ताजा अपडेट »

लालपुर्जाको लोभमा राष्ट्रिय वन सखाप, सयौं सालका रुख काटिए

शनिबार, ०८ फागुन २०७७, १८ : २०
4 Shares

दाङ । दाङमा लालपुर्जा पाउनको लागि एक राष्ट्रिय वनमा केही स्थानीय व्यक्तिहरुले सयौँ सालका रुखहरु काटेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ कटकुँइयास्थित गुह्यडाँडामा सयौँ सालका रुखहरु काटेको स्थानीयहरुले बताएका छन् ।

सालका रुखहरुले भरिएको डाँडा गाउँलेले फागुन ४ गतेको आसपासमा मिलेर रुख काटेपछि हाल उजाड बनेको छ । आफूहरुले भोगचलन गर्दै आएको देखाउन साना, ठूला सबै रुखहरु काटिएको स्थानीयहरुले बताए । उनीहरुले आफूले भोग चलन गरेको देखाउन र सुकुम्बासी, भुमिहिन, अब्यवस्थित बसोबासको लागि फारम भरेर जग्गाको पूर्जा पाउँनको लागि रुखहरु काटेको हुन सक्ने स्थानीयहरुको भनाइ छ । तर, ति रुखहरु कसले काटेको हो । त्यस बारेमा भने स्थानीयहरु बोलेका छैनन् ।

आफू उपचारको लागि बाहिर गएको बेला रुखहरु काटिएको र ती व्यक्तिहरुको बारेमा जानकारी नभएको बताउँदै स्थानीय महालक्ष्मी सामुदायिक वनका अध्यक्ष ताराप्रसाद देवकोटाले घटना बारे तुलसीपुर सब डिभिजन कार्यालयलाई जानकारी गराएको बताए ।

राष्ट्रिय वन अन्तरगत रहेको उक्त डाँडामा रहेका २ सय ४८ सालका रुख काटेर सखाप पारिएको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले बताए । भूमिहिन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरुलाई पूर्जा वितरण गर्न सरकारले लगत संकलन गरिरहँदा वन मासेर जग्गा प्राप्त गर्ने लालचका कारण उक्त रुखहरु काटेको हुन सक्ने उनले बताए । घटना बारे अनुसन्धान भइरहको बताउँदै उनले दोषी पत्ता लगाई कारबाही गरिने उल्लेख गरे ।https://www.globalaawaj.com/archives/83558

सुमन केसी
लेखकको बारेमा
सुमन केसी