५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

काठमाडाैं । बजेट आउन १० दिन मात्रै बाँकी हुँदा पनि सरकारले अझै बजेट अधिवेशन आह्वान गरेको छैन । संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

Advertisement

तर वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उनकै नेतृत्वमा बनेको अल्पमतको सरकारले बजेटका लागि अझै पूर्व तयारी अगाडि बढाएको छैन ।

सरकारले वैशाख ३० गतेभित्र प्रि–बजेट माथिको छलफल सक्नुपर्ने थियो । तर संसदमा विश्वासको मत लिने प्रक्रिया र त्यसपछि नयाँ सरकार बनाउने अलमलले छलफल हुन नसकेपछि सरकारले संसदबाटै बजेट ल्याउँछ कि अध्यादेशबाट ल्याउँछ भन्ने चासोको विषय बन्न पुगेको छ ।

संसद चालू रहेको अवस्थामा सरकारले संसदबाटै बजेट ल्याउनुपर्ने हुन्छ । तर अल्पमतको सरकारले ल्याउने बजेट पारित हुने सम्भावना कम छ । बजेट पारित हुनको लागि संसदमा बहुमत चाहिन्छ । तर अहिले सरकारसँग १२१ सांसद मात्र छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले जसपाको अध्यक्ष महन्त ठाकुर नेतृत्वको समूहलाई साथ लिएर पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी बजेटअघि नै विश्वासको मत लिएर बजेट ल्याउने तयारी गरे पनि जसपाको निर्णयको कारण पछि हटेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि बजेट ल्याउनको लागि संसद जीवितै रहेको बताएका थिए । तर बजेट अधिवशेन नबोलाउँदा जेठ १५ गते संसदबाटै बजेट आउनेमा प्रतिपक्षी दलहरूले आशंका व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बजेट ल्याउनुअघि सरकारको नीति तथा कार्यक्रम आउनुपर्नेमा सरकारले संविधान अनुसार काम नगरेको टिप्पणी गरे ।

‘संसद जीवित छ । तर सदनको आँखा छलेर अध्यादेशबाट बजेट ल्याउने कोसिस भइरहेको सुनेको छु, त्यसो हो भने स्वीकार्य हुने छैन,’ उनले भने । अधिवेशन बोलाएरै संसदबाट बजेट ल्याउनु पर्नेमा जोड दिँदै उनले भने, ‘अल्पमतको सरकारले संसद विघटन गर्ने परिकल्पना गर्न सकिँदैन । तर प्रधानमन्त्री संसद विघटन गर्ने नै मुडमा रहनुभएको हामीले पाएका छौं । कतै पुस ५ गते दोहोरिन्छ कि भन्ने प्रशस्तै आशंका छ ।’

हुन त सरकार बजेटको सम्पूर्ण तयारी पूरा गरेर तयारी अवस्थामा बसेको छ । तर बजेट अधिवशेन आह्वान गर्ने कि नगर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले अझै निर्णय गर्न सकेका छैनन् ।

नेकपा एमालेका नेता सुभाष नेम्वाङले सरकारले प्रि–बजेट ल्याउन चाहे पनि संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिँदा प्रभावित भएको बताए । उनी भन्छन्, ‘बजेट त जेठ १५ गते संसदबाटै आउँछ । संविधानअनुसार त बजेट आइहाल्छ नि !’बजेट अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री ओलीले गृहकार्य गरिरहेका बताउँदै उनले यसबारे छिट्टै निर्णय आउने बताए ।

नेपाली कांग्रेसका सांसद राजन केसीले सरकार प्रि–बजेटमाथि छलफल नगर्ने र नीति तथा कार्यक्रम नल्याउने बाटोमा लागेर संविधानको उल्लंघन गर्न लागि परेको आरोप लगाए । सरकार समयमै बजेट ल्याउने तयारीबाट पछि हट्दै अहिलेको संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै उनले भने, ‘संविधानअनुसार त जेठ १५ गतेमै बजेट ल्याउनुपर्छ तर सरकारको प्रवृत्ति हेर्दा संविधान नमान्ने र संसदको अवहेलना गर्ने बाटोमा लागेको छ ।’

ओलीले संसदमा विश्वासको मत गुमाएपछि संविधानको धारा ७६(३) बमोजिम ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २९ गते पुनः ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । १ महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(५) बमोजिम अगाडि बढ्ने अवस्था छ । उक्त धाराअनुसार संसदमा कुनै पनि दलले सरकार गठन गर्न नसक्ने परिस्थितिमा यही सरकारले संसद विघटन गरेर आम निर्वाचनको घोषणा गर्नेछ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस