ताजा अपडेट »

लक्ष्य बिहिन नेपाली कम्युनिस्ट

सोमबार, २५ पुस २०७९, १५ : ०२
25 Shares

जर्मन दार्शनिक कार्ल माक्सले सन् १८४८ मा कम्युनिस्ट घोषणा पत्रको प्रकाशन गरेपछि विश्व राजनीतिमा नयाँ विचारधाराका बारेमा बहस र कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सन् १९४८ अगाडि १८४१ मा जर्मनमा कम्युनिष्ट विचारलाई स्थापित गराउने उद्देश्यले विचार क्लबहरुको सञ्चालन भएको पाईन्छ । सन् १८४८ फेब्रुअरी १२ मा औपचारिक रुपमा प्रकाशित भएको घोषणा पत्र १८४८ मा सम्पन्न भएको जेनेभा बैठकको कार्यभार अनुसार कार्ल माक्स र हेगेल्सद्वारा लेखिएको थियो ।

जसका आधारमा नेपालमा पुष्पलाल श्रेष्ठ र उनका साथीहरु मिलेर वि.स. २००६ वैशाख ६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीले स्थापनाको सात दशक विभिन्न किसिमका असहज परिस्थितीको सामना गर्दै वर्तमान समयसम्म आईपुगेको छ । वर्तमान समयमा नेपाली कम्युनिस्ट पार्टीमा जनताका अधिकार वर्गबिहिन समाजका आधार तथा आफ्ना भावि कार्यदिशाका बारेमा भन्दा धेरै समय व्यक्तिगत शत्रुता कायम गरि महवादमा रमाउने प्रवृत्तीको विकास भएको छ । कम्युनिस्ट पार्टीका अधिकांश नेताहरु श्रमसँग नजोडिएको दशकौं भईसकेको छ । दुःखको कुरा तिनैले कृषकका कुरा सबै बुझेको नाटक स्वरुप मञ्चमा गोहिका आँशु पनि चुहाउन पछि पर्दैनन् ।

नेपाली कम्युनिस्ट आन्दोलमा वि.स. २०१७ सालदेखी नै राजनैतिक, वैचारिक, सांगठनिक तथा आर्थिक नीति तथा कार्यक्रमहरुका बारेमा विवादहरुको सिर्जना हुन थालेको पाईन्छ । वि.स. २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनुमा नेपाली राजनीतिमा राजा र नेपाली काङग्रेसले सत्ताको आडमा फरक विचार र आस्थाका मानिसलाई गरेको व्यवहार जिम्मेवार रहेको छ । तत्कालिन समयमा मुलत राजनैतिक व्यवस्था गणतान्त्रीक वा संवैधानिक प्रकृतीको बनाई साम्यवादी युगको यात्रामा अगाडि बढाउने भन्नेमा थियो । पुष्पलाल र मनमोहनका बीचमा चलेको वैचारिक युद्धले संवैधानिक राजतन्त्र सहितको समाजवादी व्यवस्थामा जाने मौलिक सहमती प्राप्त गरेपछि वि.स. २०४६ साल सम्ममा यसैमा आधारित भएर विभिन्न प्रकारका राजनैतिक कार्यक्रमहरु नेपाली कम्युनिस्ट पार्टीहरुले सञ्चालन गरेका थिए ।

वि.स.२०१७ साल देखी २०४६ साल सम्म नेपाली कम्युनिस्ट आन्दोलनमा मुख्यतया शंशोधनवाद, यथास्थितीवाद र जडशुत्रीय विचारधाराको माध्यबाट आम नागरिकहरुलाई अधिकार सम्पन्न बनाई उत्पादनका साधन र उत्पादित वस्तुमा राज्यको पूर्ण स्वामित्व कायम राख्दै समाजवादी क्रान्तिलाई अगाडि बढाउन सकिन्छ भन्ने अव्यवहारिक राजनैतिक कार्यदिशामा समय लगानी भएको बुझिन्छ ।
शंशोधनवाद, यथास्थितीवाद र जडशुत्रीय विचारधाराका माध्यबाट नेपाली समाजका वास्तविक समस्याहरुको पहिचान र समाधान नहुने निश्कर्षमा पुगेर मदन भण्डारीद्वारा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट सिद्धान्तको प्रतिपादन भईसकेपछि वि.स. २०१७ देखी वैचारिक मतभेदमा केही नीतिगत स्पष्टता आएको पाईन्छ । पहिलो जनआन्दोलनका माध्यबाट प्रजातन्त्रको पुनःस्थापना भईसकेपछि पनि नेपाली कम्युनिस्ट पार्टीहरुले संवैधानिक राजतन्त्र सहितको समाजवादमा पुग्ने कार्ययोजना बनाउनु नै उनिहरुमा विचारको खडेरी थियो भन्ने कुरालाई प्राप्त ईतिहासले प्रमाण्ति गरेको छ ।

