ताजा अपडेट »

खुलेआम बिक्री हुँदै प्राइभेट नम्बरको रिचार्ज

आइतबार, १७ साउन २०७८, ११ : ३०

काठमाडौं । पछिल्लो समय नेपालमा अननोन तथा प्राइभेट नम्बर (कल गर्दा रिसिभ गर्नेको मोबाइलमा नम्बर नदेखिने)  बाट आउने कलको आतंक चिन्ताजनक रुपमा बढेको छ । कल आउँछ, नम्बर देखिँदैन ।मेसेज आउँछ, तर कसले पठाएको यकिन हुँदैन । नम्बर नै नदेखिने अवस्थामा कल कसले गरेको वा मेसेज कसले पठाएको हो, ठेगान हुनसक्ने कुरा भएन । यस्ता नम्बरहरुबाट कल तथा मेसेज गरी सर्वसाधारणलाई डर, धम्की र अनेक किसिमका ब्ल्याकमेलिङ गर्ने घटनाहरू बढेको नेपाल प्रहरीको साइबर ब्यूरोले बताएको छ ।

यस्ता उजुरी बढ्न थालेपछि ब्यूरोले बेलाबखत सचेत रहन भन्दै सूचना समेत जारी गर्दै आएको छ । विभिन्न व्यक्तिको मोबाइल, ल्याण्डलाइनमा अननोन तथा प्राइभेट नम्बरबाट कल गर्दै नग्न तस्वीर माग्ने क्रम बढेको छ ।तपाईंको फेसबुक ह्याक भएको भन्दै साइबर क्राइम डिपार्टमेन्टको नामबाट अश्लील फोटो तथा भिडियो पठाउन लगाउने प्रवृत्ति समेत बढ्दै गएको छ । ब्यूरोले सचेत रहन र त्यस किसिमका कल आएको खण्डमा प्रहरीलाई जानकारी गराउन आग्रह त गर्छ ।तर त्यस किसिमको कल गर्ने व्यक्ति भने पहिचान गर्न सक्दैन । आखिर यस्ता अननोन अथवा प्राइभेट नम्बरबाट कसले अनि कसरी कल गरिरहेको हुनसक्छ ?

त्यसो त टेलिकम कम्पनीहरू स्वयम्‌ले समेत उच्च पदस्थ तथा भीआईपीहरुलाई यस्ता नम्बरहरु उपलब्ध गराउने चलन छ । यस्ता नम्बरहरू कति संख्यामा क-कसलाई वितरण गरिएका छन् भन्ने विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरण नै गुमराहमा छ । कुनै निश्चित मापदण्ड बेगर सञ्चार र गृह मन्त्रालयको आग्रहमा टेलिकम कम्पनीहरूले यस्ता नम्बरहरू वितरण गर्दै आएका छन् । यसरी वितरण गरिएकै नम्बर आपराधिक गतिविधिमा प्रयोग भए/नभएको यकिन प्रमाण त छैन । यद्यपि त्यसको सम्भावनालाई भने नकार्न सकिन्न । यसका साथै अननोन तथा प्राइभेट नम्बर सम्बन्धी अर्को डरलाग्दो पाटो छ ।

अनौठो कुरा त यो छ कि नेपालका केही अनलाइन बजारमार्फत नम्बर नदेखिने कल गर्न तथा म्यासेज पठाउन सकिने रिचार्ज खुलेयाम रुपमा बिक्री हुँदै आएको छ । त्यस्तो रिचार्जको नाम हो, ‘स्काइप क्रेडिट’ । यस्तो ‘क्रेडिट’ खरिद गर्दा तपाईंले म्यासेजिङ तथा भिडिओ कलिङका लागि परिचित माइक्रोसफ्टको स्काइप एपबाट नै सजिलै नम्बर नदेखिने गरी कल गर्न र मेसेज पठाउन सक्नुहुन्छ । स्काइप क्रेडिट खरिद गर्दा त्यसको भुक्तानी गर्ने माध्यमको चिन्ता पनि तपाईंले लिनुपर्दैन ।

ईसेवा, आईएमई पे लगायतका चल्तिका मोबाइल वालेट र भिषा कार्डमार्फत सजिलै अनलाइन भुक्तानी गर्न सकिने सुविधा छ । स्काइप क्रेडिटबाट अननोन तथा प्राइभेट कल गर्ने सब्सक्रिप्सनका साथै स्काइप नम्बर खरिद गर्न सकिन्छ ।

