ताजा अपडेट »

खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब

आइतबार, २१ जेठ २०८०, १३ : २८
8 Shares

सुर्खेत । १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरु सोही खर्च लुकाउन पुनः अर्काे फण्डा गरेका छन् । प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन् ।

रोकाय र लेखापाल खिमबहादुर शर्माले संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १०५ रुपैयाँँ मात्रै खर्च भएको दाबी गरेका छन् । जसमध्ये चालु आर्थिक वर्ष २०७९/८० मा १४ लाख ३४ हजार ७१ रुपैयाँ र गत आर्थिक वर्षको १० लाख ७ हजार ३४ रुपैयाँ भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ । 

केही दिनअघि मात्रै रोकायले जनप्रतिनिधिको खाजा नास्तामा कुल ५३ लाख ६० खर्च भएको दाबी गरेका थिए । खर्च रकममध्ये चालु आर्थिक वर्षमा खाना, चिया नास्तामा कर बाहेक कुल ३९ लाख १ हजार ६७८ रुपैयाँँ भुक्तानी दिइसकेका छन् । त्यस्तै भुक्तानीका लागि ९ लाखको तोक आदेश लगाएको कागजात भेटिएको छ ।

कर्मचारीले खाना, नास्ताको अस्वाभाविक खर्च देखाएपछि त्यहाँ छानबिन समिति नै बनेको थियो । छानबिन समितिले मंगलबारदेखि काम नै थालिसकेको छ । समितिको कारबाहीबाट बच्न उनीहरुले अर्काे विवरण सार्वजनिक गरेका हुन् । कर्मचारीले कारबाहीबाट बच्न चलाखी अपनाएर झुटो विवरण सार्वजनिक गरेको छानबिन समितिका संयोजक प्रेम केसीले बताए । कागजपत्र सबै समितिले नियन्त्रण लिएकोले हचुवाको भरमा नगरपालिकाको बेइज्जती गरेको केसीको भनाइ छ । 

तोक लागेको ३ लाखको फाइल पनि गायब

नगरपालिकाको लेखा शाखाबाट ३ लाख भुक्तानीको फाइल नै गायव भएको छ । कार्यालयमा कार्यपालिका र नगरसभाको खाना खाजा वापतको रकम भुक्तानीका लागि पेस भएको फाइल नै गायब भएको वडा अध्यक्षहरुले बताएका छन् । उनीहरुले कार्यालय प्रमुखले भुक्तानी दिनु भनेर तोकआदेश लगाएको फाईल लेखा शाखाबाट गाएब बनाएको बताएका छन् । नगरपालिका कर्मचारी र होटल व्यवसायीको मिलोमतोमा पेश भएको बिल प्रशासकीय अधिकृत रोकायले लुकाएको एक वडा अध्यक्षले बताए । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानमिन समितिका संयोजक खत्रीले बताए । 

लेखापाल अनविज्ञ

नगरपालिकाबाट मंगलबार सार्वजनिक गरिएको विवरणका विषयमा भने लेखापाल खिम शर्माले यो विषयमा आफू अनविज्ञ रहेको बताएका छन् । खर्च विवरण सार्वजनिक जानकारी नभएको उनले दाबी गरे । लेखामा भौचर उठेपछि भुक्तानी भएको स्वीकार गर्दै शर्माले यो विषयमा थप अध्ययन गर्न बाँकी रहेको बताए । 

समितिले सम्पूर्ण कागजात नियन्त्रणमा लिएकोले आफूलाई सबै कुरा जानकारी नभएको उनको दाबी छ । ‘सबै कुरा मेरो दिमागमा हुँदैन, सफ्टवेरबाट फेरि रुजु छु’ उनले भने, ‘बरु तपाइँसँग भएका कागजात मलाई पनि पठाइ दिनुहोला ।’ छानबिन र सम्बन्धित निकायमा उजुरी परेकोले ढिलो चाडो सत्य तथ्य बाहिर आउने उनको तर्क छ ।

कुन मितिमा कति रकम भुक्तानी भयो ?

