ताजा अपडेट »

बुटवल मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा गृहमन्त्री खाँण

आइतबार, ०५ मंसिर २०७८, २० : ०४
2 Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेहरुको पक्षमा उभिएका छन् । गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रको जग्गा घटाएरै भएपनि जग्गा उपलब्ध गराउने बताएका छन् ।

शिलान्यास भएको लामो समयसम्म पनि जग्गा कब्जा तथा अतिक्रमणका कारण काम अगाडि बढ्न नसकेको अवस्थामा गृहमन्त्रीको यो प्रतिक्रियाले थप अन्यौलता आउने देखिएको छ । भोट राजनीतिका कारण औद्योगिक क्षेत्रको पक्षमा दलहरु खुलेर बोल्न नसकिरहेको अवस्थामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गृहमन्त्री खाँणले पनि आफ्नो मत सुरक्षीत राख्नेगरी प्रतिक्रिया दिएका हुन् ।
आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रममा सम्बोधन गर्दै उनले खुलेरै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा उभिएका हुन् । खाँण गृहमन्त्री भएसँगै अतिक्रमित जग्गाबाट मानिसहरु हटाउने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएपछि आलोचित भएका थिए ।

लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री खाणले खुलेरै औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतिपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफू रहेको बताए । उनले मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भने, ‘बसोबास गरिरहेका जनतालाई नहटाईकन उद्योग स्थापनाको व्यवस्था मिलाउनु होस् । देश उनीहरुको पनि हो ।’

नेपाल सरकारले २०७२ साल चैत्र १ गते साविक बुटवल नगरपालिका, टिकुलिगढ़ गा.बि.स, आनन्दवन गा.बि.स र फर्साटिकर गा.बि.सका केहि भाग (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सुद्धोधन गाँउपलिका) चार किल्ला तोकि ८१३ बिगाहामा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरेको थियो । यसैगरी २०७३ बैशाख १२ गते लुम्बिनी प्रदेशमा रुपन्देहीको मोतिपुरसहित र बाँकेको नौबस्तालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

मौतिपुर औद्योगिक क्षेत्रका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ८१३ विगाहको जग्गाधनी पूर्जा प्राप्त गरिसकेको छ भने बाँकी रहेको १३३ दशमलव ४६ विगाहको पूर्जा प्राप्त गर्न बाँकी रहेको छ । यसरी ९४६ दशमलव ४६ विगाहमा बन्ने औद्योगिक क्षेत्रका लागि डिपिआर निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भए पनि राजनैतिक स्वार्थ र स्थानीयहरुको बिरोधका कारण अन्यौलमा परेको छ ।

औद्योगिक क्षेत्रको गत फागुनमा तत्कालिन गृहमन्त्री विष्णु पौडेलले शिलान्यास गरे पनि काम अघि बढ्न सकेको छैन । बुटवललाई पश्चिम क्षेत्रकै आर्थिक केन्द्रको रुपमा बिकास गर्ने लुम्बिनी प्रदेश सरकारको योजना रहे पनि बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रको कामले गति लिन भने सकेको छैन । बुटवलमै रहेको धागो कारखाना औद्योगिक क्षेत्रमा जग्गा कम हुँदै गएपछि व्यवस्थित र ठूला उद्योगहरु स्थापना गर्नेगरी मोतिपुरलाई औद्योगिक क्षेत्र प्रस्ताब गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।