यस्तो क्रेडिटमार्फत गरिएको कल तथा पठाइएको मेसेज ट्रेस गर्ने पहुँच र प्रविधि सरकार तथा नेपाल प्रहरीसँग नभएको साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोयको दाबी छ । नेपालमा आउने ९० प्रतिशतभन्दा बढी अननोन तथा प्राइभेट नम्बरको कलमा यही विधि प्रयोग भइरहेको साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोयको विश्लेषण छ । ‘अन्य देशमा यसरी गरिएको कल समेत ट्रेसिङ गर्न सकिने संयन्त्र तथा प्रविधि हुन्छ,’ उनी भन्छन्, ‘तर नेपालमा भने यसरी गरिएको कल र पठाइएको मेसेज कहाँबाट आएको भन्ने कुरा पत्ता लगाउने सामर्थ्य न त टेलिकम कम्पनीहरुसँग छ न त प्रहरीसँग ।’ दराजमा डिजिटल कोड्स नेपाल नामक कम्पनीले १० अमेरिकी डलरको स्काइप क्रेडिट एक हजार ३४० रुपैयाँ तथा २५ डलरको स्काइप क्रेडिट तीन हजार २९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

स्काइप क्रेडिट बिक्री गर्ने अर्को कम्पनी पनि छ, जसको नाम हो नेपाल गेमर मल प्रालि । यो कम्पनीले १० डलरको स्काइप क्रेडिट एक हजार ३५० रुपैयाँमा तथा २५ डलरको स्काइप क्रेडिट तीन हजार ३०० रुपैयाँमा बेचिरहेको छ ।कम्पनीको विज्ञापनअनुसार १० डलरमा ४०० मिनेट तथा २५ डलरमा एक हजार मिनेटसम्म कल गर्न सकिन्छ । यस्तो कल विश्वभरका जुनसुकै मोबाइल तथा ल्यान्डलाइनमा गर्न सकिने उल्लेख छ । दुवै कम्पनीले स्काइप क्रेडिटमा भ्याट समेत जोड्ने गरेका छन् ।

यसको अर्थ नदेखिने नम्बरबाट कल वा म्यासेज आउँदा सरकारलाई पनि धेरथोर नाफा भएकै छ । भीओआईपी तथा शिप कलिङ नेपालमा गैरकानूनी छ । यस्तो गैरकानूनी व्यवसायमार्फत सरकारले भ्याट उठाउनु आफैंमा आश्चर्यको विषय हो ।देखाउनकै लागि मात्र भ्याट उठाइएको हो वा त्यो सरकारले नै प्राप्त गर्ने कर हो, त्यो भने स्पष्ट छैन । यस किसिमको सेवा अपराधिक कार्यमा प्रयोग भएको त शंका छैन ।

साथै दूरसञ्चार सेवाप्रदायकको आम्दानीमा नकारात्मक असर पर्नुका साथै राज्यले प्राप्त गर्ने राजस्व समेत गुम्दै गएको प्रष्ट छ । किन भने स्काइप नेपालको दूरसञ्चार कम्पनी होइन ।स्काइप क्रेडिट प्रयोग गरी कल तथा मेसेज गर्दा राज्यले ग्रामीण दूरसञ्चार कोष, रोयल्टी, दूरसञ्चार सेवा शुल्क लगायतका शुल्क, कर तथा राजस्व समेत गुमाइरहेको छ । स्काइप क्रेडिटमार्फत भइरहेको यस किसिमको गैरकानूनी कार्यलाई रोक्न सरकारले स्काइप एप नै बन्द गर्ने निर्णय त गर्न नसक्ला ।

तर खुलेयाम रुपमा अवैध तवरबाट बिक्री भइरहेको स्काइप क्रेडिट तथा त्यसको भुक्तानी भने अवश्य रोक्न सक्छ । यसका साथै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो क्रेडिटको प्रोक्सी समेत ब्लक गर्न सक्ने अनुसन्धानकर्ता रोय बताउँछन्। नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल यस्ता अननोन तथा प्राइभेट कलहरु स्थानीय मोबाइल तथा ल्यान्डलाइन नम्बरमा टर्मिनेट गराउनु गैरकानूनी भएको बताउँछन् । ‘यस्तो कल गैरकानूनी रहेको विषयमा दुई मत छैन,’ उनी भन्छन्, ‘सेवाप्रदायकसँग इन्टिग्रेट नगरी यस्तो कल टर्मिनेट गर्न नमिल्ने हो ।

त्यसैले यसमा सेवाप्रदायकहरुको समेत संलग्नता रहे/नरहेको समेत छानविन हुन्छ ।’ निश्चित उच्चपदस्थ तथा भीआईपीलाई मात्र नेपालमा प्राइभेट नम्बर राख्ने अधिकार भएको उल्लेख गर्दै अध्यक्ष खनालले यस किसिमको सेवा सहजै उपलब्ध हुँदा अपराधकर्ममा सहजै सहयोग पुग्ने बताउँछन् । त्यसो त यस्ता अननोन तथा प्राइभेट नम्बरहरू हत्या तथा अपरहण जस्ता जघन्य अपराधमा प्रयोग भएका कयौं उदाहरण छन् ।टेकपानाकाे सहयाेगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।