नेपाली राजनैतिक ईतिहासमा नेपाल कम्युनिस्ट पार्टीको ४५ वर्षपछि नेकपा एमालेको सरकार वि.स. २०५१ मा निमार्ण भएको हो । जसले समाजवादका आभारभूत मान्यताहरुलाई आत्मसाथ गर्दैै वैज्ञानिक प्रणालीको सामाजिक आर्थिक नीति तथा कार्यक्रमहरुलाई जबजको आधारमा निर्माण गरेको थियो । समाजवादी अर्थतन्त्रका पिलरहरुलाई राम्रोसँग स्थापित गर्न नसकिएको अवस्थामा हामी त्यो गनतव्यमा पुग्न सकिदैन भन्ने कुरालाई मध्यनजर गरी शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत तगायत सामाजिक आर्थिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय सुधारका कार्यक्रमहरु छोटो समयमा पनि प्रभावकारी तरिकाबाट सञ्चालन भएका थिए ।

गाँउ गाँउमा सहकारी, गाँउको विकासका लागि केन्द्रबाटै बजेट हस्तान्तरण, आधारभूत स्वास्थ्य सुविधाको पहुँच विस्तार, शिक्षामा छात्रवृत्ति कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम , प्राविधिक शिक्षालयको स्थापना र सरकारी लगानीमा पूर्वाधार विकासका कार्यक्रमहरु सञ्चालन गरि समाजवादका आधारहरु सिर्जना गर्ने कार्यमा तिव्रता आएको थियो । भर्खरै मात्रै समाजवादका आधारहरु सिर्जना भईरहेको समयमा तत्कालिन नेकपा माओवादीबाट मुलुकमा जनवादी राज्य सत्ता स्थापना गर्ने अभिप्रायले सशस्त्र जनयुद्ध सञ्चालित भयो । जसले समाजवादी अर्थतन्त्रका पालुवाहरुलाई अगाडि बढ्नबाट रोक्यो । वि.स. २०५१ देखी २०६३ सालसम्म नेपालमा माओवादीका कारणले समाजवादी अर्थतन्त्र विकास र विस्तारका गतिविधिहरु पूर्णरुपमा रोकिएर रहे भने त्यो समयमा नेपाली अर्थतन्त्रमा पूँजीवादी अर्थतन्त्रले आफ्नो अधिपत्य जमाएर बस्न सफल भयो । माओवादी आन्दोलन शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि जनवादी आन्दोलन नै पूँजीवादको भुमरीमा फस्यो र यसले पनि समाजवादी आन्दोलनलाई पूर्णता प्रदान गर्न सकेन बरु पार्टी नै एक दर्जन बढि टुक्रामा फुट्यो ।

२०७४ सालको बाम गठबन्धनले संविधानमा उल्लेख गरिए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्रका आधारहरु सिर्जना गर्न सक्ने विश्वासका साथ नेपाली जनताले झण्डै दुई तिहाई बराबरको जनमत प्रदान गरेर सत्तामा पुराए । दुःखको कुरा आन्तरिक स्वार्थ नमिलेका कारणले वर्षौ देखीको नेपाली जनताको सपना समाजवाद उन्मुख अर्थतन्त्रका आधारहरु तय हुन सकेन । यसको सट्टामा देशमा अवसरवादी कम्युनिजमको स्थपना भएको छ । वर्तमान समयमा नेपाली समाजमा सुधारिएको पूँजीवादी व्यवस्था लागू भएको छ । जसको नेतृत्व नेपालमा संसदवादी कम्युनिस्ट पार्टीहरुले गरिरहेका छन् । नेपाली समाजवादी आन्दोलनलाई निश्कर्षमा पुराउनका लागि नेपाली कम्युनिस्ट आन्दोलन कसरी बरालिएको छ ? भन्ने कुराहरु निम्न तथ्यबाट प्रमाणित हुनेछन् ।

१. उत्पादनका साधनहरु माथिको स्वामित्व
समाजवादी अर्थतन्त्रका लागि उत्पादनका लागि सम्पूर्ण साधनहरुको स्वामित्व सरकारसँग हुनु अनिवार्य शर्त हो । नेपाली आर्थिक नीति तथा कार्यक्रमले उत्पादनका साधनको स्वामित्व बजारमा हस्तान्तरण गरिरहेको छ । यसलाई निरुत्साहित गरेर समुदायमा आधारित समाजवादी नमुना बनाउनका लागि नेपाली कम्युनिस्ट आन्दोलन र यसको नेतृत्व चुकिरहेको छ । संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरिएको छ । वर्तमानमा हामीले अपनाएको मिश्रित अर्थव्यस्थाका अधिकाशं कार्यक्रमहरुले पूँजीवादकै पक्षपोषण गरेकोले हाम्रा उत्पनदनका साधनहरु हामी आफैले प्रयोग गर्न सक्ने नबनाउनुले नेपाली समाजवादी आन्दोलनले दलाल पूँजीवादसँग पराजय भोगी रहेको वास्तविकताले नेपाली कम्युनिस्ट आन्दोलनलाई चुनौती दिएको छ ।

