ताजा अपडेट »

मासुको डल्लो पलाएर अनुहार छोपियो, उपचार पाइएन

बुधबार, २७ साउन २०७८, १५ : ०५
4 Shares

झापा । निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ । गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहेकी विष्णुमायाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिन लाग्दा उनलाई हेर्नसमेत समस्या भइरहेको छ । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले मगर परिवार चिन्तित छन् ।

“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो,” उनले रासससँग भनीन् । मासुको डल्लो बढेर नाक र मुख छोपिइसकेको र आँखा हेर्नसमेत समस्या हुँदै गएको उनले बताईन् ।

आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आउनु भएका उहाँ आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकिएको र पीडा सहेर बस्नु परेको दुःखेसो पोखीन् । उनको अनुहारमा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन सकेको छैन । काकाकाकीको आर्थिक अवस्था समेत कमजोर छ । बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै जाँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

काम गर्न नसक्ने अवस्था भएकाले जीविकाका लागि सहयोग माग्न उनी मङ्गलबार मेचीनगर नगरपालिकाकाप्रमुख बिमल आचार्यलाई भेट्न कार्यालय पुगेकी थिइन् । आचार्यले नगरपालिकाले केही सहयोग गर्ने आश्वासन दिए । नगरका प्रमुखलाई भेटाउन सहयोग पुर्याएकी स्थानीय सामाजिक कार्यकर्ता निर्मला भण्डारीले शारीरिक अशक्त भएको हुँदा विष्णुमायालाई अपाङ्गता परिचयपत्र बनाउन सकेमा सामाजिक भत्ता पाएर जीविका चलाउन सहज हुने बताईन् ।

अपाङ्गता प्रमाणपत्रका लागि पहल गरिदिन उनले नगरपालिकाका प्रमुख आचार्यलाई अनुरोध गरे । उपचारका लागि निःशुल्क व्यवस्था हुनसके नयाँ जीवन पाउने उनले बताए ।

दृष्टिविहीन अनलाइन शिक्षाबाट वञ्चित

झापामा रहेका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट वञ्चित भएका छन् । संवाद समूहले मङ्गलबार विर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताए ।

जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड– १९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले बताए ।

सडकपेटीमा गीत सुनाएर जीवन निर्वाह गर्दै आएका दृष्टिविहीन र अपाङ्गता भएकाले उत्पादन गरेको फिनेल, हार्पिक, अगरबत्ती, कुचोजस्ता घरायसी सामग्री निषेधाज्ञाका कारण बिक्री गर्न नपाउँदा हाल भोकभोकैपर्ने अवस्था आएको कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सिर्जना बरालले बताए। -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।