बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौता तोडेका छन्।बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।
‘धेरै सोचविचारपछि मैले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने निर्णय गरेको छु ।’ उनले भनेका छन्, ‘यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा छैन –यो व्यक्तिगत र व्यावसायिक रूपमा विकसित गर्नका लागि भएको कदम हो।’
उनले आफूलाई निरन्तर सहयोग गरिरहेको भन्दै क्यानलाई आभार पनि व्यक्त गरेका छन्। उनले आफूले सधैँ जस्तै जोश र समर्पणका साथ देशका लागि खेलिरहने पनि बताएका छन।
‘म सधैँ जस्तै जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु। त्यो गर्व र जिम्मेवारी सधैँ मेरो हृदयमा रहनेछ। जीवन विकासशील मार्ग र जिम्मेवारीहरूले भरिएको यात्रा हो ।’, उनले थप भनेका छन्, ‘त्यहाँ अझै धेरै अन्वेषण गर्न र धेरै बन्न बाँकी छ। म अगाडिको बाटोको लागि उत्साहित छु।’
उनले क्रिकेट र देशलाई केन्द्रमा राखेर हरेक काम गरिरहने पनि बताएका छन्। लामिछानेले नयाँ ऊर्जाका साथ यात्रा जारी रहेको पनि बताएका छन्।
प्रतिक्रिया