ताजा अपडेट »

प्रेस यूनियन सुनसरीद्वारा अक्षयकोष स्थापना, एक लाखद्वारा पत्रकारलाई पुरस्कृत गरिने

शनिबार, ०३ बैशाख २०७९, १७ : ४४
6 Shares


इटहरी । नेपाल प्रेस युनियन सुनसरीले अक्षयकोष स्थापना गरेको छ । इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनले अक्षयकोष स्थापना गरिएको हो ।

गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो । जसमध्ये राष्ट्रिय पत्रकारिता पुरस्कारको राशी एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशी ५१ हजार रहेको छ ।

शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो । आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उदेश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए ।

‘पत्रकारिता क्षेत्र समाजको महत्त्वपूर्ण अंगको रूपमा मानिन्छ, सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उदेश्यले यो अक्षयकोषका लागि हामीले सम्झौता गरेका हौं,’ उनले भने, ‘सामाजिक उत्तरदायी बन्नुपर्छ भन्ने उदेश्यले व्यवसायबाट प्राप्त केही रकम छुट्याइएको हो ।’
यता, युनियन सुनसरी अध्यक्ष अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिनेगरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको हो ।

उनले भने, ‘एउटा जिल्लास्तरीय ५१ हजारको र अर्को राष्ट्रियस्तरीय एक लाख एक हजारको पुरस्कार प्रदान गरिनेगरी हामीले प्रस्ताव गरेका थियौं, सोही अनुसार आज सम्झौता भएको हो ।’ उनका अनुसार केही समयअघि मात्रै इटहरीका व्यवसायी तथा कांग्रेस नेता रोहित प्रसाईँले भवन निर्माणका लागि जग्गा दिएका छन् । उक्त जग्गामा भवन बन्नेगरी आफूहरूले काम सुरु गर्न लागिएको अधिकारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।