ताजा अपडेट »

जहाजमा यात्रा गर्नेहरुको संख्या बढ्दो छ : नि.महाप्रबन्धक ठाकुर

सोमबार, २५ साउन २०७८, २० : १४
18 Shares

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण अझैपनि सम्पन्न भएको छैन । बहुप्रतिक्षित अन्तराष्ट्रिय विमानस्थल निर्माण समयावधी नाघेपछि पनि पटक–पटक म्याद थपिँदै आएको छ । गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरण गृहकार्यमा जुटेको छ । पछिल्लो समय परीक्षण उडानको तयारी भनेर सरकारी समाचार स्रोतले भनेतापनि यसका लागि केही समय लाग्ने देखिन्छ ।

अन्तराष्ट्रिय विमान स्थल निर्माण र उडान हुने विषयले चौतर्फी ध्यान अन्तराष्ट्रिय विमान स्थल र उडानमा केन्द्रित छ । तर, वर्षौदेखि सोही विमान स्थलबाट घरेलु उडान भइरहेको र त्यसको हालको अवस्था बारे भने चिन्ता र चासो न्यून छ । अन्तराष्ट्रिय विमानस्थलको सम्पन्नता र उडानको प्रतिक्षासँगै चर्चा भइरहेको अवस्थामा घरेलु उडानको अवस्था र उडानबारे गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक प्रेमनाथ ठाकुरसँग ग्लोबल आवाजका लागि गरिएको कुराकानी :

परीक्षण उडानको तयारी अन्तिम चरणमा भनिएको छ । निर्माणाधिन अन्तराष्ट्रिय विमान स्थलको अवस्था कस्तो छ ?
–निर्माण कार्य जारी छ । पूर्ण रुपमा निर्माण सम्पन्न हुन त अलि समय लाग्ला । तर, परीक्षण उडानका लागि पनि अझै केहि समय लाग्छ । निर्माण सम्पन्न भएतापनि नियमित उडानका लागि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्दछ । त्यसको लागि समय अवश्यनै लाग्छ । परीक्षण उडानका लागि विभिन्न प्रक्रिया र तयारी आवश्यक हुन्छ । परीक्षण मात्रै गरौं भन्ने हो भने त आन्तररिक उडानका संरचनाको सहारामा पनि हुन्छ । तर, नयाँ तथा अन्तराष्ट्रिय स्तरको रन वे, टावर र स्थलबाट उडान गर्नका लागि विशेष निर्माण, तयारी र प्रक्रिया लाग्छ । जुन तुरुन्तै गर्न सजिलो छैन ।

चर्चा अन्तराष्ट्रिय स्तरको भइरहँदा आन्तरिक विमानस्थलको अवस्था कस्तो छ ?
–नेपाल नागरिक उड्डयन प्राधिकरण, सरकार, सरोकारवाला सबैको ध्यान अन्तराष्ट्रिय विमान स्लथल र उडानतर्फ केन्द्रित रहेको छ । जसले गर्दा आन्तरिकको अवस्था र उडानका विषयहरु भने ओझेलमा परेका छन् । नयाँ निर्माण भइरहँदा पुरानो संरचना र अवस्था बारे चासो र सक्रियता भने देखिएको छैन । जसले गर्दा पुरानो संरचना जिर्ण बन्नुका साथै स्तरोन्नती भएको छैन ।

अन्तराष्ट्रिय स्तरको विमान स्थल निर्माणका संरचना हुँदा सुरक्षा चूनौती पनि छ । विभिन्न स्थानबाट आएका मजदूर र निर्माणमा खटिने साधनका कारण पनि सुरक्षा चूनौती छ । घरेलु विमान स्थल र संरचनाको अवस्था भन्नुपर्दा धेरै मर्मत, सुधार र स्तरोन्नती गर्नुपर्ने छ । अझै अन्तराष्ट्रिय स्तरको विमान स्थल बनिरहँदा त्यसैसँग जोडिएको घरेलु स्थललाई पनि सोही अनुसारको नबनाइने हो भने त्यसले स्थानीय, राष्ट्रियसँगै अन्तराष्ट्रिय स्तरमा पनि गलत सन्देश जानेछ । तसर्थ घरेलु विमान स्थलमा पनि विशेष ध्यान दिन आवश्यक छ ।

