ताजा अपडेट »

तिलोत्तमामा जारी मणिमुकुन्द भलिबल कपमा विहिबारदेखि क्वाटर फाइनलका खेल

बुधबार, २५ माघ २०७९, १७ : ५९
25 Shares

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा जारी आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबार समूह चरणका ३ खेल सम्पन्न भएको छ । बुधबारको खेलमा समूह ए बाट नवलपुर, समूह बी बाट गुल्मी तथा समूह डी बाट स्याङजा विजेता बन्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यसअघि मँगलबार भएको खेलमा समूह सी बाट पर्वत जिल्ला विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरिसकेको छ ।

समूह चरण अन्तरगत बुधबारको अन्तिम खेल समय अभावका कारण विहिबार विहानका लागि सारिएको छ । समूह ए अन्तरगत उप विजेताका लागि भएको प्रतिस्पर्धामा बागलुङ र म्याग्दीले समान २–२ सेट जित निकाले पनि अन्तिम सेट खेलाउनका लागि समय अभाव भएका कारण स्थगित गर्न परेको मुख्य रेफ्री बिकास गुरुङले जानकारी दिए । समूह उप विजेताका रुपमा रुपन्देही, पाल्पा, नवलपरासी क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । विहिबार विहान हुने पहिलो खेल म्याग्दी र बागलुङ मध्ये विजेता टिम समूह चरणको उपविजेता बन्दै क्वाटर फाइनल प्रवेश गर्ने गुरुङले बताए । विहिबार विहान ८ बजेपछि स्थगित खेल पुनः खेलाइने छ ।

प्रतियोगितामा विहिबार क्वाटर फाइनलका ४ खेल हुने छन् । पहिलो क्वाटरफाइनल खेल रुपन्देही र नवलपुर बीच हुने आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । यसैगरी दोस्रो खेल गुल्मी र पाल्पा बीच हुने छ भने तेस्रो खेल पर्वत र समूह ए बाट उपविजेता बनेर आउने समूहसँग हुने चन्दले जानकारी दिए । विहिबारको अन्तिम खेल स्याङजा र नवलपरासीका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।