ताजा अपडेट »

विज्ञापन बोर्डद्वारा बुटवलमा अन्तरक्रिया, विज्ञापनलाई व्यवस्थित र पारदर्शी बनाउन जोड

शुक्रबार, २० जेठ २०७९, १९ : १५
4 Shares


बुटवल । विज्ञापन बोर्ड नेपालले बुटवलमा अन्तरिक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले शुक्रबार ‘विज्ञापन आचारसंहिता एवम् राष्ट्रिय नीति सम्बन्धी’ अन्तरक्रिया गरेको हो। सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विज्ञापनलाई व्यवस्थित बनाउने सवालमा लुम्बिनी सरकारको पहल रहेको बताउँदै विज्ञापन बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले भने ‘लुम्बिनी प्रदेश सञ्चार र विज्ञापन नीतिप्रति सकारात्मक छ । मुलुक संघीय प्रणालीमा अगाडि बढेतापनि धेरै क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ । सञ्चार क्षेत्र र विज्ञापन पद्धतिलाई पनि मिडियामैत्री बनाउन आवश्यक छ । यसका लागि हाम्रो तयारी रहँदै आएको छ । मिडिया र विज्ञापनलाई व्यवस्थित बनाउन विज्ञापन बोर्ड लगाएत सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्न हामी तयार छौं ।’

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाएर व्यस्थित बनाउन अग्रसर रहेको बताए । उनले भने ‘विज्ञापन बोर्ड आँफैमा नयाँ विभाग हो । हालै स्थापना भएको बोर्डले विज्ञापन सम्बन्धी राष्ट्रिय नीतिलाई विशेष प्राथमिकता दिएको छ । विज्ञापनलाई नियन्त्रण,व्यवस्थित गराउनुका साथै पारदर्शी बनाउनु बोर्डको मुख्य कार्य तथा जिम्मेवारी हो । सोही अनुसार हामी अगाडि बढेका छौं ।’

उनले विज्ञापन दाता,एजेन्सी र सञ्चारगृहबीच त्रिपक्षीय सम्झौता अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न आग्रह समेत गरे । ‘विज्ञापन सम्बन्धी बोर्डले बनाएको नीति अनुसार त्रिपक्षीय सम्झौताअनुसार विज्ञापन प्रदान र प्रकाशन गरेमा विज्ञापनदाताले भुक्तानी नदिने र सञ्चारगृहले नपाउने समस्यामा कमी आउँछ । साथै यसले पारदर्शिता पनि ल्याउँछ । बोर्ड र बोर्डको राष्ट्रिय नीतिले सबै पक्षलाई सहज बनाउने प्रयास गरेको छ । यसमा विज्ञापनदाता र सञ्चारगृहको सहकार्य आवश्यक छ ।’

अध्यक्ष हुमागाईले विज्ञापन बोर्डम सूचिकृत भएका सञ्चार माध्यमहरुलाई दिइएको लोक कल्याणकारी विज्ञापन तोकिएकै समयमा प्रकाशन तथा प्रसारण गर्न र समयमा नै बिल पेश गरी भुक्तानी गर्ने व्यवस्था गरिएको जानकारी गराए । उनले भने ‘बोर्डमा सूचिकृत सञ्चारगृहले दिइएको विज्ञापनमा सम्पादन नगरी तोकिएकै समयमा प्रकाशन र प्रकाशन गर्नुपर्ने छ । प्रकाशन संख्या र अवधीअनुसारनै बिल पेश गर्नुपर्ने र सोहीअनुसार भुक्तानी हुने व्यवस्था गरेका छौं । आगामी दिनमा अनलाइनलाई पनि सूचिकृत गर्ने तयारी रहेको छ । सरकारको आधिकारिक निर्देशन र बजेटअनुसार कार्यान्वयमा जाने तयारी रहेको छ ।’

त्यसैगरी कार्यक्रममा विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापन सम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने बताए । उनले भने‘ सञ्चार माध्यमहरुले विज्ञापन आचारसंहिता अनुसारनै विज्ञापन निर्माण तथा प्रकाशन,प्रसारण गर्नु पर्दछ । आचारसंहिता उल्लंघन गर्ने सञ्चार माध्यमलाई बोर्डले निगरानी गर्दै आएको छ । केहिलाई चेतावनी पनि दिएको छ । आगामी दिनमा थप कडाई गर्नुका साथै आचारसंहिता विपरित विज्ञापन निर्माण तथा प्रकाशन,प्रसारण गर्ने मिडियालाई कारवाही गरिनेछ ।’

कार्यक्रममा राससका पूर्व अध्यक्ष पत्रकार डाः बालकृष्ण चापागाइँ, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसी, नेपाल विज्ञापन संघ , लुम्बिनी संयोजक गौतम भुसाल,उपभोक्ता मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डे,राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल,तिलोत्तमा एफएमका स्टेशन म्यानेजर टिकाराम घिमिरे लगाएतले आफ्ना जिज्ञासा तथा भनाई राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरी,महासचिव बिक्रम खड्का रुपन्देही अध्यक्ष रामराज पोख्रेल,उपाध्यक्ष विश्वास ढकाल लगाएत सञ्चारकर्मी तथा स्थानयीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।