ताजा अपडेट »

गाउँको व्यथा कसलाई के थाहा ?

शुक्रबार, २६ जेठ २०८०, १६ : १७
4 Shares

शिक्षा समिति, तिनाउका सदस्य राजेश श्रेष्ठ कचलफाँटतिर गएको कारण बुटवल झर्न गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको टोलीलाई ढिला भएको रहेछ । बटौलीको तातो र धूलो खाएर केहीबेर लुम्बिनी प्रादेशिक अस्पतालको पुरानो इर्मेजेन्सीगेटनिर कुर्नुपरेको थियो मैले । उनीहरु त्यहाँ आइपुग्दा साढे एक बजिसकेको थियो । हामीलाई तिनाउ गाउँपालिकाको वडा नं.१ को झिंगामारामा रहेको सरस्वती र ठूलीउदाङ्गको सिद्ध आधारभूत विद्यालय विद्यालय समयमै पुग्नु थियो । हामीलाई पर्खेर कृष्ण ज्ञवाली झोलुङ्गेपुलमा बसेका रहेछन् ।

रानीबगिया सेनाको क्याम्पबाट उकालो लाग्यौं झिंगामारातिर । पहिलाको तुलनामा बाटोको स्तरोन्नति भएको रहेछ । खासै समस्या भेटेनौं । ठाउँठाउँमा नाली, ग्राभेल, आरसीसी अनि ढुंगा छापिएको रहेछ । वर्खामास पनि अब यातायातका साधनहरु सजिलै चल्ने हामीले अनुमान गर्यौं । हामीलाई तल क्याम्पबाट झिंगामाराको सरस्वती आधारभूत विद्यालय पुग्न ठ्याक्कै एक घण्टा लाग्यो । विद्यालयमा बन्द रहेछ । प्रअ सुरज कार्कीलाई फोन गर्दा स्थानीय विदा राखिएको बताए ।

साढे तीन बज्दा हामी सिद्ध आधारभूत विद्यालय पुगेका थियौं । ३६ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस चलिरहेको थियो । हामी पुग्दा विद्यार्थीहरु नृत्य गरिरहेका थिए । अभिभावकहरु छाता ओढेर, रुखको छहारीमा बसेर, कोही पसिना पुच्छदै बालबालिकाहरुको नृत्यको स्वाद आँखाले र कानले गीतको स्वाद लिइरहेका थिए । गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा, शिक्षा समितिका दलबहादुर गुरुङ, राजेश श्रेष्ठ, कृष्ण ज्ञवाली लगायतले विद्यालयको भलो चिताउँदै शुभकामना ब्यक्त गरे ।

अभिभावकको बाक्लो उपस्थिति देख्ने अवसर मिल्यो । बालकक्षामा १७ जना रहेछन् । कक्षा १ देखि ५ सम्म ६७ अनि कक्षा ६ देखि ८ सम्म ३७ जना गरी एक सय २१ जना विद्यार्थी भएको विद्यालयको प्रतिवेदनबाट थाहा भयो । दुईवटा नयाँ कक्षाकोठा बनेको र आवश्यक प्रक्रियाका लागि हामीसँगै गएका दुईजना प्राविधिकहरुले नाँपजाँप गरे । ढुवानीको कारण निर्माणकर्मीहरुलाई घाटा हुने देखियो भन्दैथिए । स्थानीय सरकारले दूरीको आधारमा ढुवानी दर तोक्नुपर्ने बारे हामीले जीपभित्रै छलफल गर्यौं । इटा, ढुंगा, सिमेन्ट, बालुवा, गिट्टीको ढुवानी टाढा तर दर उही भएको कारण निर्माण व्यवसायी मर्कामा पर्ने कुरा प्राविधिकहरुले बताउँदैथिए ।

