ताजा अपडेट »

तिलोत्तमामा राष्ट्रिय स्तरको नमूना बाख्रा फार्म बनाउने योजना

शनिबार, १० माघ २०७७, १८ : ५०
10 Shares

बुटवल । उद्देश्य सानो होस वा ठूलो, त्यसलाई पूरा गर्ने इच्छाशक्ति र लगतशिलता हुनुपर्छ । कुनै पनि पेसा/व्यवसायमा सफलता प्राप्त गर्नका लागि व्यवस्थित योजना र कर्मशिल हुनु पर्ने युवा उद्यमी सुनिलकुमार पाण्डे बताउँछन् । प्राय पढेलेखेका युवा हुन् वा जोकोही नेपालीका लागि जापान, अमेरिकामा बस्न पाउनु ठूलो सपना मात्र होइन जीवनको सफलता मान्ने प्रचलन रहेको पाइन्छ । रुपन्देहीको तिलोत्तमा-१ का युवा उद्यमी सुनिललाई भने जापान अमेरीकाको मोहभन्दा आफ्नै मुलुकमा केही गर्नु पर्छ भन्ने इच्छा जाग्यो र अमेरीका बस्ने अवसर त्यागेर, जापानको बसाई एक वर्षमै त्यागेर बाख्रा पालन गर्ने सोच बनाए नेपाल फर्किए ।

व्यवस्थापन विषयमा स्नाकोत्तर (डिग्री) गरेका सुनिल सानै उमेरदेखि व्यवसायिक सोँच र प्रवृत्तिका व्यक्ति हुन् । २३/२४ वर्षको उमेरदेखि गार्मेन्ट उद्योग चलाएका उनले जापान जाने निर्णय लिए । ७ वर्षसम्म चलाएको गार्मेन्ट उद्योग त्यागेर जापान पुगेका सुनिललाई त्यहाँको रहन-सहन र कर्मप्रतिको प्रतिवद्धता मात्र होइन प्रविधिको प्रयोगले थप नयाँ उर्जा सहितको ज्ञान हासिल गर्न सजिलो भयो । जापानको मेहनतसँग नेपालको कर्मलाई तुलना गर्दा मेहनत गरे आफ्नै मुलुकमा पनि सफल हुन सक्ने विश्वास थपियो । जापान पुगेर केही गर्ने ठूला सपना लिएका सुनिल बाख्रा पाल्ने सोचका साथ एक वर्षमै नेपाल फिर्ता भए, जुन हाम्रो समाजका लागि जापानभन्दा निकै सानो र हेलाको सपना थियो । आफ्नो जेठा दाजु अमेरीकामा, माहिला दाजुु देशको राजधानी काठमाण्डौंमा व्यवसाय गरी राम्रैसँग जमेका थिए । अमेरीका बसाईका लागि दाजुले आग्रह नगरेका पनि होइनन् तर, उनलाई नेपालमै कृषि कर्म गर्नुपर्छ भन्ने भूतले समाएको थियो ।

कुनैपनि काम योजना नबनाएर हचुवाका भरमा गर्यो भने सफल हुन गाह्रो हुने कुरालाई राम्रोसँग बुझेका उनले सुरुमा बाख्रा फार्म दर्ताको प्रक्रियामा लागे । जसरी उनले सामान्य सोचेका थिए, फर्म दर्ताका लागि सरकारी प्रक्रिया र कानूनी उल्झनले नसोचेको संघर्ष गर्नु पर्यो । लगानी बिनानै फर्म दर्ता गरी सरकारी अनुदान कुम्ल्याउने दाउमा लाग्यो भनेर समाजले मात्र होइन फर्म दर्ताका लागि जाँदा सरकारी कर्मचारीहरुबाट पनि त्यस प्रकारका आसयहरु व्यक्त हुँदा उनलाई अचम्म लाग्ने गथ्र्यो । फर्म दर्ताका लागि पहिलेनै लगानी गरेको हुनुपर्ने तथा बाख्रा पालेको हुनुपर्ने भएपछि १५ लाख बढी लगानीमा स्याङ्जा, नवलपरासी, रुपन्देही लगायतका ठाउँहरुबाट जमुनापारी तथा खयर जातका ३० वटा बाख्रा संकलन गरी फर्म दर्ताको प्रक्रिया सुरु गरे । करिब ६/७ महिनाको मेहनतपछि ‘गोट फार्म’ दर्ता गर्न सफल भए ।

