ताजा अपडेट »

नेपालले विश्वविजेता अंग्रेजलाई पराजित गरेको ऐतिहासिक दिन

मंगलबार, ०७ बैशाख २०७८, ११ : ०४
10 Shares

बुटवल । नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो-जितगढी किल्ला । वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो । बुटवल उप-महानगरपालिका-१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो ।

यो किल्लामा तत्कालिन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालिन अंग्रेजी फौजलाई परास्त गरेको थियो । त्यतिबेला अंग्रेज (इष्ट इण्डिया कम्पनी) सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ ।

विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा संक्षिप्त कार्यक्रमको आयोजना गरेको थियो । कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्दै वीर सहीदहरुको सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर संक्षिप्त कार्यक्रम गरिएको थियो । कोभिड-१९ को महामारीका कारणले यसपाली जितगढीमा सार्वजनिक समारोहको आयोजना नगरिएको उपमहानगरले जनाएको छ ।

जितगढीको संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजना किल्लालाई संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको छ । गुरुयोजना अनुरुपका काम अहिले धमाधम भइरहेका छन् । जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ । जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका हरु १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । साथै त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको छ ।

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली विरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरुयोजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ । नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) शुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरु तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगेपनि विवाद समाधान हुन सकेन । सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो ।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलकहरु र भारदारहरुले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । विग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो । सुरुका युद्धमा हारेको नेपालले वि.सं.१८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालित अंग्रेजलाई पराजित गर्यो ।

यो आजकै दिन हो । अमरसिंह थापा (साना) का नाती २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो र नेपालले जित्यो । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई वि.सं १८७२ वैशाख ७ मा विजय हासिल गरी विजय पताका फहराएको (आजैको दिन) थियो । बुटवल उपमहानगरले विजय भएको दिनको मिति यकिन गर्दै विजय उत्सव दिवस मनाउँदै आएको छ ।

को–को थिए कर्णेल उजीरसिंहसंगै ?
१) सानाकाजी अमर सिंह थापा, २) सरदार सूर्जे थापा, ३) लेप्टेन अम्बर अधिकारी, ४) कुम्भेदान वृषशुर थापा, ५) कुम्भेदान कृपासुर थापा, ६) जमदार भीमसेन देउजा, ७) जमादार सुरवीर बोहोरा, ८) हवल्दार रणसुर बानियाँ, ९) सिपाही हंसवीर अधिकारी, १०) थरघर नकुल बानियाँ, ११) समशेर राना मगर, १२) काजी वीरभञ्जन पाँडे र १३) जुठे बस्नेतलगायतका वीर नेपालीहरु घरेलु हतियार लिएर तत्कालिन अंग्रेज सेनासंग जाइलागेका थिए । जितगढीमा अहिले कर्णेल उजिरसिंह सहित यीनै १३ जना नेपाली वीर सपुतहरुको शालिक निर्माण
भएको छ ।

जितगढी नै पर्यटनको आधार क्षेत्र
जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकाले पर्यटकीय थलोका रुपमा विकास गर्नेगरि गुरुयोजना बनाएको छ । अहिले गुरुयोजना अनुरुपका काम भइरहेका छन् । जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइएको छ भने अरु संरचना क्रमश हटाइने छ ।

जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्बर्द्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर लागेको बताउँदै प्रमुख सुवेदीले जितगढी नै यसक्षेत्रको पर्यटनको र इतिहासको आधार क्षेत्र बन्ने दाबी गरे । ‘सारा संसारलाई जित्दै आएको तत्कालिन अंग्रेजले नेपालमा भने हार्नुपर्यो, कस्तो ठाउँ रहेछ त त्यो भन्दै अंग्रेजका कोही न कोही सन्तानहरु खोज्दै यहाँसम्म आउनेछन्’ प्रमुख सुवेदीले
भने–‘समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई सोही अनुरुप विकास गर्नुपर्ने छ ।’

किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवल उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिकहरु निर्माण भइरहेको उनले बताए । गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् । जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माणकार्य चलिरहेको र गुरुयोजना अनुरुपकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य रहेको उपप्रमुख एवम् अनुगमन समिति संयोजक गुमादेवी आचार्यको भनाइ छ । किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, पुरानो बुटवललाई सांस्कृति सहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना रहेको उपमहानगरका सहरी विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । जितगढी नजिकै देखि नुवाकोट गढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ भने तिनाउमा जलपर्यटनको योजना बनिरहेको छ ।

शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण
तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले आज जितगढी विजय उत्सव दिवसका रुपमा संक्षिप्त कार्यक्रम गर्दै मनाइएको छ । सम्पदा स्थल किल्ला परिसरमा स्वास्थ्य सुरक्षाको मापदण्डसहित संक्षिप्त कार्यक्रमका बीच दिवस मनाइएको हो । त्यसअवसरमा उपप्रमुख गुमादेवी आचार्य, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाली सेनाका रामचन्द्र शर्मालगायतले कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

त्यसअवसरमा सुरक्षा निकायका प्रमुखहरु र वडाअध्यक्षहरुको उपस्थिति थियो । संक्षिप्त कार्यक्रमको सहजिकरण उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले गरेका थिए ।

https://www.globalaawaj.com/archives/34394
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।