नगरपालिकामा चालु आर्थिक वर्षमा झण्डै ४२ लाख रकम भुक्तानी भएको छ । जसमध्ये गत २४ माघको अर्धवार्षिक समीक्षा बैठक, गत २९ मंसिर,  गत २० पुस र गत २३ माघको कार्यपालिकाको बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ १ लाख ८३ हजार ३३० रुपैयाँ गत २६ माघको भौचर नम्बर ४३० बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयको दाबी छ । तर कार्यालयको सो मितिको भौचर नं ४३० नम्बरमा १ लाख ८० हजार ५८० रुपैयाँ खर्च भएको देखिन्छ ।

यस्तै ९ असार २०७९ र ९ भदौ २०७९ को नगरकार्यपालिकाको बैठक, २ कात्तिक २०७९ को विपद व्यवस्थापन समितिको बैठक, ८ असार २०७९ का २ वटा विषयगत समितिको बैठक र ८ भदौ २०७९ को वार्षिक समीक्षा गोष्ठीमा भएको खर्चवापतको रकम रुपैयाँ ५ लाख ५७ हजार २९ मंसिर २०७९ का दिन भौचर नम्बर २२८ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ । तर, कार्यालयले होटल सञ्चालक चन्द्रलाल जैसीलाई ५ लाख ४८ हजार ६४५ रुपैयाँ भुक्तानी दिएको भौचर नं २२८ मा उल्लेख छ । ९ भदौ २०७९, १० भदौ २०७९, २६ भदौ २०७९ र २७ भदौ २०७९ को नगरकार्यपालिकाको बैठक, र ८ भदौ २०७९ को अर्धवार्षिक समीक्षा बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ ३ हजार ३३ हजार ७१० रुपैयाँ १ पुस २०७९ का दिन भौचर नम्बर २४५ बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ । तर, नगरपालिकाले सार्वजनिक गरेको उक्त मितिमा ३ लाख २८ हजार ७०४ रुपैयाँ भौचर नम्बर २४५ बाट भुक्तानी गएको छ ।

१३ फागुन २०७९ को कार्यपालिकाको बैठक, २६ माघ २०७९को सार्वजनिक सुनुवाई कार्यक्रम, १९ पुस २०७९ को भू–उपयोग परिषदको बैठक, २३ साउन २०७९, १५ माघ २०७९, २९ माघ २०७९ र १५ फागुन २०७९ को कर्मचारी बैठकमा भएको खर्चवापतको रकम१ लाख ३२ हजार १९ फागुन २०७९ का दिन भौचर नम्बर ५२९ बाट दिपा होटललाई भुक्तानी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, भुक्तानी गोसरा भौचरमा ५२९ मार्फत १ लाख ३२ हजार ३८४ रुपैयाँ कर काटेर भुक्तानी भएको छ । यस्तै न्यौपाने होटललाई सोही दिन  १ लाख ४६ हजार ८४६ रुपैयाँ भौचर नम्बर ५२९ बाट १९ फागुन २०७९ दिन न्यौपाने होटललाई भुक्तानी भएको उल्लेख छ । जसको गोश्वारा भौचरमा १ लाख ४७ हजार २४६ रुपैयाँ खर्च भुक्तानी भएको पाइएको छ । 

कार्यालयले २ कात्तिक २०७९को विपद व्यवस्थापन समितिको बैठकमा भएको खर्चवापतको रकम रुपैयाँ ३० हजार १९ मंसिरका दिन भौचर नम्बर १७३ बाट दिपा होटललाई भुक्तानी भएको उल्लेख गरेको छ । तर, सो मितिमा  गोश्वारा भौचर १७३ बाट २९ हजार ५०० रकम बुझेको उल्लेख छ । विभिन्न मितिमा गरिएका कर्मचारी पदपुर्ती गर्दाको बखत खाजा खाना खर्चवापतको रकम ५१ हजार १८५ रुपैयाँ ३० चैत २०७९ को भौचर नम्बर ७३६ बाट दिपा होटललाई भुक्तानी भएको छ । यस्तै नगरपालिकाले  गत आर्थिक वर्ष २०७८÷७९ मा भुक्तानी  समेत गरेको दाबी गरेको छ । 

