ताजा अपडेट »

अझै सहज भएन स्मार्ट लाइसेन्स, एकवर्ष कुर्न बाध्य सेवाग्राही

शुक्रबार, १० बैशाख २०७८, १३ : ५५
6 Shares

काठमाण्डौं । जोरपाटीका सङ्गम तामाङले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लिन निवेदन दिएको करिब १४ महिना बित्यो । उनी चार पटक यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्त कुनाको ६ नम्बरको वितरण शाखामा पुगेर फर्केको बताए । स्मार्ट लाइसेन्स पाउन हैरान खेप्नुपरेको उनले गुनासो पोखे।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न एक वर्ष बढी समय लगाउने गरेको पाइएको हो । स्मार्ट लाइसेन्स पाउन एक वर्षभन्दा बढी कुर्नुपर्ने बाध्यता भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले स्वीकार गरे। स्मार्ट कार्ड कम भएकाले प्रिन्ट नगरिएको उनले बताए। हामीले नयाँ कार्ड ल्याउन पहल थालेका छौं तीन महिनाभित्र नयाँ कार्ड ल्याउने लक्ष्य छ त्यसपछि समयमै लाइसेन्स वितरण गर्ने लक्ष्य राखेको उनले बताए ।

एक वर्षभन्दा बढीदेखि लाइसेन्स नपाएको भन्दै एकान्तकुना पुगेका सेवाग्राहीले यातायात व्यवस्था विभागका कर्मचारीसँग दुखेसो पोख्ने गरेका थिए । विभागले स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो तर यो कार्यन्वयन हुनसकेको छैन । सवारी चालकहरुले समेत लाइसेन्स नहुँदा ट्राफिक प्रहरीबाट अपमान र झन्झट भोग्नुपरेको बताएका छन् । सवारी चालक शंकर राईले भने, दिएको रसिद पनि सबै अक्षर मेटिएको छ, प्रहरीले पटक पटक चिट काट्ने गरेको गुनासो पोख्दै विभागले तत्काल उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गरे।

लिखित र ट्राइल परीक्षापास गरेका, नवीकरण गर्न दिइएका मध्ये एक वर्षदेखि करिब ५० हजारभन्दा बढीको लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको सो कार्यालयले जनाएको छ । तर केही पहुँचवालाले भने लाइसेन्स तत्काल प्रिन्ट गर्ने गरेको पाइएको छ । यस अघि विभागले ६० वटा मेसिनबाट मासिक २ लाख ५० हजार बढी लाइसेन्स छाप्ने मेसिन खरिद गरी तत्काल लाइसेन्स उपलब्ध गराउने जनाएको थियो । -छेटु शेर्पा/गोरखापत्र

रासस
लेखकको बारेमा
रासस