ताजा अपडेट »

बाढीले गरिबलाई मात्रै बगाउँछ !

विहीबार, ०३ असार २०७८, १३ : ४२
14 Shares

जब-जब वर्षा सुरु हुन्छ
तपाइँको मनपर्ने मौसम
तपाइँलाई त मनसुन आएजस्तो लाग्छ
तर, मान्यज्यू,
हामीलाई त हाम्रो काल आए जस्तो लाग्छ
उता आकाश रोइरहँदा,
यता आँसु चाहिँ हाम्रा खसी रहन्छन्,

माननीय ज्यू,
हेर्नुस त
यतिबेला हाम्रो आँगनको बाटो भएर,
तपाइँको खोला दौडिरहेको छ
घरि उप्काउँछ आँगनका ढुङ्गाहरू
घरी उप्काउँछ मनिखाँबोहरु
अनि उप्काँइरहन्छ हाम्रा सपनाहरु !

माननीय ज्यू,
अस्तिसम्म यही खोला भरी
तपाइँका डोजर टिपर र ट्याक्टरहरु दौडीरहन्थे,
आज त्यही खोलामा
हाम्रा गाउँका जस्तापाताहरु बगिरहेका छन्
अघिल्लो साल पाँच वर्षे छोरालाई
यही खोलाले निल्यो,
परार साल पियारालाई पहिरोले बेपत्ता पार्यो
यसैगरी थुप्रैलाई बगाएको छ
अर्थात्
थुप्रै सपनाहरु बगाएको छ यो खोलाले
यो बाढीले सधै हाम्रै जातका
अर्थात्
गरिबलाई मात्रै किन बगाउँछ ?

माननीय ज्यू,
अस्ति एक ठाउँमा
‘खोला कुरेर बसेपछि बगाउँछ भन्नुभएछ’
हामी त खोलाभन्दा टाढा थियौं
हजुरका डोजरहरु हाम्रा गाउँतिर फर्केर
खोलो खोस्रेपछि
हाम्रो घर नजिकै खोला आइपुगेको हो ।

माननीय ज्यू
दिउँसो बाढी आयो भने त
भागेर बाचौँला,
मध्यरातिबाढीले बितण्डा मच्चायो भने
हामीलाई माफ गर्नुस् है
हजुरलाई अर्कोपटक भोट हाल्न पाउँदैनौ हामीले

पोहोर सत्यवतीले निलेका मान्छेका
अस्थिपन्जरहरु अझै भेटिएका छैनन्
यसपाला मस्यार्ङ्दी र ईन्द्रावतीले
निलेका निर्दोषहरुको निगाहा
कसले भर्छ सरकार !
तपाइँलाई त पोल्दैन होला यी समाचारले
किनकी
त्यहाँ तपाइँका आफन्तीहरु पर्दैनन् सायद
तर माननीय ज्यू,
हामीलाई भत-भत पोल्छ किनकी
यी बाढीले बगाएकाहरु,
सबै हाम्रा जात
अर्थात गरिबहरु हुन !

मान्यज्यू,
यो महाविपत्तीको पनि,
वर्ग हुदोँ रहेछ क्यारे
जहिल्यै गरिबहरुलाई
अर्थात् हामीलाई
मात्रै दुख दिईरहन्छ ।
तपाईं ढुक्क हुनुस् माननीय ज्यू
बाँचीहाल्यौँ भने सपनाहरु मारेर पनि
अर्कोसाल फेरि भोट तपाइँलाई नै हाल्छौ ।

https://www.globalaawaj.com/archives/108764
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।