२.राष्ट्रिय आयको वितरण प्रक्रिया
मुलुकको राष्ट्रिय आय उत्पादनमा गरेको योगदानमा आधारित भएर सबै प्रकारका असमाताहरुलाई न्यूनीकरण गर्दै सामाजिक न्यायमा आधारित, समुन्नत समाज निर्माण गर्ने उद्देश्यका साथ वितरण गरिएमा मात्रै समाजवादी अर्थव्यस्थाका आधारहरु तयार हुने गर्दछन । दुःखका साथ भन्नु पर्दा सत्तामा पुगेका नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वहरुले नेपाली राष्ट्रिय आयको वितरणका क्षेत्रमा समाजवादी मोडल अपनाउनका लागि कुनै पनि सुधारका कार्यक्रमहरु सञ्चालन गर्न असमर्थ रही दलाल पूँजीवादकै कारिन्दा बनेर राष्ट्रिय आयको वितरणमा असमाता सिर्जना गर्न पुगेका छन् ।

३.वैदेशिक लगानी
विश्वको आर्थिक प्रणालीमा विशेषगरी पूँजीवादी देशहरुले विकासोन्मुख तथा विकासशिल अर्थतन्त्रमा वैदेशिक लगानी गर्ने गर्दछन । यसबाट उनिहरुले आफ्नो अर्थतन्त्रमा अत्यधिक लाभ प्राप्त गर्ने उद्देश्य राखेका हुन्छन । जुन स्वभाविक पनि हो । नेपालमा प्रत्यक्ष रुपमा वैदेशिक लगानी गरिरहेका देशहरुले राखेको स्वार्थ र राष्ट्रियता, सुरक्षा तथा बढ्दो बाह्य हस्तक्षेपलाई समयमा बुझेर अगाडि बढ्नका लागि नेपाली कम्युनिस्ट नेताहरु चुकिरहेका छन् । जसको गतिलो उदाहरण एमसीसी नै हो । वैदेशिक लगानीका माध्यमबाट बाह्य शक्तिकेन्द्रहरुले दिएको दबावका कारणले वर्तमान समयमा नेपाली अर्थतन्त्रले दलाल तथा नोकरशाही पूँजीवादलाई प्राथमिकता दिएको छ । यसले नेपाली नेताहरुको दैनिकी र चिन्तन गर्ने प्रणालीलाई पैसामा लगेर खुम्चाई दिएकोछ ।

४.आधारभूत आवश्यकताको व्यवस्थापन
समाजवादी अर्थतन्त्रले आफ्ना नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, आवास, खानेपानी , सरसफाई, विद्युत, सूचना र सञ्चार जस्ता आधारभूत आवश्यकताहरु सजिलै आपूर्ती गर्ने गर्दछ । नेपाली कम्युनिस्ट पार्टीका नीति तथा कार्यक्रमहरुमा पनि सोहि कुरा समावेश गरिएको छ । व्यवहारमा तिनै कम्युनिस्ट नेतृत्वबाट जनताहरुलाई आधारभूत आवश्यकताहरु समेत किनेर प्राप्ति गर्नु पर्ने बाध्यात्मक परिस्थितीको सिर्जना गर्ने कार्यहरु भईरहेका छन् । नेपाली अर्थतन्त्रमा सबैभन्दा धेरै आधारभूत मौलिक अधिकारहरुलाई जनताले बजारमा खरिद गरेर मात्रै उपभोग गर्नु पर्ने अवस्था छ । यसलाई दीर्घकालिन रुपले समाधान गर्नका लागि नेपाली कम्युनिस्टहरुसँग कुनै खास विचार रहेको भेटिदैन ।

नेपाली अर्थतन्त्रले सामना गरिरहेका समस्याहरु कम्जोर उत्पादन प्रणाली, बढ्दो बेरोजगारी, बढ्दो वैदेशिक रोजगारी र दीर्घकालिन विदेशमा बसाई, उपभोगमा आधारित अर्थतन्त्र, बढ्दो व्यापार घाटा, न्यून पूँजी निर्माण प्रक्रिया, वित्तीय संकट, आर्थिक अपारदर्शिता, कालो बजारी, कृत्रिम अभाव, बाह्य कच्चाँ पदार्थमा आधारित उद्योगको विस्तार, अनियन्त्रित बसोबास, भ्रष्टचार, कृषिमा आधारित अर्थतन्त्र आदिको दीर्घकालिन समाधान गरि अगाडि बढ्न सकिने ठोस योजना निमार्ण गर्नका लागि नेपाली कम्युनिस्ट पार्टीहरु वर्तमान समयमा असफल बनेका छन् । यसै बीच वर्तमान समयमा कम्युनिष्ट र गैरकम्युनिष्ट, राजावादी र गणतन्त्रवादी तथा संघीयताका पक्षधर र विरोधीका बीचमा कम्युष्टि नेताको नेतृत्वमा सरकार गठन भएको छ । जसले गर्दा पनि नेपाली कम्युनिष्ट पार्टीहरुको आफ्नो लक्ष्यबाट बरालिएर सत्ता मोहमा लिप्त छन् भन्ने निश्कर्ष निकाल्नु उचित नै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।