलाई गन्तव्यमा पुग्न दिएन । कक्षा ८ सम्म मैदानको कमला आधारभूत विद्यालयमा पढेका उनले कक्षा ९ र १० पूरा गर्न शम्भु मावि जल्पामा पुगे । उनी १० वर्षको हुँदा नै उनका बाबालाई प्यारालाइसिस भएको रहेछ । आमाले घर खर्च र छोराछोरी पढाउन बाख्रा,कुखुरा पाल्ने,रक्सी बनाउने कुरा रनवीरले सुनाए । आमाले बाबाको स्याहार,सन्तानको लालनपालन गर्दा दिनको भोक र रातको निंद बिर्सिन्थिन् । भाइबहिनी स–साना ,घरको जोहो र रोजिरोटीका लागि काम गर्न रनवीर नजिकैको बजार आर्यभन्ज्याङ साहुको घरमा दुई वर्ष काम गर्न उतै बसे । त्यतिबेला सामान लोड,अनलोड ,घरको काम सबै गर्दारहेछन् ।

सोही समयमा उनले ब्यापारिक भाषा र काम बुझेका रहेछन् । आफूले काम गर्ने ठाउँबाट सामान खरिद गर्दै मैदानको आफ्नै घरमा सामान बेच्न सुरु गरे । भाइबहिनी ठूला हुँदै गए । काममा सघाउ पुग्यो । अहिले रनवीरले गाउँमै चाउमीन उद्योग चलाउँछन । जल्पा ढोलीमाराको बस्याल स्टोर्समा सघाउँछन् ।

भविष्यमा रनवीरले आफ्नो जीवनलाई गीत,संगीतमा समर्पण गर्ने रहर बुनेका छन् । पक्षघात भएका बाबा,बुढीआमा र भाइबहिनीका बिहेदान गरिदिने जिम्मेवारी बोकेका उनी, आफ्नो फुर्सदिलो समयमा बाजा बजाउने र सामाजिक सेवा गर्दै आएका छन् । गाउँमा रनवीर भनेपछि नचिन्ने को होला र ? सबैका प्रिय रनवीरले बजाएको सहनाइबाट प्रभावित भएर पाल्पा आएकी दोहोरी गायिका अस्मिता डल्लाकोटीले आफ्नो विहेमा सहनाइ बजाउन निम्तो दिएकी रहेछिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।