ताजा अपडेट »

पानीका लागि घण्टौं पैदल हिड्नु पर्ने छिल्लीकोट

शनिबार, ०७ चैत्र २०७७, ०९ : १८
20 Shares

दाङ । तुलसीपुर-१९ छिल्लीकोटमा गर्मी मौसम सुरु भएसँगै पानीको समस्या बढ्न थालेको छ । विगत केही वर्ष अघिदेखि खानेपानीको समस्या हुँदै आएकोले आन्तरिक पर्यटकहरुलाई समेत अप्ठ्यारो हुन थालेको हो । पर्यटकीय क्षेत्रमा मात्र नभइ गाउँमा पनि पानीको समस्या हुने गरेको स्थानीयहरुको भनाइ छ ।

पानी ल्याउन मात्रै करिब डेढ घण्टा पैदल हिड्नु पर्ने अवस्था रहेको स्थानीय परविर पुनले बताए । ‘हामीले पिउने पानी डोकाबाट ल्याउनु पर्छ, आन्तरिक पर्यटकको लागि पनि समस्या हुने भएको छ,’ उनले भने, ‘अझै दुई वर्षसम्म यस क्षेत्रमा पानीको समस्या हुन्छ । लिफ्ट सिंचाई अन्तर्गतको पानी सञ्चालन हुन अझै दुई वर्ष लाग्ने भएकोले गर्मी समयमा स्थानीय वासीसँगै यहाँ आउने पर्यटकहरुलाई पनि पानीको समस्या हुन्छ ।’ पछिल्लो समय छिल्लीकोटमा भ्युटावर बनेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुँदै गएको समेत उनको भनाइ छ ।

पछिल्लो समयमा यहाँ भौतिक संरचना निमार्ण भएसँगै आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको अर्का स्थानीय प्रेम वलीले बताए । तर, गर्मी समय सुरु भएसँगै आन्तरिक पर्यटकहरु पनि उक्त क्षेत्रमा पुग्नलाई उत्साहित देखिन्छन् । त्यस्तै तुलसीपुर १८ बिजौरी की सरिता चौधरी करिव ५ किलोमिटरको पैदल यात्रापछि छिल्लोकोटको पुगेको पताइन् । छिल्लीकोटमा अरु सबै भएता पनि पिउने पानीको समस्या रहेको बताइन् । यहाँ आउँदा पानी नै लिएर आउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । प्रकृतिको एउटा यस्तो वरदान हो छिल्लीकोट, जहाँ सतिदेवीको अंग पतन भएको इतिहासविद्हरुले बताउँछन् ।

दाङको माल अड्डा थियो, राजकाज छिल्लीकोटबाटै चल्थ्यो । औलो छल्न दाङका जमिनदार पनि छिल्लीमै पुग्थे । त्यस्तै छिल्लीकोट यस्तो भूमि हो, जहाँबाट भारतको तुलसीपुरमा गुडेको रेल देख्न सकिन्छ, दाङ र देउखुरीको प्रायः भू–भागको अवलोकन गर्न पनि सकिन्छ । १५/१६ औं शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहाँसिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताए ।

‘अहिले बिजौरी र दुधरास हुँदै दुई सडक प्रयोग गरेर पर्यटक आउने गर्छन्, त्यहाँबाट ११ किलोमिटर हिँडेपछि छिल्लीकोट पुगिन्छ,’ उनले भने, ‘अर्काे छिल्लीकोट पुग्ने पर्यटन मार्ग अहिले कालोपत्रे भइरहेको छ, त्यो सडक कालोपत्रे भए झनै थामिनसक्नु भीड हुने देखिन्छ, अहिले पनि छिल्लीकोट आउनेको निकै भीड लाग्ने गरेको छ ।’ अहिले पनि कहिलेकाँही दैनिक एक हजार भन्दा बढि आन्तरिक पर्यटकले अवलोकन गर्न आउने गरेको उनको भनाइ छ ।

https://www.globalaawaj.com/archives/56034
सुमन केसी
लेखकको बारेमा
सुमन केसी