ताजा अपडेट »

प्राविधिक शिक्षाका लागि वडा अध्यक्ष पाण्डेले दिए २७ महिनाको तलब

बुधबार, ११ मंसिर २०७६, १८ : १६
6 Shares

मंसिर ११,
डि.बी. सुस्लिङ/ग्लोबल आवाज
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमप्रसाद पाण्डेले प्राविधिक शिक्षाका लागि आफ्नो २७ महिनाको पारिश्रमिक विद्यालयलाई सहयोग गर्ने भएका छन् । जिल्लामै पहिलो प्राविधिक तर्फको अटोमोवाइल्स कक्षा सञ्चालन गर्न लागेको तिनाउ ३ झुम्सामा अवस्थित तिलोत्तमा माध्यमिक विद्यालयका लागि उने ५ लाख २७ हजार बराबरको आर्थिक सहयोग गर्ने भएका हुन् । विद्यालयमा प्राविधिक तर्फको अटोमोवाइल्स कक्षा सञ्चालनार्थ आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक एवम् शैक्षिक महोत्सवको अवसरपारी उनले सो आर्थिक रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बुधबारदेखि सुरुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक समेत रहेका उनले आफ्नो वडालाई जिल्लामै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि सो रकम सहयोग प्रदान गर्न लागेको बताए । यसैबीच प्रतिनिधी सभा सदस्य तथा नेकपा नेता सोमप्रसाद पाण्डेले मुलुकको शैक्षिक विकासका लागि व्यवहारिक तथा प्राविधिक शिक्षामा जोड दिएका छन् । आर्थिक विकास र समृद्ध मुलुक निर्माणका लागि मुलुकको शैक्षिक पद्दतीलाई परिवर्तन गर्दै प्रयोगात्मक र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए । श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक एवम् शैक्षिक महोत्सवलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्तरमानै शैक्षिक नीति सुधारका लागि सरकार लागिरहेको उल्लेख गरे । प्रतिनिधी सभा सदस्य पाण्डेले केन्द्र सरकारबाट आगामी शैक्षिक सत्रका लागि कम्तिमा ३० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

मंसिर १८ गतेसम्म सञ्चालन हुने ज्ञान महायज्ञको विधिवत उद्घाटन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ शैक्षिक हबका रुपमा विकासहुँदै गएको दाबी गरे । आर्थिक विकास तथा पूर्वाधार निर्माणमा अगाडी रहेको प्रदेश पाँच शैक्षिक विकासमा समेत उत्कृष्ट बन्दै गएको उनले बताए । प्रदेश सरकारबाट डिपीआर अनुसार विद्यायका लागि बन्ने १ करोड २८ लाख बराबरको भवन निर्माणका लागि पूर्ण आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले गाउँपालिकाबाट महायज्ञ सञ्चालन अवधिमै ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने र आगामी आर्थिक वर्षको बजेटबाट डिपीआर अनुसारको भवन निर्माण गर्नका लागि आवश्यक १ करोड १८ लाख बराबरको बजेट विनियोजन गरिने प्रतिवद्धता व्यक्त गरे ।

एक करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको महायज्ञबाट एक करोड रुपैयाँ बचाउने र सोहीबाट नै विद्यालयमा प्राविधि शिक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ । महायज्ञमा पहिलो दिन आज कलस सोभा यात्रा पश्चात महायज्ञको उद्घाटन गरिएको हो । महायज्ञमा दैनिक संगीतमय कथा प्रवचन र झाँकीहरु, दैनिक २ बजेदेखि ३ बजेसम्म दानविरहरुलाई सम्मान, प्राविधिक शिक्षाको महत्व विषयक प्रेरणादायी प्रवचन पुष्पाञ्जली तथा गुरुको बाहुलीबाट टिका ग्रहण, भजन कृतन, तुलादान, पीतृ मोक्ष आकाशदिप प्रज्वलन लगायतका कार्यक्रमहरु रहने महायज्ञ मूल आयोजक समितिका संयोजक पाण्डेले बताए । महायज्ञमा हालसम्म ५४ लाख रुपैयाँ सहयोग गर्ने आवश्वासन आएको उनले बताए ।

विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्नका लागि साढे ७ करोड रुपैयाँको दिर्घकालिन गुरुयोजना निर्माण भई डिपीआर समेत तयार भएको छ । ७८ लाखको लगानीमा बन्ने भवनमा ड्राइभिङ सेन्टर, एक करोड १८ लाखको लागतमा प्रयोगात्मक सेन्टर तथा एक करोड २८ लाखको लागतमा प्रयोगात्मक अभ्यास कक्षा निर्माण हुन लागेको हो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार विद्यालयमा प्राविधिक कक्षा सञ्चालनको लागि पहिलो चरणमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । विद्यालयमा २४ जना विद्यार्थीका लागि सो विषयमा अध्ययन गर्न कोटा रहेकोमा २२ जना विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले बताए । साधारण विषयतर्फ ४ सय ८३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको यस विद्यालयमा प्राविधिक विषय सञ्चालन गर्नका लागि ३ वटा अत्याधुनिक भवन निर्माण गरिँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।