ताजा अपडेट »

यो कस्तो विडम्बना !

सोमबार, ०३ जेठ २०७८, २० : ०१
60 Shares

आज म छट्पटिरहेको छु,आत्तिरहेको छु,कता–कता मनमा डर पैदा भइरहेको छ । कतै मैले देखेको त्यो भयानक सपना यथार्थमा बदलिने त हैन?यो कस्तो दसा आइलाग्यो। प्रभु,मान्छे–मान्छे बीचमै दूरि कायम गर्नुपर्ने,कस्तो रोग भित्रियो मेरो देशमा जसलाई न रोक्न सकियो,न त छेक्न नै सकियो। सुनेको थिए भगवानले समस्या दिएपछि त्यसको समाधान पनि अवस्य दिन्छन् । तर ,यो कस्तो विडम्बना आज २ वर्ष हुन लाग्दा सम्मपनि समस्याको समाधान खोज्न सकिएको छैन। हरेक दिन नेपाली मृत्युुसँग लडिरहेका छन् । कोहि विजेता त कोहि कालसँगै काललोक पुगेका छन्। मनमा दुःख राखेर भन्नुपर्छ ,मेरो देश अहिले तड्पिरहेको छ,नेपाली जनता रोइरहेका छन् । कारण त्यही कोरोना ।

यो कस्तो रोग आइलाग्यो प्रभु आफ्नै आमा–बाबाको अन्तिम दाहसंस्कार गर्नबाट पनि बञ्चित हुनपर्ने,छुनै नहुने । छोयो भने आफू पनि त्यही स्थितिमा पुग्न सकिने,कस्तो रोग आयो मेरो देशमा जसको ओखती भनेकै एकान्त बन्यो। मान्छेबाट टाढा बसे बाँच्न सकिने नजिक भए भन्न नसकिने,यो कस्तो विडम्बना ! येस्तै सोच्दा सोँच्दै म खाटमा पल्टिएँ। फोनमा घण्टी बज्यो, १ घन्टिमै फोन उठाएँ । गाउँदेखि आमाले गर्नु भएको रहेछ,‘बाबू सञ्चै छौ ?’भन्नुभयो हजुर ठिक छु आमा अनि तपाईं आरामै हुनुन्छ भन्दै उत्तरसँगै प्रस्न थपेँ । आमाले जवाफमा भन्नभयो ‘बाबु तेरो बुवा अनि म कोरोना सन्क्रमित भएका छौं,कसरी यो सब हुन पुग्यो केही थाहा छैन ,मनमा डर लागिरहेको छ । बाबु कतै अरु मान्छे जस्तै म त मर्दिन नि?’

मैले सरल तवरले नै भने ‘आमा चिन्ता नगर्नु यो रोग सानो हो,रुघाखोकी लागेको होला भोलिसम्म ठिक हुन्छ बरु बुवालाई फोन दिनुस् त सानो काम थियो ।’ बुवा बोल्दै भन्नुभयो ‘ बाबु म मर्छु होला तिमी आफ्नो ख्याल राख है । अनि थप्दै भन्नुभयो ‘एउटा कैदीलाई पनि फासिको सजाय सुनाउँदै गर्दा उसको अन्तिम इच्छा सोध्ने गरिन्छ म त तिम्रो बुवा हुँ । मेरो एउटा इच्छा छ पूरा गर्दिनु है,देशभरको परिस्थिति सामान्य छैन ,मरेको शरिरलाइ पनि दागबत्ती दिन नपाउने सरकारले आह्वान गरेको छ । तर, छोरा यदि म मरिहाले भने जति जे भएपनि मेरो शरिरलाइ दागबत्ती दिन आउनु है छोरा।’

बुवाका कुरा सुनेपछि म रिसको झोँकमा बोले ‘पैसा चाहिएर कुरा गर्न खोजेको के–के सुनाउँछन् –सुनाउँछन् ह्याँ म फोन राखेँ ?’ बुवाले मधुर स्वरमा भन्नुभयो ‘हुन्छ बाबू म पैसा हाल्दिउँला । तँ आफ्नो ख्याल राख है के थाहा यो शब्द रहेपनि बोल्ने मान्छे नरहन सक्छु।’ म ब्यस्त छु भोलि फोन गर्छु भनेर फोन राखेँ । मलाइ एक प्रकारको रिस पलाएर आएको थियो एक्लै बरबराइ रहेको थिएँ,जाबो कोरोना त्यही रुघाखोकी त हो ठिक हुन्छ किन यति नाटक गर्नुपर्या होला ।’भन्दै ।

अर्को बिहान फोनमा घण्टी बज्यो ,बारम्बार बजेपछि फोन उठाएँ। आमाको नम्बर रहेछ चर्को स्वरमा ‘हेलो म ब्यस्त छु भन्दिएँ , फोन काट्दै गर्दा उताबाट हेलो आवाज आयो जुन आवाज न मेरो आमाको थियो न त मेरो बुवाको नै । म एकैसाथ दुई प्रश्न गरेँ ‘हजुर को हो अनि आमा खोइ?केही समय फोनमा मौनता छायो ,म हेलो–हेलो हेलो भन्दै कराउन थाले अनि उताबाट बिस्तारै सानो आवाज आयो,गएराति तपाइँको बुवा र आमाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अब तपाइँको बुवा–आमा यो संसारमा हुनुहुन्न आफूलाई सम्हाल्नु होला ।’ यत्ति भनेर उसले फोन राख्यो,को थियो थाहा भएन । तर, उसको कुराले मेरो मनमा धारिलो छुराले प्रहार गरेको जस्तो लायो।

मुटु रेट्ने गरि वचन बोले जस्तो लायो,म स्तब्ध भएँ । मेरा आँखाबाट आँसु झरेर जमिनमा तलाउ बनिरहेका थिए ,मन चसक्क पोलिरह्यो । गएरातिका कुरा सम्झेर आफूलाई पापी–बैगुनी नाम दिँदै थिएँ। आमा–बुबाको लागि केही गर्न त सकिन । तर, उहाको अन्तिम इच्छा अनि छोराको कर्तव्य पूरा गर्न गाउँ फर्कन खोजेँ । तर मलाइ रोक लगाइयो । आमा–बुवाको शरिरलाइ छुन नपाइने दागवत्ती दिन नपाउने भनेर मलाई एउटा बन्दीलाई जस्तै त्यो निर्णयप्रति बन्दी बनाइयो। खबर आयो,मेरो आमा–बुवाको लासलाई फौजीहरुले जलाइसकेका छन् । उता आमा–बुवाको लास जल्दै गर्दा यता मेरो मन जलेर खरानी भैसकेको थियो।

म कतिसम्म अभागि एउटा छोरा भएर छोरा भएको कर्तव्य पूरा गर्न सकिन । सायद संसारको सबैभन्दा अभागि मान्छे मध्य म नै अग्र स्थानमा पर्छु होला जस्तो लाग्यो। यत्तिकैमा खाटबाट लड्न पुगेछु,अनुहारभरी पसिना थियो । अनि मन भरी डर । रातिको २ बजेको थियो । घर फोन गर्न मन थियो,तर गरिन बिहानै गरौंला भने अनि त्यो रात निदाउन सकिन र बिहानै घर कुरा गरेर ‘सब ठिक छ बाबु’भन्ने खबर सुन्नासाथ मनमा डरको थोरै मात्रा घटे जस्तो लाग्यो। कोरोनाबाट आफूपनि बचौं ,अरुलाइ पनि बचाऔं । –(कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।