ताजा अपडेट »

विज्ञापन नियमन गर्न बोर्डलाई काउन्सिलको पत्र

बुधबार, ३० कार्तिक २०७९, २१ : ०८
53 Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ ।

निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकाले त्यसको आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार, समयावधि, पटक र सःशुल्क जनाउ गर्नेतर्फ चासो दिएको नपाइएको विषयमा काउन्सिलले यसअघि देखिन सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण एवं सचेत गराइरहेको छ । 

यो विषयमा विज्ञापनको नियमन गर्ने निकाय विज्ञापन बोर्डलाई समेत आवश्यक कारबाही गर्न लेखी पठाएको बेहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ, काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

काउन्सिलले बुधबार नै कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिकलगायत केही सञ्चार माध्यमलाई आचारसंहिता बाहिर गई विज्ञापन दिएको विषयमा सचेत गराएको छ । 

अनुगमनका क्रममा ९३ सञ्चार माध्यमले आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको देखिएको छ । विशेष अनुगमन प्रारम्भ भएयता कात्तिक ३० गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेका २२ वटा छापा माध्यम, पाँच वटा टेलिभिजन, रेडियो २०, ४६ वटा अनलाइन, ५ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ । 

यी समाचार माध्यममध्ये ६ वटालाई निर्देशन, ५० वटालाई ध्यानाकर्षण, २२ वटालाई सचेत र १२ वटालाई स्पष्टीकरण सोधिएको छ । दर्ता, सूचीकरण नभएका ५ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन माध्यमलाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ ।  

‘निर्वाचनको मुखमा कुनै अमुक उम्मेदवारहरूबारे सर्वेक्षण गर्ने र मत परिणामलाई असर पार्ने काम गरेको’ भनी अन्य उम्मेदवारबाटै उजुरी आउने क्रम बढेकाले त्यसलाई रोक्न काउन्सिलले सचेत गराएको काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रचारप्रसारको अन्तिम समयमा निर्वाचन सन्दर्भमा घृणास्पद अभिव्यक्ति, दुष्प्रचार, गलत तथा भ्रमपूर्ण सूचना आउन सक्ने हुँदा त्यसतर्फ सजगता अपनाउन, कसैको पक्ष वा विपक्षमा हुनेगरी सामग्री सम्प्रेषण हुन नदिन र सर्वेक्षण एवं विश्लेषणयुक्त सामग्री निर्वाचन मतदान कार्य सम्पन्न भएपश्चात् मात्र सार्वजनिक गर्न–गराउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा प्रेस काउन्सिलले अपिलसमेत गरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।