ताजा अपडेट »

पत्रकार महासंघ उपाध्यक्ष अधिकारीको घोषणा : 'अब मेरो गन्तव्य पार्टी राजनीति तिर’

सोमबार, २० मंसिर २०७८, २१ : १५
4 Shares

बुटवल । पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासङ्घको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ उल्लेख गर्दै उनले महांसघको जिम्मेवारीमा नरहने स्पष्ट पारेकी हुन् ।

‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ ’–उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘अब मेरो गन्तव्य पार्टी राजनीति तिर ।’

उनले आफूलाई महासङ्घमा निर्वाचित गराउने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिएकी छन् । सामाजिक सञ्जाल मार्फत जिम्मेवारीमा नरहने स्पष्ट पारे पनि महासङ्घमा अहिलेसम्म आधिकारिक राजीनामा पत्र पुगेको छैन । ‘अहिले सम्म औपचारिक रूपमा राजीनामा बुझाउनु भएको छैन ।’ पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले भने, ‘नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुने अवस्थामा उहाँले राजीनामा दिनुपर्छ र दिन्छु पनि भन्नुभएको छ । ’

अधिकारीले भने आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दिनमै राजीनामा दिने बताइन् । ‘म अब राजनीतिमा लाग्ने हो यस्तो अवस्थामा महासङ्घमा रहन्न भन्ने कुरा हो ।’ उनले भनिन्, ‘अहिले सामाजिक सञ्जालमा लेखेर जानकारी गराए । केही दिनमा उम्मेदवारी दिन्छु त्यही दिन महासङ्घको पदबाट पनि राजीनामा दिन्छु ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।