ताजा अपडेट »

फोहोर नउठ्दा बुटवल शहर दुर्गन्धित, भाका सार्दै उपमहानगर

सोमबार, २१ भदौ २०७८, १८ : १०
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले समयमै फोहोरको व्यवस्थापन गर्न नसक्दा शहर दुर्गन्धित भएको छ । विगत २ सातादेखि उमहानगरले फोहर उठाउन नसक्दा बजार तथा खुला सडक समेत फोहरको डङ्गुरले भरिन थालेका छन् । एक साता अघिदेखिनै फोहर उठ्ने आश्वासन दिँदै आएको उपमहानगरले हालसम्म पनि विकल्पको खोजी र व्यवस्थापन भइरहेको बताउँदै आएको छ ।

लामो समयसम्म फोहोर उठाउँन नआएपछि घरमा जम्मा पारेर राखिएका फोहरहरु समेत खुला सडक तथा बजारमा फाल्न थालिएको छ । दैनिक ५३ टन बढी फोहर उत्पादन हुने बुटवल उपमहानगरको नियममितको डम्पिङ साइड भरिएपछि शहरनै डङ्गुरले भरिन थालेको छ । फोहर व्यवस्थापनका लागि विकल्प खोजिरहेको बताउने उपमहानगरले अझै कही दिन लाग्ने उल्लेख गरेको छ ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले फोहर व्यवस्थापनका लागि विकल्पको खोजी भइसकेको बताउँदै केही दिनमै फोहोर उठ्न सुरु हुने बताए । बुटवललाई डिजिटल र नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य लिएको उपमहानगरले हालसम्म फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान खोज्न सकेको छैन । उपमहानगरका प्रवक्ता रेग्मीले अस्थायी विकल्पको रुपमा बुटवल–१७ मोतिपुरको तिनाउ नदी किनारमा फोहर फाल्ने तयारी भएको बताए । दिर्घकालिन व्यवस्थापनको विकल्प तयार नहुँदासम्म सोही ठाउँमा फोहर फाल्ने गरी मोतिपुर औद्योगिक क्षेत्रसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

उपमहानगरले फोहोर व्यवस्थापनलाई गम्भीरताका साथ नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उपमहानगरले दिर्घकालिन व्यवस्थापन गर्न नसक्दा समय–समयमा यसैगरी बजार दुर्गन्धित हुने गरी फोहोर थुप्रिने गरेका छन् । बुटवल–११ स्थित हात्तीसुड र विनापाते क्षेत्रको बस्ती छेउलाई डम्पिङ साइड बनाएको उपहानगरले स्थानीय विरोधपछि फोहोर उठाउन छाडेको हो । उपमहानगरपालिकाले अस्थायी डम्पिङ साइट बनाएर फोहोर फाल्दै हात्तीसुड र विनापातेका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै विरोध गरेका छन् । फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयले रोक लगाएका हुन् ।

सुरुमा हरेक दिन जम्मा हुने फोहोरलाई ४ इन्च मिस्कट वा माटोले पुरेर दुर्गन्ध हुन नदिने, स्थानीयले माग गरे अनुसार नदी तटबन्ध, सडक, विद्युत, पानीलगायत विकासका पूर्वाधार दिने सहमति गरेर फोहोर फाल्न सुुरु गरे पनि उपमहानरगले सहमति पालना गरेको भन्दै स्थानीयले रोक लगाएका हुन् । डम्पिङ साइडमा मरेका जनावरदेखि कुहिने र नकुहिने सबैखाले फोहोर ल्याएर फालिन्छ । हात्तीसुड र बिनापाते क्षेत्रका चारसय बढी परिवारका करिब दुई हजार जनसंख्या फोहोरको दुर्गन्धबाट प्रभावित भएका छन् ।

बुटवलमा सञ्चालन गर्न खोजिएको २५ करोड ६२ लाख रुपैयांको एकीकृत फोहरमैला प्रशोधन केन्द्र परियोजना उपमहानगरपालिकाले ठाउँको व्यवस्थापन र स्थानीयलाई सहमतिमा ल्याउन नसक्दा फिर्ता भइसकेको छ । बुटवल र देवदहको सीमा क्षेत्र बुटवलको शिवनगर सामुदायिक वनमा पर्ने भनभने खोचमा बनाउने भनिएको फोहेर मैला प्रशोधन केन्द्र आयोजना सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसंग सम्झौता भए पनि काम नै अगाडि बढ्न नसकी फिर्ता भएको थियो । उपमहानगर र राजनीतिक दलहरुबीच उचित समन्वय र समझदारी हुन नसक्दा एडीबीका तीनवटै परियोजना गुमेका हुन् ।

उपमहानगरका प्रवक्ता रेग्मीले राजनीतिक वा अन्य विभिन्न कारणले फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि जग्गा पाउन समस्या हुने गरेको बताउँछन् । अबको डेढ वर्षभित्र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान हुने गरी बुटवल र सैनामैना नगरपालिकाको सीमा क्षेत्रमा ठाउँको पहिचान भइसकेको उनले बताए । पहिचान भएको ठाउँमा तारबार तथा सुरक्षाको व्यवस्था गरी योजना अघि बढाउने तयारीमा रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।