यसरी आफ्नो कृषि कर्मको सुरुवाती दिन सुनाउँदै उनले नेपालमा कृषि क्षेत्रमा लाग्न चाहनेहरुका लागि पनि प्रक्रिया र कानूनी उल्झन्ले गाह्रो हुने गरेको बताउछन् । बाख्रा फर्म सञ्चालन गरेको दुुई वर्षमै तिलोत्तमाको उत्कृष्ट कृषक बन्न सफल सुनिलसँग अहिले ८० वटा बोयर जातका बाख्रा छन् । आफ्नो २ कट्ठा जग्गामा बाख्रा फार्म तथा एक विगाह लीजसहितको २ विगाह खेतमा बाख्राका लागि आवश्यक घाँस खेती छ ।

बाख्राका लागि आवश्यक विशेष प्रकारको दाना तयार पार्दै ।

तिलोत्तमालाई राष्ट्रिय स्तरकै बोयर जातको बाख्रा अनुसन्धान केन्द्र तथा बीउ उत्पादन केन्द्र बनाउने सुनिलको योजना छ । अबको ३ वर्षमा त्यो सपना पूरा गर्ने योजनाका साथ अगाडी बढेका सुनिल कृषक मात्र होइन त्यस क्षेत्रमा रहेका अन्य कृषकहरुका लागि राम्रो परामर्शदाता र समन्वयकर्ता पनि भएका छन् । फर्म दर्ता गर्दा आफूले झेल्नु परेका समस्या अन्य कृषकहरुलाई नदोहोरियोस भन्ने सोचका साथ त्यस क्षेत्रका कृषकहरुलाई समेटेर ‘कृषि फर्म समन्वय समिति’ गठन गरेका छन् । समन्वय समितिमा डेढ दर्जन कृषकहरु आवद्ध रहेको र केही दिनमा थप कृषकहरु पनि जोडिने तयारीमा रहेको उनले बताए ।

तिलोत्तमाको सर्वोत्कृष्ट उद्यमी भएपछि एक लाख राशीको पुरस्कार राशी ग्रहरण गर्दै सुनिल ।

तिलोत्तमा-१ को टोल विकास समिति संयोजक समेत रहेका सुनिलको दैनिकी बाख्रा पालनमा मात्र होइन समाज सेवामा पनि वित्ने गर्छ । विहानै करिब साढे ४ बजेदेखि ९ बजेसम्म बाख्राको स्याहार सुसार तथा दानापानीमा लाग्ने उनले त्यसपछिको समय भने सामाजिक क्रियाकलापमा बिताउने गर्छन । दिनभरको सामाजिक क्रियाकलाप पछि साँझको ४/५ बजे बाख्राको हालखबर बुझ्न आइपुुग्ने उनले अन्य दूई जनालाई समेत रोजगार दिइरहेका छन् । बाख्रा पालनबाटै पछिल्लो एक वर्षमा करिव ७/८ लाख आम्दानी गरेको बताउने उनले व्यवसायलाई थप आधुनिक र प्रविधिमैत्री बनाएर ३ वर्षभित्रै नेपालको नमूना बाख्रा फार्मका रुपमा परिचित गराउने उद्देश्य लिएका छन् । उनले लिएको यो उद्देश्यले नै उनलाई तिलोत्तमाको ८० जना उद्यमी तथा कृषकहरुको प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट उद्यमी बन्न सफल बनाएको हो ।

https://www.globalaawaj.com/archives/75231
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।