ताजा अपडेट »

बुटवलको आर्थिक सवलीकरणका लागि कृषिमा व्यवसायीकरण

आइतबार, २५ बैशाख २०७९, ०९ : २८
70 Shares


हामीले हाम्रो नगरभित्र कृषि उत्पादन बढाउने र वरिपरिका गाउँपालिका तथा पाहाडमा उत्पादित बस्तुलाई यस नगरको माध्यमवाट कृषि उत्पादन खपतमा व्यवस्थापन गर्न सकियो भने यसको माग ज्यादै धेरै छ भन्ने कुरा गत आर्थिक वर्ष ०७७/७८ को तथ्यांकवाट स्पष्ट देखिन्छ । आर्थिक वर्ष ०७७।०७८ नेपालमा हामीले कृषिजन्य बस्तु २ खर्व १२ अर्व ८१ करोडको र खाद्यान्न मात्र ५५ अर्ब ९० करोड, मासुजन्य १ अर्व २४ करोड र मसला ६ अर्बको आयात गरिएका छ भने बुटवलमा रहेको एउटा कृषि होलसेल बजारको ०७७/७८ को विश्लेषण गर्दा भारतबाट ३ अर्ब २७ करोड र चीन लगायत अन्य देशबाट ८७ करोड ८२ लाखको फलफुल तथा तरकारी आयात गरिएको देखिन्छ ।

यदि हामीले बाहिरवाट आउने तरकारी तथ फलफुलहरु आधा मात्र पनि उत्पादन तथा वितरण व्यवस्था मिलाउन सकिने हो भने पनि बर्षमा करिव डेढ अरवको आर्थिक परिचालन गर्दै व्यापारघाटा कम गर्न र रोजगार तथा स्वरोजगार बढाउँदै बुटवललाई सवल आर्थिक केन्द्र निर्माणमा कृषि क्षेत्रवाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ ।

नेपाली समाजको आर्थिक समृद्धिको मूल आधारहरु कृषि, पर्यटन र प्राकृतिक सम्पदाहरुको व्यवसायीकरण र सेवा क्षेत्रको विकासनै हो ।यी चार क्षेत्रहरु यस उपमहानगरपालिकाको पनि आन्तरिक श्रोतका रुपमा रहेका छन् । हामीले यी क्षेत्रहरुको मसिनो गरी पहिचान गर्दै यसका श्रोतहरुको व्यवस्थित रुपमा परिचालन गर्न आवश्यक छ । नेपालपहिलेदेखि नै कृषि प्रधान देशका रुपमा परिचित छ । अझ पनि नेपालको ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक चौथाई छ ।

विगतमा हामीले उत्पादन गरेको अन्न निर्यात गर्ने अवस्थामा थियौ तर हामीले कृषि प्रधान देशलाई विस्तारै नारामा सिमित राख्ने र त्यसलाई आवश्यक मात्रामा ध्यान दिन नसक्दा कृषिमा औधागिकरण र व्यवशायिकरण हुन नसको कारण बर्षैनी खर्वौको कृषिमा आधारित उत्पादन आयात गर्ने अवस्थामा आइपुगेका छौं ।

नेपालका केहि क्षेत्रमा असाध्यै सुस्त गतिमा कृषिमा आधुनिकीकरण भए पनि अझै ठूलो क्षेत्र परम्परागत प्रणाली र निर्वाहमुखि उत्पादन प्रणालीमा सिमित रहेकोछ । यसले गर्दा कृषि पेशावाट जीवन निर्वाह हुन नसक्दा किसानहरु कृषि पेशाबाट पलायन हँुदै गएका कारण हाम्रा खेतबारीहरु क्रमश बाँझो हुदै गएकाछन् । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवशायीकरण हुन नसकेका कारण जनसंख्याको ठूलो भाग ६० प्रतिशत भन्दा माथिको जनसंख्या यहि कृषि क्षेत्रमा अलमलिई रहेकोछ ।

अब पनि हाम्रा सवै सरकारहरुले कृषि उत्पादनमा उच्च प्राथमिकताकासाथमा कृषिमा बजेट लगानी गर्न र यस क्षेत्रको समग्र आयामहरुको (उत्पादन, संकलन, ढुवानी, बजारीकरण, औधोगिकरण र व्यवशायीकरण ) बारेमा योजनाबद्ध रुपमा अगाडी नजाने हो भने अप्ठ्यारो परेका बेलामा पैसा भएर पनि खान नपाउने अवस्था नआउला भन्न सकिन्न ।

कृषि उत्पादनको कमिका कारण हाम्रो परनिर्भरता बढदैछ, व्यापारघाटा दिन प्रति दिन बढ्दोछ र विदेशमा दुख गरेर कमाएको रकम पुन विदेश तर्फ तीव्र गतिमा गईरहेकोछ, युवाहरु सधै विदेशी भूमिमा जागिरे हुनेछन, पढेलेखेका युवाहरु देशमा केहि नदेखेर विदेशीनेछन् र हामी सधै आशे भएर बाच्न पर्ने अवस्था आइरहेको छ । यी अवस्था भनेको कृषि प्रधान देशको लागिलाज लाग्दो अवस्था हो ।

