ताजा अपडेट »

आत्मनिर्भरताका लागि उद्यमशीलता

शुक्रबार, २६ फागुन २०७९, ०८ : ११
100 Shares
शुक्रबार, २६ फागुन २०७९
100 Shares

समृद्धिका आधार नै कृषि, व्यापार, व्यवसाय र उद्यम हुन् । पर्यटन, व्यवसाय वा उद्योग के हो भन्ने आज पनि निक्र्यौल हुन सकेको छैन । भलै जेहोस् नेपालमा उद्यम, व्यवसायमार्फत आर्थिक परिवर्तनमा लहर आएको सत्य हो । कृषिमा आधारित निर्वाहमूखी जीवन–पद्दति नेपाली समाजको उदाहरण हो । यसलाई केही हदसम्म विस्थापित गराउने काम व्यापार, व्यवसाय र उद्यमले नै गरेका छन् ।

नेपाली समाज लामो समयसम्म कृषिमा नै गुज्रियो । कृषिमा आधुनिकरण भएन । बीऊबीजन तथा प्रविधिमैत्री कृषि नहुनुका कारण किसानले आफ्ना उत्पादनलाई बढाउन सकेनन् । भूमिहीनहरुले कृषिकर्म गर्ने ठाउँ पाएनन् । भूमिपतिले माटोको सुगन्ध थाहा पाएनन् । एकातिर जग्गा बाँझो रह्यो अर्कोतिर गाँसको अभाव आगोजस्तै फैलिरह्यो । यही अवस्थाको चरम बेमेलकै कारण नेपाली युवाहरु बेरोजगार भए । हातमुख जोर्न वैदेशिक रोजगारीका लागि परदेशको बाटो रोज्न बाध्य भए ।

नेपालमा किन व्यापार, व्यवसाय र उद्यमको सोचेजति विकास हुन सकेन भनेर मिहिन तरिकाले केलाउनु पर्ने अवस्था पनि गुज्रिसकेको छ । अर्थात् हामीहरुले यो विषयमा विचार, विमर्श, अन्तरक्रियात्मक छलफल र प्राप्त राय, सुझावहरुलाई कार्यान्वयन गर्न किन सकेनौं भन्ने दोस्रो गहन प्रश्न हो । व्यापार, व्यवसाय, उद्यमको विकास र प्रवर्द्धनका निम्ति थुप्रै व्यापारिक एवम् औद्योगिक प्रतिष्ठान र संघ–संस्थाहरु खुलेका छन् । उनीहरुले आफ्ना सदस्यहरुका निम्ति हालसम्म के–कस्ता सहयोगी भूमिका निर्वाह गरे अनि परिणाम के आयो भनेर विश्लेषण गर्ने बेला आइसकेको छ ।

व्यवसायी एवम् उद्यमीका आ–आफ्नै समस्या र विवशताहरु छन् । त्यसलाई पार लगाउनका निम्ति वृहत् रुपमा सरोकारवालाहरुका बीच निचोड निस्किने गरी परिणाममूखी कार्यक्रम गर्नुपर्ने देखिन्छ । त्यसका निम्ति व्यवसायिक एवम् औद्योगिक प्रतिष्ठान र संघ–संस्थाहरुले आर्थिक नीतिसँग नजिक रहेर विश्व परिवेशलाई समेत ख्याल गरेर नेपालको परिवेशलाई केलाएर भविष्यको गोरेटो पहिल्याउनु पर्नेछ ।

हाम्रा व्यापारी एवम् उद्यमीका छाता संघ÷संगठनहरु मातहतका व्यापारी र उद्यमीहरुका निम्ति कति अपरिहार्य छन् ? उनीहरुका व्यवसायिक हकहित र अधिकारका निम्ति कति क्रियाशील र प्रतिवद्ध छन् ? कि चुनावी वा सांगठनिक संरचना निर्माण गरी आफ्नो बाहुबल देखाउने र प्रतिष्ठा कमाउने हाउगुजी संस्था भएका छन् ? यिनै प्रश्नहरुले धेरैलाई सोच्न बाध्य पारेको छ ।

देशमा सानोतिनो कुटे पसलदेखि उत्पादन गरिने खालका ठूला प्लान्ट नेपालमा बनेका छन् । प्रशस्त रुपमा आर्थिक लगानी भएका छन् । आयातित बजारलाई केही मात्रामा भएपनि प्रतिस्थापन गरेको छ । स्वरोजगारी र रोजगारीलाई बढाएको पाइन्छ । बजार फस्टाएको छ । सरकारलाई राजश्व दिएको छ । पूर्वावस्थाको तुलनामा यतिबेला नेपाली समाजले व्यवसाय वा उद्यमलाई प्रश्रय दिन थालेको छ । लगानी लगाउन वा बढाउन चाहनेहरुको संख्यामा प्रगति देखिन्छ ।

