ताजा अपडेट »

बुढीदमारको कृषि कथा : हरिया नोटले ओठमा मुस्कान

मंगलबार, ०५ बैशाख २०८०, ०७ : ३४
88 Shares
मंगलबार, ०५ बैशाख २०८०
88 Shares

वसन्तकुमार शर्मा ‘नेपाल’ले नेपाली शब्दसागरमा उल्लेख गरे अनुसार ’दमार’ भन्नाले औलो लाग्ने जंगलको खोंच वा डाँडा मुन्तिरको खोलाकिनार, औलिया खोंच, घाँसपातले ढाकिएको झाडी वा ठाउँ बुझिन्छ । बुढीदमार पुगेपछि उनको परिभाषा मिल्यो । अनि फेरि अर्को प्रश्न जन्मियो मनमा : किन बुढी थपियो होला दमारमा ? सायद पुरानो दमार भएर होला कि भन्ने अनुमानमात्र गर्न सकें । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ७ र ८ मा बुढीदमार, सुकदमार, जोगदमार रहेछन् । हुन त मैले नेपालका विभिन्न जिल्लाहरु घुम्नेक्रममा सेतीदमार, कालीदमार, धामीदमार, लामीदमार नाम नसुनेको भने होइन ।

प्रसंग मैले बुढीदमारकै गर्दैछु । यहाँ घनाबस्ती छ । मगरजातिको नै वर्चस्व छ । गाउँ पनि टिमिक्क मिलेको छ । गाउँमा एक सय १२ घरधूरी छन् । गाउँलेहरुलाई प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा विगत तीन वर्षदेखि कृषि स्मार्ट कार्यक्रम चलिरहेकै छ । खेत र बारीका पाटाहरुमा टनेलहरु देखिन्छन् । कुलामा पानी बगेकै छ । प्रदेश सरकार र गाउँपालिकाको म्याचिङ्ग फण्डको रुपमा पचास लाखबाट सुरु गरिएको कार्यक्रमले किसानहरुलाई नगदेबालीका रुपमा तरकारीतिर उन्मुख गराएको छ । करिव ९५ घरधूरीले कृषि स्मार्ट कार्यक्रममा सहभागिता जनाएकै छन् ।

किसानहरुले कृषि स्मार्ट कार्यक्रमबाट कृषि सम्बन्धी ज्ञान, सीपलाई व्यवहारमा प्रयोग गर्ने तरिका जाने । पुरातन कृषि शैलीबाट आफूलाई माथि उठाएर आधुनिकीकरणमा ध्यान दिन थालेका छन् । थोरै जग्गामा नयाँ प्रविधिबाट खेती गर्दा बढी उत्पादन भएको छ । बीऊ, मल, सिंचाइ गर्ने तरिका सिकेका छन् । कृषिलाई नै कर्म ठानेका छन् । नयाँ प्रविधिमा रमाउनेमात्र होइन,किसानहरुले पैसा कमाएर रमाउन समेत सिकेका छन् ।

सेमी, काँक्रा, भेण्टा, भेन्टी, करेला, बन्दा, काउली, टमाटर, बोडी, धनियाँ लगायतका नगदेबाली लगाएर किसानहरुले हरिया नोट गाउँघरमा भित्र्याएका छन् । उनीहरुका आर्थिकस्तर पहिलाका तुलनामा उकासिएका छन् । बुढीदमारका कृषकहरुले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले बताए ।

गाउँमा कृषि स्मार्ट कार्यक्रम लागू भएपछि धनकुमारी रानाले धन कमाउन थालेको बताइन् । उनले आफ्नो पाखोबारीमा नगदेबालीका रुपमा लगाएको तरकारीबाट मनग्य आम्दानी गरिन् । तीनवटा टनेल छन् उनका । उनलाई कुन तरकारी कुन मौसममा र कसरी लगाउने अनि कस्तो स्याहारसुसार गर्ने भन्ने प्रष्टै थाहा छ । गाउँमै जन्मे, हुर्केर गाउँमा रमाइरहेकी धनकुमारीले २०५१ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् । २०५३ सालमा विहे गरेकी उनले तीन छोरी जन्माएकी छन् । दुई छोरीको विहे भएपनि कान्छी छोरीभने पूर्णअपाङ्ग छिन् । कहिलेकाँही कान्छी छोरीको स्याहारसुसारले कृषि कर्ममा समस्या नपरेको भने होइन तरपनि उनले सबै कुरा मिलाएर कृषिमा नै ध्यान दिएकी छन् ।

कोरोनाको बेला टमाटर फल्यो, बन्दा फल्यो तर किन्ने मान्छे अनि बजारसम्म लैजान नसकेकपछि गाईबस्तुलाई खुवाउनु परेको तीतोसत्य सुनाइन् । किसानका कुरा सुन्ने कोही छैनन् । जसलाई पर्यो, पर्यो । गाउँमा कृषि स्मार्ट कार्यक्रम आएपछि फालिएका पाखाबारीहरु पनि प्रयोग भएको धनकुमारीले सुनाइन् । आफूहरुले तरकारी लगाउने, फलाउने तरिकाहरु बारेमा गजबले जानेको बताइन् ।

तरकारी राम्रो फलेर बजार पाउँदा त वर्षमा दुईचार लाख रुपैयाँ कमाउन कुनै कठिन नहुने धनकुमारीको तर्क छ । वर्खामास् बाटोको समस्या, महंगो गाडीभाडा र टाढाको बजार(रुपन्देहीको रामापुर, सालझण्डी, बुटवलसम्म) ले गर्दा आफूहरुले सोचेजस्तो आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

गाउँमा पशुपालन फस्टाएको छ । लीला पेग्नी मगर, गाउँकै उदाहरणीय पशुपालक हुन् । कुखुरापालन पनि जमेकै छ । रैनादैवी छहराको अन्य वडाको तुलनामा यस वडाका किसान तथा पशुपालकहरुले आम्दानीका दायरा फराकिलो बनाएका छन् । आफ्नो खुट्टामा आफै उभिने प्रयत्न गरेका छन् । अभावलाई फालेर समृद्धिका बाटाहरु पहिल्यान थालेका छन् । किसानहरुले हरिया तरकारी फलाएर हरिया नोटहरु गन्न पाउँदा ओठमा मुस्कान छाडेका छन् ।

तरपनि तरकारी खेतीमा लाग्ने रोगहरु, बजारमा तरकारीको उचित मूल्यको अभाव र बिचौलियाहरुको बिगबिगीले आफूहरुले सोचेजस्तो प्रगति गर्न नसकेको किसानका गुनासा भने ताजै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।