नगरपालकले गत वर्षको भुक्तानी भनेर दिएको रकम २८ माघ २०७८ को नगरकार्यपालिकाको बैठक २९ भदौ २०७८ को नगर शिक्षा समितिको बैठक, २ मंसिर २ को पुरानो जनप्रतिनिधिलाई विदाई तथा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम १६ जेठ २०७९ को कार्यपालिकाको बैठक, २१ जेठ २०७९ को मनाघाट प्रहरी चौकी उद्घाटन कार्यक्रम ५ भदौ २०७८ को आ व २०७७/७८ को वार्षिक समीक्षा बैठकमा भएको खर्चवापतको रकम ७ लाख ५५  हजार २५८ रुपैयाँ २४ असार २०७९ का दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी भएको  कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । तर, कार्यालयको लेखा शाखाको अभिलेख अनुसार २४ असार २०७९ को २०३ नम्बरको भौचरमा नभई ३१९ नम्बरको भौचरमा रकम भुक्तानी भएको छ । सो भौचरमा ७ लाख ५५ हजार २५८ रुपैयाँ होटल सञ्चालक चन्द्रलाल जैसीले बुझेका छन् । 

यस्तै गत आवको ९ असार २०७९को बाह्रौं नगरसभामा भएको खर्चवापतको रकम रुपैयाँ १ लाख ७९ हजार ८३ रुपैयाँ  १८ असार २०७९ का दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी गएको छ । तर, सो मितिमा उक्त भौचर कार्यालयले उठाएको छैन । सो मितिको भौचर नं २७१ बाट १ लाख ७९ हजार ७३ रुपैयाँ भुक्तानी भएको छ । सोही मितिमा ७२ हजार ६९३ रुपैयाँ १८ असार २०७९ का दिन भौचर नम्बर २०३ बाट दिपा होटललाई भुक्तानी भएको (जम्मा २ लाख ५१ हजार ७७६ रुपैयाँ ) उल्लेख छ । तर कार्यालयले भौचर नं २०३ मार्फत नभई २७१ नम्बरको भौचर मार्फत सो होटललाई रकम भुक्तानी दिएको छ । 

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा भएको  खर्च भन्दै कार्यालयले समेत गलत तथ्याक सार्वजनिक गरेको छानविन समितिका संयोजक केसीले बताए ।  यस्तै कार्यालयले भुक्तानी दिन बाँकी रहेको १२ लाख बाँहेक १४ लाख ६० हजार ५७३ रुपैयाँ कर बाहेकको रकम गुपचुप गरेको छेडागाड नगरपालिका १ का कृष्ण जैसीले बताए । कार्यालयले ४ पुस २०७९ मा १ लाख ५२ हजार २८१ रुपैयाँ गोश्वारा भौचर २७०  मार्फत भुक्तानी भएको छ । तर, उक्त रकम नगरपालिकाले उल्लेख गरेको छैन् । सो रकम मात्र नभएर नगरपालिकाले १३ असोज २०७९ मा रामबहादुर थापाको नाममा काटेको २५ हजार भौचर नं १०० को, २५ वैशाख २०८० मा थापाको नाममा काटेको २ लाख ९५ हजार ५ सय भौचर नम्बर ७७९ को उल्लेख गरेको छैन् ।

यस्तै ४ पुस २०७९ मा थापाकै नाममा ६९ हजार ७०० भौचर नम्बर २६८  रकम समेत समावेस नगरेको जनप्रतिनिधिहरुको आरोप छ । यस्तै नगरपालिकाले ३० चैत २०७९ मा गोश्वारा भौचर नं ७३५ मार्फत् ५१ हजार १८५ र १८ असार २०७९ मा गोश्वारा भौचर नं ६४९ मार्फत भुक्तानी भएको ६२ हजार रकम उल्लेख नै नगरेको पाइएको छ । यस्तै ३० चैत २०७९ गोश्वारा भौचर ७३६ मार्फत भुक्तानी भएको ५१ हजार १८५ रुपैयाँ उल्लेख छैन । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रोकायले ९ चैत २०७९ मा आफैँ निवेदन लेखी भुक्तानी लिएको ४ लाख ५९ हजार ९७५ र ३० चैत २०७९ मा ४ लाख ५० हजार ७७० रुपैयाँ समेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख नै नगराएको छानबिन समितिको आरोप छ ।

मेयरद्वारा छानबिन समितिलाई दबाब

छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले छानबिन समितिका संयोजकलाई दबाब दिएको खुलेको छ । कागजपत्रहरु कसरी मिडिया गयो भन्दै उनले छानबिन समितिका संयोजक प्रेम केसीलाई दबाब दिएका हुन् । अहिले खास भित्रको कुरा केही पनि नबोल्न दबाब दिइएको छानमिन समितिले बताएको छ । छानबिन समितिको प्रतिवेदन बाहिर नआउँदै कर्मचारीले विज्ञप्ति निकालेर अर्को विवाद सृजना गरेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।