ताजा अपडेट »

बुटवलको हिलपार्कमा अर्ब बढी लगानीमा ‘बिगबुद्ध’

बुधबार, २३ असार २०७८, १७ : ३८
6 Shares

बुटवल । बुटवल स्थित हिलपार्कमा बिगबुद्ध पार्क निर्माण हुने भएको छ । बुटवलको हिल स्टेशनका रुपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम सुरु भएको छ। बुटवल नगरको पूर्वी तथा उत्तर पहाडी भागको उचो स्थानमा लुम्बिनी परिपथसंग जोडिने गरि हिलपार्क परिसरमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निमार्ण गर्ने योजना अगाडि सारिएको थियो ।

सोही योजनालाई कार्यान्वयन गर्ने क्रममा उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरि अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको छ ।डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिलागरेर अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको काम अगाडि बढेको छ । यो संगै बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने ड्रिम प्रोजेक्टको निर्माणकार्य अघि बढेको छ ।

बुटवलले बनाएको पाँच वर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो । योजनाअनुरुप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो । यो स्वीकृत भइसकेको छ । आयोजना स्थलमा माटो परीक्षण, सर्भे र डीपीआरका काम पूरा भइसकेका छन् । अहिले इआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

कन्सल्टेन्सीका अनुसार बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरुकासमेत मूर्ति बनाएर ख्याती कमाएका मुर्तीकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसारको प्रतिमा निर्माण गर्न डीपीआर बनाइएको हो । बुद्धका प्रतिमा कहीँ पनि आफुखुशी निर्माण गर्न र राख्न पाइँदैन । उपमहानगरले भने बौद्ध मान्यता अनुसारका सबै प्रक्रिया पूरा गरेर परिपक्व काम गरेको छ ।

बुद्धप्रतिमाको आयोजनामा संघीय सरकार र प्रदेश सरकारले समेत लगानी गर्न चासो देखाएको आफूहरुको एउटा अर्को ‘ड्रिम प्रोजेक्ट’ सफल हुने चरणमा प्रवेश गरेको प्रमुख सुवेदीले बताए । आयोजनाको स्रोत सुनिश्चितता भने ईआईए सकिएपछि हुनेछ । ईआईएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंलाई जिम्मेवारी दिएको छ । यो संस्थाले आगामी असोज १५ गतेसम्मको म्याद पाएको छ । इआइएका लागि बुटवलमा आएका कम्पनीका ईआईए एक्सपर्ट लिलाराज पौडेलले समयसीमा भित्रै इआईएको काम सक्ने लक्ष्यसहित आफूहरु ‘फिल्ड’मा खटिइरहेको बताए ।

उक्त ईआईए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेपछि जग्गा प्राप्ती र स्रोत सुनिश्चितताका कामहरु हुने नगरप्रमुख सुवेदीको भनाई छ । पार्क निर्माणस्थल चुरे क्षेत्रमा पर्ने भएकाले जग्गा प्राप्तीका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र मन मन्त्रालयबाट स्वीकृति पाउन पर्ने हुन्छ । यसका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।

विस्तृत परियोजना प्रतिवेदनका अनुसार बुटवलबाट ४२ किलोमिटर दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध प्रतिमासहितको पार्क बनाउने योजना बनाइएको थियो । प्रतिवेदनका अनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिने छ । पहिलो ब्लकमा बुद्धप्रतिमा बन्ने र त्यो आकर्षक हुने उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । इन्जिनियर श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियारसहितको टोलीले आयोजना स्थलको प्राविधिक निगरानी गरेका छन् ।

करिब आठ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाईको शाक्यमुनी बुद्धको प्रतिमा बनाईने छ । बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका देखिनेछन् । बुद्धप्रतिमाको सतह तीन मिलिमिटर मोटाइ रहेको तामाले बनाइने छ । अनुहारमा सुनको जलप लगाइने छ । बाँकी शरिरमा सुनौलो ‘इपोक्सी’ अर्थात् नखुइलिने रंग लगाइने छ ।

सुनौलो रङमा पोतिएका शान्त मुद्राका बुद्ध करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको मायादेवी मन्दिरतर्फ फर्किएर घोत्लिइरहेका हुनेछन् । प्रतिवेदन अनुसार बुद्धमुर्तिको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ । पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइने छ । यसको अनुमानित लागत तीन करोड ६७ लाख ३४ हजार आठ सय सात रुपैयाँ रहेको छ ।

पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौंथोमा एक तले शौचालय बनाइने छ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार एक सय ८८ रुपैयाँ रहेको छ ।

यीबाहेक पार्कमा टेलिकम्युनिकेशन, सरसफाई तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च चार करोड ८९ लाख एक हजार तीन सय ४७ रुपैयाँ रहेको छ । बुद्धपार्कको निर्माण सम्पन्न भएपछि दैनिक नियमित रुपमा हुने पुजाआजा, ध्यान तथा ममेडिटेशनको साथै अवलोकनका लागि आउने आगन्तुकहरुसमेत गरी दैनिक रुपमा करिब तीत हजार भन्दा धेरै मानिसहरुको आवतजावत हुने उपमहानगरको आंकलन छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।