यतिबेला नेपालका सवै राजनैतिक दलहरु आगामी निर्वाचन पछि सेवा सुविधा दिने र बाटो तथा भौतिक संरचना बनाउने कुरालाई प्राथमिकताकासाथमा प्रचार प्रसार गरी रहेको छन । तर उनीहरुले आर्थिक उत्पादनका क्षेत्रहरु र आफ्नो स्थानलाई कसरी आर्थिक सवलीकरण गर्ने, उत्पादनका क्षेत्रहरुको विकास कसरी गर्ने र अव आगामी दिनमा उत्पादनका भौतिक पूर्वाधारहरुको कसरी विकास गर्ने भन्ने बारेमा यथेष्ठ ध्यान पुगेको छैन्।

अब स्थानीय तहका सरकारहरुले आफ्नो क्षेत्रमा उत्पादनको बृद्धि गर्दै जनतालाई विकासको अनुभूति दिलाउने तर्फ आवश्यक ध्यान पुराउनु आवश्यक छ । नेकपा एमालेको केन्द्रिय घोषणापत्रमा यस बारेमा विषयबस्तु आएको छ र यसलाई अव उच्च प्राथमिकताकासाथ उठाउँदै विजय पछि स्थानीय सरकारहरुले दृढताकासाथ उत्पादन क्षेत्रलाई कार्यान्वयनमा लानु आवश्यकछ ।

नेकपा एमालेले बुटवल उपमहानगरले यस नारालाई उच्च प्राथमिकताकासाथमा बुटवललाई सवल आर्थिक केन्द्रको रुपमा विकास गर्ने संकल्पका साथमा उठाएको छ । अव निर्वाचनको विजय पछि यस नारालाई कार्यान्वयनका लागि व्यापक रुपमा अध्ययन, छलफल तथा अन्तरकिया गर्दै यस नारालाई सार्थक बनाउनका लागि बुटवललाई सवल आर्थिक केन्द्रका रुपमा विकास गर्न आवश्यक आयामहरु के के हुन ?

ती आयामहरुका क्षेत्र तथा श्रोतहरुको बारेमा बृहत योजना बनाउदै काममा लाग्नु पर्ने अवस्था रहेको छ । मेरो विचारमा बुटवललाई सवल आर्थिक केन्द्रका रुपमा अगाडी बढाउनका लागि मूलतः चार वटा पक्षहरुको औधोगीकरण र व्यवशायीकरण गर्न आवश्यक छ । ती चार आयामका रुपमा पर्यटन, कृषि, प्राकृतिक संपदा र सेवा क्षेत्रहरु नै हुन । यी चार क्षेत्रको उत्पादन बाताबरणका लागि आवश्यक भौतिक पूर्वाधारमा लगानी गर्दै सरकार,निजी क्षेत्र र सहकारीहरुलाई यस क्ष्ोत्रमा केन्द्रित बनाउने बाताबरण बनाउन पहिलो प्राथमिकता दिनु पर्दछ ।

यी चार क्षेत्रमध्ये यस लेखमा कृषि क्षेत्रको बारेमा यहाँ केहि चर्चा गर्ने प्रयास गरिएको छ । बुटवललाई एउटा सवल आर्थिक केन्द्रका रुपमा अगाडी बढाउनका लागि कृषि क्षेत्रका श्रोतहरुको संभावनाहरु के के हुन र यसलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने बारेमा गहिरो अध्ययन आवश्यकछ । बुटवल पालिका क्रमशः तीव्र शहरीकरणका रुपमा रुपान्तरण भईरहेको छ ।

बुटवलको कृषि क्षेत्रका रुपमा रहेका वार्र्डहरु १४ देखि १९ पनि तीव्र शहरीकरणका रुपमा अगाडि बढीरहेका छन् ।यी क्षेत्रमा रहेका कृषि क्षेत्रहरुलाई कृषि उत्पादन जोनका रुपमा घोषणा गरिनु पर्दछ ।कृषि क्षेत्रमा रहेका जमिन बेचेर भन्दा कृषि उत्पादनमा लगाउदा राम्रो आम्दानी हुदो रहेछ भन्ने गरी यस क्षेत्रमा काम अगाडि बढाएर मात्र हामीले यो क्षेत्रलाई कृषि जोनका रुपमा बचाउन सक्नेछौं ।मेरो विचारमा कृषि क्षेत्रलाई एउटा सवल आर्थिक केन्द्रको रुपमा रुपान्तरण गर्नका लागि निम्न लिखित कार्ययोजना अगाडि बढाउनु आवश्यक छ ।

