ताजा अपडेट »

फाईभ जी इन्टरनेटका बेफाईदाहरु

सोमबार, १३ साउन २०७६, ११ : ०२
8 Shares

फाइभजी इन्टरनेट अहिले प्रविधि जगत्मा चर्चा र चासोको विषय बनेको छ । चीन, अमेरिका, दक्षिण कोरियालगायत केही देशमा त यसको आंशिक प्रयोग शुरू भइसकेको छ । गत शुक्रवार मात्र चिनियाँ कम्पनी हुवावेईले शन्चन शहरमा फाइभजी फोनको व्यावसायिक प्रयोग थालेको छ । 

विश्वभर नै फाइभजी इन्टरनेट सेवा विस्तारका प्रयास हुँदै गर्दा यसले सम्बन्धित मुलुकको राष्ट्रिय सुरक्षा र सामाजिक जनजीवनमा पार्ने असरबारे पनि बहस हुन थालेको छ । फाइभजीको प्रयोग गर्दा प्रयोगकर्ताले चाहिँ कस्तो समस्या बेहोर्नुपर्ला त ? यहाँ तिनै विषयमा चर्चा गरिएको छ :

१. महँगा स्मार्टफोन
अहिले बजारमा उपलब्ध फाइजभी स्मार्टफोनको खरीद तुलनात्मक रूपमा निकै महँगो पर्छ । यसमा प्रयोग गरिने विशेष किसिमको मोबाइल चिप्सका कारण मूल्य आकाशिएको हो । साथै यसका लागि आवश्यक अन्य केही फिचर्सले पनि यसको मूल्य बढाएको छ । यसले पनि फाइभजी स्मार्टफोन किन्न सर्वसाधारण प्रयोगकर्तालाई मुश्किल पर्छ । यस्तोमा केही स्मार्टफोन निर्माताले सस्तो फाइभजी फोन ल्याउने तयारी पनि गरिरहेका छन् । यद्यपि सबैले प्रयोग गर्न सक्ने स्मार्टफोन आउन अझै केही समय लाग्ने देखिएको छ ।

२. महँगो शुल्क
फाइभजी चल्न सक्ने स्मार्टफोन मात्र नभई फाइभजी इन्टरनेटको शुल्क पनि महँगो पर्ने अनुमान गरिएको छ । अहिले चलाइरहेको इन्टरनेटको तुलनामा फाइभजी इन्टरनेट महँगो भएमा यो धेरैको पहुँचमा हुनेछैन । 

३. ब्याट्री खपत
फाइभजी इन्टरनेट प्रयोगको अर्को समस्या ब्याट्रीको खपतमा पनि हुनेछ । फाइभजीले फोरजीको तुलनामा बढी चार्ज खपत गर्छ, जसकारण स्मार्टफोनमा ब्याट्री नटिक्ने समस्या आउन सक्छ । किनकि विभिन्न स्मार्टफोनमा गरिएको अध्ययनको क्रममा फाइभजीले ब्याट्री खपत बढी गर्ने गरेको पाइएको थियो ।

४. छिट्टै स्मार्टफोन तात्ने
वैज्ञानिकहरूले गरेको एक अनुसन्धानमा फाइभजीको प्रयोगले मोबाइल धेरै तात्ने पाइएको थियो । फोरजीको तुलनामा फाइभजी इन्टरनेटको सिग्नलको कारण यस्तो समस्या देखिएको हो । केही कम्पनीहरूले हाई–फ्रिक्वेन्सी एमवेब स्पेक्ट्रमको प्रयोग गर्ने गरेका छन् । यसले स्मार्टफोन अत्यधिक तात्ने समस्या आउन सक्छ ।

५. पूर्ण विकास हुनै बाँकी
विकसित र प्रविधिमा अगाडि देखिएका देशमा अहिले फाइभजीको विकास तथा विस्तार तीव्ररूपमा भइरहेको छ । तर विश्वव्यापी रूपमा यसका पूर्वाधार भने तयार भइसकेका छैनन् । फाइभजीको परीक्षण शुरू भएकै मुलुकमा पनि पूर्णरूपमा यसका पूर्वाधार बनिसकेका छैनन् । नेपालको सन्दर्भमा अहिले फोरजी नै देशभर पुग्न सकेको छैन । अहिले भएका टेलिकम पूर्वाधार फाइभजी चलाउने क्षमताका पनि छैनन् । त्यसैले फाइभजी इन्टरनेट प्रयोग गर्न हामीले अझै केही वर्ष कुर्नुपर्ने हुन्छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।