बुटवल। एसीसी प्रिमीयर कप अन्तरगत उपाधि दाबेदार नेपालले आज ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् ।
समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । नेपाल र ओमानबीचको आजको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण गर्न सक्ने सम्भावना छ ।
घरेलु टोली नेपाल उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ । ५० औं ओडिआई खेलमा नेपाल जितका साथ खुसीयाली मनाउन चाहन्छ । तर भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानलाई हराउन सहज भने हुनेछैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् ।
नेपाल युवा खेलाडीले भरिएको टोली हो । ओमानमा अनुभवी खेलाडीको बाहुल्यता छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उता ओमानले कतारलाई ४० रनले हराएको थियो । दुबै टोलीको सोच लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना मजबुत बनाउने हुनेछ । नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्ने उच्च सम्भावना छ ।
तीव्र गतिका बलर गुलशन झाको स्थानमा करण केसीलाई मैदान उतार्ने सम्भावना छ । करण केसीले ओमानविरुद्ध ६ ओडिआई खेलमा २० विकेट लिएका छन् । पछिल्लो पटक २०२२ मा ओमानविरुद्ध करणले ५-५ विकेट लिएका थिए । करणलाई मौका दिन गुलशन झालाई बेन्चमा राख्ने सम्भावना छ ।
उता ओमानले आजको खेलमा तीव्र गतिका बलर फैज बटलाई जय ओडेराको स्थानमा मौका दिनसक्छ त्यस्तै अभ्यास खेलमा नेपालविरुद्ध शतक हानेका ब्याटर शोएब खानलाई आजको खेलमा खेलाउने उच्च सम्भावना छ ।
नेपालको मुख्य हतियार ब्याटिङ हो । नेपालको ब्याटिङ ९/१० नम्बरसम्म भरपर्दो छ । ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा भीम सार्की, चौथोमा कप्तान रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्लले गर्नेछन् । त्यसपछि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले छैटौं र सातौं नम्बर सम्हाल्नेछन् । त्यस्पछि सोमपाल कामी र सन्दिप लामिछाने रहेका छन् ।
हेड हु हेड :
नेपाल र ओमानबीच ओडिआईमा कुल ६ खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । २०२० मा नेपालले लिग २ मा घरेलु मैदान टियुमा ओमानसँग दुबै खेल हारेको थियो ।
प्रतिक्रिया