ताजा अपडेट »

राष्ट्रिय गौरवका आयोजनाको निगरानी ‘एक्सन रुम’बाट

मंगलबार, १४ साउन २०७६, १३ : ०६
8 Shares

साउन १४,
काठमाण्डौं । राष्ट्रिय गौरवका आयोजनाको अवलोकन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाटै हुने भएको छ ।

‘एक्सन रुम’ बाट राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन गर्न आईपी क्यामेरा जडान गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । क्यामरा जडान गरेपछि एक्सन रुम सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । ‘एक्सन रुम’ कार्यान्वयनमा आएपछि विकास आयोजनालाई थप तीव्रताका साथ अघि बढाउन सकिने सरकारले जनाएको छ । राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये ७ वटामा आईपी अनुगमन प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये बाँकी तीनवटामा सो प्रणाली जडान कार्य सम्पन्न भइसके पनि नेटवर्किङ समस्याका कारण सञ्चालनमा आउन सकेको छैन । ती आयोजनामध्ये राष्ट्रपति चुरे संरक्षण आयोजनामा सो प्रणाली अझै जडान हुन सकेको छैन । ‘एक्सन रुम’ सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ। यसअघि प्रधानमन्त्री ओलीले जेठ १५ गते सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद गरी ‘एक्सन रुम’ उद्घाटन  गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा छ, सिक्टा सिँचाइ आयोजनामा चार, रानी जमरा कुलरिया सिँचाइ आयोजनामा तीन, हुलाकी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गमा एक-एकवटा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचवटा ‘आईपी क्यामेरा’ जडान गरिसकिएको छ । त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सात, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा तीन, मेलम्ची खानेपानी आयोजनामा दुई, काठमाडौँ-तराई दु्रतमार्ग आयोजनामा एउटा क्यामेरा जडान गरिएको हो ।

राष्ट्रिय गौरवका हरेक आयोजनामा ६/६ वटा गरी कुल ६६ वटा क्यामेरा जडान गर्नुपर्नेमा अहिलेसम्म ३३ वटा जडान गरिसकिएको छ । क्यामेरा जडान गरिएको आयोजना सम्पन्न भएको अवस्थामा वा आयोजनाको तोकिएको स्थानको काम सम्पन्न भइसकेपछि जडान गरिएका क्यामेरा आवश्यक ठाउँमा स्थानान्तरण गरी अनुगमनको काम गर्न सकिने छ । ‘एक्सन रुम’मा रहेका क्यामेराको नेटवर्किङ मुख्यमन्त्री कार्यालय र आयोजना स्थलमा रहेको क्यामेरासँग नेटवर्किङ गरेर मुख्यमन्त्रीसँग भिडियो संवाद र आयोजना स्थलको अनुगमन गर्ने गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार ‘एक्सन रुममा तीन–तीनवटा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक स्पिकर जडान गरिने छ । त्यस्तै प्रदेश मुख्यमन्त्रीको कार्यालयमा निर्माण गरिने ‘भिडियो कन्फरेन्स रुम’मा एक÷एकवटा टेलिभिजन, क्यामेरा, माइक र डाटा ट्रान्सफर जडान गरिने छ । कुल चार करोड ४८ लाख रुपियाँको लागतमा ‘एक्सन रुम’ निर्माण गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।