क.कृषि विकासको पहिलो चरण :
उत्पादन वृृद्धिः
- यस नगरमा रहेको कृृषि क्षेत्रलाई कृषि जोनका रुपमा घोषणा गरी कृषि पकेटर व्लकका रुपमा अगाडी बढाउने ।
- यस क्षेत्रको माटो परिक्षण गर्ने र माटोको विशेषता वा माटोको उपचार गरी कुन कृषि उपज ठिक हुन्छ त्यसैको पकेट क्षेत्र घोषणा गर्ने ।
- हाम्रो नगरको बजार सर्भेक्षण गर्दै कुन कुन कृषि उपजमा हामी आत्मनिर्भर हुन आवश्यक छ भन्ने बारेमा विश्लेषण सहित बाली छनौट गर्ने ।
- कृषि उत्पादनका लागि चाक्लाबन्दि वा कम्तिमा १०० विघा बराबरका कृषक समुह निर्माण गर्दै उक्त क्षेत्रमा पालिकावाट उन्नत विउ विजन, मल, दक्ष प्राविधिक, आवश्यकतानुसारको तालिम र सस्तो दरमा कृषि रिण उपलव्ध गराउने
-समुहहरुलाई व्यवस्थापन तालिमको व्यवस्था गर्ने र नगरको कृषि शाखाको सम्पूर्ण ध्यान उक्त क्षेत्रको हरेक योजनामा केन्द्रित गर्ने ।
- नगरमा कृषि उपजको आत्मनिर्भरताको लागि स्वयम उत्पादन गरेर वा बरिपरिका किसानहरुवाट संकलन गर्दै कृषि उपजमा आत्मनिर्भरता बढाउन तर्फ क्रमशः पहल गर्ने ।

संकलन तथा व्यवस्थापन :
-कृषि उत्पादन अन्य क्षेत्रको उत्पादन भन्दा छिटो हुने भएकोले उत्पादनको योजना बनाइरहदा उक्त उपजको संकलन तथा विक्रि वितरण र व्यवस्थापनमा पनि ध्यान दिनु पर्दछ ।
-व्यवस्थापनको पहलमा कृषि उपज संकलन केन्द्र बनाउने र कृषकले उत्पादन गरेको उपजहरु सहजै विक्रि गर्न सक्ने व्यवस्था मिलाउने ।
- बढी भएको र खपत हुन नसकेको उपजहरु चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाउने । आलु, प्याज, लशुन लगायतका उपजहरु चिस्यान केन्द्रमा राख्ने र बढी मुल्य पर्ने बेलामा बेच्न सक्ने बताबरण मिलाउने ।
- शहरमा कृषि बजारहरु स्थापना गरी बेच्ने र उक्त उपजको मुल्य श्रृखलाका लागि प्याकेजिंग र प्रशोधन उद्योगहरुका लागि नीजि क्षेत्र वा कृषक समुहलाई प्रोत्साहन गर्ने ।
-समुहमा उत्पादन भएर बिक्रि गर्दा केहि रकम समुहको विकासका लागि रकम छुट्याउदै समुहलाई कृषिको आधुनिकिकरण तथा आत्मनिर्भर बनाउन तर्फ पनि प्रेरित गर्ने ।
-कृषि उपज उद्योगी तथा व्यवशायीहरुलाई केहि सहुलियत दिदै कृषि उद्योगतर्फ रुपान्तरणका लागि अन्य उद्योगी वा किसानहरुलाई नै प्रोत्साहन गर्ने ।
-कृषि उपजका विउ विजन राम्रो र गुणस्तर तथा प्रयाप्त मात्रामा उत्पादनका लागि टिस्यु कल्चर ल्याव स्थापनका लागि उद्योगीहरुलाई सहुलियत प्रदान गर्ने
-राम्रो तथा गुणस्तरयुक्त उत्पादनलाई नगर पालिकाले ब्रान्डिंग गर्दै प्रोत्साहन गर्ने ।

दोस्रो चरण
-कृषि उपजमा हामी नगरभित्र कसरी आत्मनिर्भर हुदैछौ र अव हामीले हाम्रा कृषि उपजलाई नजिकका शहरमा कसरी पठाउन सक्छौ भन्ने बारेमा विश्लेषण गर्ने ।
- सोही आधारमा हामीले हाम्रो उत्पादन बढाएर हुन्छ वा पाहाड र तराईका वरिपरिका क्षेत्रवाट कृषि उपजहरु संकलन, प्याकेजिंग तथा प्रशोधन तर्फ अगाडी बढनु पर्ने हुन्छ ।
-यसरी संकलित उपजहरुको बजारीकरणमा केन्द्रित हुने ।

तेस्रो चरण :
- अव हामीले उत्पादन गरेकाउपजहरु देशभित्र खपत हुन नसक्ने अवस्था आएमा हामीले अन्तराष्ट्रि«य बजारमा माग भएका बालीहरुको विश्लेषण गर्दै बाली छनौट गरी ठुलो मात्रामा कृषि उत्पादन बढाउने ।
- गुणस्तर युक्त कृषि उपजहरुको राम्रो ब्रान्डिग गर्दै क्रमशः अन्तराष्ट्रिय बजारमा निर्यातका लागि तयारी गर्नु पर्दछ
- हामीले यसरी हाम्रो बजारलाई आत्मनिर्भर बनाउन र विदेश निर्यात गर्न सक्ने अवस्था बनाउन सक्यौ भने अरबौंको आर्थिक परिचालन हुनेछ र यो बुटवल सवल आर्थिक केन्द्रको रुपमा स्थापित हुनमा कृषि क्षेत्रबाट सहयोग पुग्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।