घरेलु विमानस्थलका संरचना र अवस्थामा सुधार गर्नुपर्ने छ भन्नुभयो । के-कस्ता समस्या तथा कमजोरीहरु रहेका छन् ?
–धेरै समस्याहरु र केही कमजोरीहरु छन् । पहिलो कुरा त पार्किङको समस्या छ । हेलिकप्टरका लागि हामी संग हेलिप्याड छैन । जम्मा ४ वटा विमान पार्किङ गर्ने पार्किङ स्थल छ । यहाँबाट अब भरतपुर र पोखराका लागि पनि उडान थपिएका छन् । पार्किङ स्थल थोरै भएको हुँदा भोलि समस्या हुन सक्छ । अहिलेनै हामीले मिलाएर ७ वटासम्म राख्ने गरेका छौं । यदि विस्तार गरिएन भने विमान पार्किङमा थप समस्या आउन सक्छ । त्यसैगरी जनशक्तिको पनि अभाव छ । अहिले विमान स्थलभित्र १६÷१७ जना मात्रै कर्मचारी छौं । उडान बढेका छन्, यात्रुको संख्या बढ्दो छ । तर, आवश्यकता अनुसारको कर्मचारीको कमी छ । त्यस्तै गाडी पार्किङ स्थल पनि सानो छ । यात्री, निजी र सार्वजनिक सवारी साधनका लागि पार्किङ क्षेत्र थोरै छ । विमान स्थलका कर्मचारीका लागि व्यवस्थित चमेना गृहको अभाव छ । यी समस्या लगाएत विमान स्थलमा मर्मत, सुधार र संरचनाको स्तरको आवश्कता छ ।

कोरोनाको समयमा यातायात क्षेत्र निकै प्रभावित भयो । हवाई यातायात र भैरहवा विमान स्थलमा के-कस्तो प्रभाव पर्यो?
–विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले विश्वकै अवस्थालाई असर गर्यो त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पनि परेको छ । तर, तुलनात्मक रुपमा अन्य यातायात भन्दा हवाई यातायातमा फरक छ । महामारीमा केहि समय बाहेक सडक यातायात जस्तो हवाई यातायात ठप्प रहेनन् । अर्कोतर्फ सडक यातायात जस्तो आन्तरिक उडानको समय लामो नहुँदा जोखिम पनि कम छ । यहाँबाट हुने उडानमा खासै कमी आएन । त्यसैगरी यात्रुहरुको संख्या बढ्दो छ । सडक यातायात नचल्दा वा चलेपनि र हाल बाढी पहिरोका कारण हुने अवरुद्धले गर्दा हवाई सवार गर्ने यात्रुहरुको संख्या बढ्दो छ ।

हाल कसरी उडान सञ्चालन गर्नुभएको छ ?
–अहिले उच्च सतर्कताका साथ उडान सञ्चालन गरिरहेका छौं । यहाँबाट यति एअरलाइन्स, सौर्य एअरलाइन्स, श्री एअरलाइन्स, बुद्ध एअर का दैनिक १६÷१७ वटा उडान भइरहेका छन् । विमान स्थल प्रवेशमा स्वास्थ्य सावधानी अपनाएका छौं । त्यसैगरी विमान स्थलभित्र सेनिटाइज र मास्क अनिवार्य गरेका छौं । एअरलाइनहरुले पनि फेसशिल्डको व्यवस्था गर्दै आएका छन् ।

संक्रमणबाट बच्न र सावधानी अपनाउन हामीले विभिन्न कम्पनीका जाहाजको अनुगमन र निगरानी पनि गरेका छौं । उडान र यात्रुका लागि सरकार र प्राधिकरणबाट निर्देशिका पनि प्राप्त भएको छ । छोटा दूरी र समयमा यात्रा पूरा हुनेहुँदा पनि आन्तरिक उडान संक्रमण फैलने सम्भावना कम हुन्छ । त्यसैले हालसम्म हाम्रो उडानका यात्रीमा संक्रमण देखिएको छैन । यदि लक्षण देखिएमा विमान स्थल बाहिरबाटै फिर्ता गर्ने गरेका छौं ।

सिद्धार्थ गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने कम्पनीले भुक्तान गर्ने र समग्र विमान स्थलको आर्थिक अवस्था कस्तो छ ?
–यहाँबाट उडान भर्ने एअर कम्पनीहरुले तिनुपर्ने भुक्तान करिब नियमित र पूर्ण रुपमा नै छ, बाँकी वक्यौता लामो र धेरै छैन। विमान स्थलको वार्षिक आम्दानी ७/८ करोड देखिन्छ । नियमित रुपमा आम्दानी गर्ने विमान स्थलमा सरकार र प्राधिकरणको ध्यान भने कम छ । साथै यसको सञ्चालन र स्तरोन्नतीमा पनि सक्रियता कम छ ।

तपाइँ लगाएत विमानस्थलको पदाधिकारीहरुले के-कस्ता पहलहरु गर्नु भएको छ ?
–हामी हाम्रो जिम्मेवारी अनुसार नै विमान स्थल र उडानलाई व्यवस्थित र चुस्तदुस्त रुपमा सञ्चालन गर्ने प्रयास अनुसारनै काम गरेका छौं । चुहिने टर्मिनल मर्मत, बाहिर नयाँ सुरक्षा पोष्ट स्थापनासँगै विमान स्थलमा देखिएको संक्रमण र सुरक्षा चूनौतीलाई सामना गर्न उच्च सावधानी अपनाउँदै पार्कङ र क्यान्टिन निर्माणमा पनि अगाडि बढेका छौं । त्यसैगरी विमान स्थलमा रहेका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न कम्पनीका कर्मचारी लगाएतलाई खोपको व्यवस्था पनि गरेका छौं । करिब ८० प्रतिशतले खोप लगाउनु भएको छ । अन्यका लागि स्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासनमा पत्रचार गरेका छौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।