ताजा अपडेट »

कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न मन्त्री खड्काको चासो

मंगलबार, २३ बैशाख २०८२, १४ : ४८
16 Shares
मंगलबार, २३ बैशाख २०८२
16 Shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् । 

मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन विद्युत् टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणका क्रममा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राखेका हुन् । 

“स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनूहोस्”, मन्त्री खड्काले भने । उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए ।

भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराए । उक्त क्षेत्रमा तीनवटा विद्युत् टावर बन्न बाँकी रहेको उहाँको भनाइ थियो । विक्रम संवत् २‎‎०७७ भदौमा सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भए पनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाइ भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।