ताजा अपडेट »

भेरी अस्पतालमा आक्रमण : भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

शुक्रबार, १४ जेठ २०७८, ०७ : २१
2 Shares

बुटवल । कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो ।

त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने, ‘धन्न हाम फालेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आक्रमणकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।

एक्कासि आक्रमण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।

एकाएक तोडफोड र आक्रमण हुन थालेपछि ज्यान जोगाउन झ्यालबाट हाम फालेको स्टाफ नर्स अस्मिता गुरुङले बताइन् । ‘सिनेमामा गुन्डाले जस्तै आतंक फैलाए, झ्यालबाट हाम नफालेको भए हामी त्यहीँ मारिन्थ्यौँ, उनीहरूले ठुल्ठूला लाठा बोकेका थिए,’ उनले भनिन् । ज्यान जोखिममा राखेर बिरामी हेरिरहेको वेला भएको उद्दण्ड व्यवहारले काम गर्ने जाँगर मरेको उनले बताइन् ।

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् । ‘घटना प्रत्यक्ष देखेका स्टाफ नर्सहरू वार्डमा जान मानिरहेका छैनन्,’ उनले भनिन्, ‘डरले कामिरहेकाले काम गर्न सक्ने मनस्थितिमा छैनन् स्टाफ नर्स । सुरक्षाको ग्यारेन्टी नभए काम गर्न गाह्रो छ ।’

तोडफोड र आक्रमण भएको केही समयभित्रै अस्पतालमा थप दुईजना बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आक्रमणपछि अस्पताल अस्तव्यस्त भयो, स्वास्थ्यकर्मी तितरबितर भए । यो भयानक दृश्य देखेर केही गम्भीर बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । नयापत्रीकामा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।