नेपाली समाजमा कुन व्यापार, व्यवसाय वा उद्यम नेपाली माटो, परिवेश, आर्थिक क्षमता अनुसार सुहाउँछ ? बजार र बजारीकरणका बारेमा समेत जानकारी दिनुपर्ने देखिन्छ । यी सबै कुरा बुझ्न र बुझाउनु पर्ने पहिलो आवश्यकता हो । लगानीका क्षेत्र र लगानीको पावर बढेपनि माथि भनिएका अवस्थाका मूल्यांकन गर्न नसकिएमा व्यवसायी एवम् उद्यमीहरु चुर्लुम्मै डुब्नेछन् । जसका कारण नेपाली अर्थ–बजारले हावा खाने छ । अन्तिममा निर्यातमूखी होइन आयातमूखी व्यवसायलाई नै मुख्य मान्नुपर्ने दिन नआउला भन्न सकिदैन ।

नयाँ व्यवसाय र उद्यम गर्न कसरी सिकाउने र भइरहेका व्यवसायी वा उद्यमीहरुका वर्तमान परिवेश के हो अर्थपूर्ण तरिकाले बुझ्ने र आवश्यक सहयोग प्रदान गर्न सकिएमा उत्तम हुने देखिन्छ । पढेर बरु जागिरे हुने, विदेश जाने तर आफ्नै व्यापार, व्यवसाय वा उद्यम गर्न नचाहने नेपाली समाजका युवाहरुलाई कसरी नेपाली माटोमा नै आफ्नो उद्यम, व्यवसायतर्फ आकर्षित गर्ने, नेपाली माटोमा नै व्यापारिक एवम् औद्योगिक लालीगुराँस फुलाउने भन्ने जटिल प्रश्नको उत्तर कहिले र कसरी पाउन सकिएला ?

जोखिम मोल्न डराउनेहरु व्यापार, व्यवसाय र उद्यम गर्न रुचाउँदैनन् । लगानी गर्न नसक्नेहरु कसरी व्यापारी र उद्योगी बन्छन् ? त्यसका लागि आँट, हिम्मत र साहस भएरमात्र हुँदैन । सरकारको व्यवसायिक एवम् औद्योगिक नीति, योजना, कार्यक्रमहरु कस्ता छन् ? अल्पकालीन, मध्यकालीन एवम् दीर्घकालीन प्रभाव कस्तो रहला ? यसका सन्दर्भमा दीक्षित गर्न सकेमा व्यापारी एवम् उद्यमीका संख्यामा उल्लेख्य परिवर्तन सम्भव छ । त्यसैका लागि चाहिने हो व्यापारिक एवम् औद्योगिक प्रतिष्ठान एवम् संघसंस्थाहरु !

व्यापारी एवम् उद्यमीहरु आफ्नो कर्मको सुरक्षा चाहन्छन् । अर्थात् उनीहरु आफ्नो लगानी कसरी सुरक्षित रहन्छ, कसरी डुब्दैन ग्यारेन्टी खोज्छन् । यसैगरी उनीहरु आफ्नो सम्पतिको भौतिक सुरक्षा खोज्छन् । त्यसका लागि राज्यका सम्बन्धित पक्षहरुले उनीहरुलाई सुरक्षा दिन सक्ने हो भने नेपाली समाजमा व्यवसायी र उद्यमीहरुको संख्या ह्वात्तै बढ्न सक्छ ।

देश भौगोलिक रुपमा सानो भएपनि बजार ठूलो छ । छिमेकी भारत र चीनको राम्रो बजार नेपाल हो । त्यसैले बजारको अभाव होइन, उचित बस्तुको अभाव हो भन्ने सन्देश दिन सकिएमा नेपाली व्यवसायी एवम् उद्यमीहरुमा खुसीको लहर छाउन सक्ने छ । उत्पादनमा जोड दिन सकिएमा नेपाली समाज आत्मनिर्भर हुन सक्छ ।

हरेक नेपालीसँग कुनै न कुनै ज्ञान, सीप, क्षमता र दक्षता छ । त्यसलाई उद्यम, व्यवसायसँग जोडेर उद्यमशील बन्न सकेमा आम्दानीको दायरा बढाउन सकिने छ । आर्थिक परिवर्तन नै उद्यमशीलताको मूल सार हो । उद्यमशील बनौं । राज्यलाई आत्मनिर्भर बनाऔं । आत्मनिर्भर नेपालीले नै नेपालको मुहार फेर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।