विद्यालयबाट फर्केर आएपछि फोकेसालको पारि गाउँ घैयार गयौं । १३ घर रहेछन् । बगाले, रास्कोटी, पेग्मी, सोमरे, घर्ति, लम्तरी र गाहा मगरहरुको बस्ती रहेछ । जनसंख्या करिव ६५ । गाउँका सबैभन्दा पाकापुराना भुनबहादुर घर्ति ७७ वर्षका रहेछन् । उक्त गाउँमा लिफ्टिङ्गबाट पानीको सुविधा पुगेको रहेछ । स्थानीय सरकारले विद्युत महसुलमा २५ प्रतिशत् छुट दिएको रहेछ । गाउँकै सिरानमा पानी टंकी बनाएका रहेछन् । तल मुहान रहेछ । मुहानमा वर्खे भल मिसिन सक्ने भएकोले उचित व्यवस्थापन जरुरी रहेको लालबहादुर थापाले बताए ।

मकै, कोदो, धान खेती हुँदोरहेछ तर धानमा बँदेलले रजाइँ चलाउन थालेपछि किसानहरु मर्कामा रहेछन् । खुमबहादुरले नाक खुम्चाउँदै उक्त कुरा सुनाउँदै थिए । पदमबहादुर बगाले मगरले आफूहरु गाउँमै रमाइएको तर आम्दानीको बाटो सानो भएको बताए । बाख्रा, गाई पालेका रहेछन् गाउँलेहरुले । तेस्रो मुलुक जानेहरु ५÷६ जना रहेछन् । भारत जानेहरु थोरै रहेछन् । गाउँकी सीमा गाहाले सिद्ध आधारभूत विद्यालयमा पढाउने रहेछिन् ।

घैयार गाउँको उत्पादनले गाउँलेहरुलाई तीन महिना खान पुग्दो रहेनछ । आम्दानीको बाटो खासै छैन । कसरी जीवन गुजारेका होलान् ? के खाएर वर्ष गुजार्छन् होला ? यस्तो गरीवीलाई स्थानीय सरकारले सम्वोधन गर्छ होला ? बजेट बनाउँदा उनीहरुलाई कृषि र पशुपालनमा जोड दिन सकिएमा जाती हुने थियो । उत्पादनले नै अनुहार खुसी हुने थियो । दुई छाक खान पुराउन सक्थे कि ? गाउँको व्यथा चर्को छ । यस्तो कथा, व्यथा बुझ्ने नै स्थानीय सरकार हुनुपर्छ । जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो । चुनावी भोट बैंक बन्ने तर विकासका बेला टुकीमूनिको अँध्यारो बन्नुपर्दाको पीडा गाउँलेहरुले कसलाई सुनाउने हो ?

घैयार गाउँ सुन्दर छ । रमाइलो छ । बाटो पुगेको २०५९ मा रहेछ तर स्तरोन्नति हुन सकेको रहेनछ । सोही ठाउँ हुँदै रैनादेवी छहराको लौधुवापानी पुगिदो रहेछ । घैयारबाट लौधुवापानी ८ किलोमीटर दूरीमा रहेछ । हामीले उक्त दूरी ४० मिनेट जीपको यात्राबाट पूरा गरेका थियौं । कच्चीबाटो ठीकै लाग्यो ।

लौधुवापानी, रैनादेवीको वडा नं. ७ मा पर्दोरहेछ । सो गाउँबाट पारिपाखा हेर्दा गहते गाउँ सुन्दर र रमाइलो देखिदो रहेछ । तरेली परेको जमीनमा चुम्बकले अड्याएका जस्ता घरहरु देख्दा पनि सुन्दर लाग्यो । लौधुवापानी गाउँबाट सत्यवतीमा रहेको टावर र डाँडाको टुप्पोमा रहेको बल्ढेङ्गगढी धुमिल देखिन्थ्यो । लौधुवापानी हुँदै हामी रामापुर झरियो । बाटो, पानीको कारण बिग्रिएको रहेछ । जनतन बटौली आइयो । घर आइपुग्दा रातिको साढे आठ बज्दैथियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।