ताजा अपडेट »

भेरी अस्पतालमा डाक्टर र नर्स कुट्नेमाथि ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता

शुक्रबार, १४ जेठ २०७८, १७ : ५८
12 Shares

बाँके । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । 

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए । आक्रमणमा परि डा। चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरै घाइते भएका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले जानकारी दिए ।  घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ ।

सुरक्षाको ‘ग्यारेन्टी’पछि काममा फर्किए स्वास्थ्यकर्मी 

अहिले चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । प्रहरीले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि आन्दोलित सबै चिकित्सक र नर्सहरु काममा फर्किएको अस्पताल प्रशासनले जनाएको छ ।  साथै, अस्पतालमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टिम परिचालन गरिएको डीआईजी धानुकले बताए । चिकित्सक र नर्सहरुको सुरक्षार्थ सो टोली खटाइएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।