ताजा अपडेट »

बाँदरले रोक्यो मुख्यमन्त्रीको भाषण

आइतबार, १९ पुस २०७७, १७ : ५९
14 Shares

बुटवल । नेकपाका प्रचण्ड-नेपाल पक्ष नेताहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भन्दै थिए ‘पत्ता झुन्ड्याएर सडकमा बस्नु भएको छ ।’ मुख्यमन्त्रीको यो भाषण जारी रहँदा झ्याप्प रोकियो सबैको ध्यान उनीप्रति थप केन्द्रीत रह्रयो, कारणः विद्युत सम्पर्क टुटेछ । माइकको आवाज रोकिएपछि एकछिन मुख्यमन्त्री पोखरेल सोही स्थानमै उभिए र तुरुन्त विद्युतको आपूर्ति नहुँदा उनी मञ्चमा आशन ग्रहण गरे । ओली पक्षीय नेकपा रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधनगर्दै गर्दा एक्कासी विद्युत अवरुद्ध भएपछि करिब १०/१५ मिनेट पोखरेलले भाषणनै रोक्नु पर्यो ।

नेकपाको वृहत अगुवा कार्यकर्ता भेला, त्यसमा पनि उर्जामन्त्री, अर्थमन्त्री, मुख्यमन्त्री, विभिन्न सांसदहरु लगाएत सरकारका विशिष्ट नेता तथा अतिथि रहेको कार्यक्रममा अचानक विद्युत आपूर्ति रोकिनुको कारण भने बाँदर रहेको स्वयम् मुख्यमन्त्री पोखरेलले पुनः सम्बोधन गर्दै जानकारी गराए । उनका अनुसार बाँदर विद्युतको पोलमा झुण्डिदा विद्युतमा समस्या भई अवरोध भएको हो । अतिथि दिर्घमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बोल्ने पालो आउँदै थियो ।

यस अघि नै उर्जामन्त्री टोपबहादुर रायमाझीले भाषण सकेर गइसकेका थिए । विद्युत अवरुद्ध भएपछि जेनेरेटर चलाएर काम चलाउने प्राविधिकहरुको प्रयास पनि असफल भयो । भाषण सुन्न बसेका नेता कार्यकर्ताहरु पनि आफ्नो ठाउँबाट उठ्न थाले, भिड केही तरिवितर जस्तो देखियो । आयोजक कमिटी नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीलाई सबैभन्दा तनावको विषय भयो । हातको इसाराले नेता कार्यकर्तालाई धैर्य गर्न उनले सुझाइरहेका थिए ।

यस बीचमा उपस्थितहरुले अनेकन लख काट्न थाले ‘कसैले विद्युत लाइन काटेको हुनु पर्छ ।’, बेला-बेलामा विद्युत ट्रिपिङको समस्या भोगी रहेको हुँदा धेरैले भने नियमितकै समस्याका रुपमा बुझेका देखिन्थ्यो । केही समयको प्रतिक्षापछि विद्युत सूचारु भयो । आयोजक कमिटीका रुपन्देही अध्यक्ष सुवेदीले सबैलाई आग्रह गर्दै आ-आफ्नो ठाउँमा बस्न भने ।

पुनः आफ्नो भाषणलाई निरन्तरता दिन आएका मुख्यमन्त्री पोखरेलले भने ‘विद्युत लाइनमा बाँदर झुण्डिएको रहेछ, त्यसैले केही समय रोकिनु पर्यो ।’ विद्युत प्रसारण लाइनमा बाँदर झुण्डिएर कार्यक्रमनै अवरुद्ध हुनु त्यहाँ उपस्थित जनताहरुका लागि भने सामान्यनै भएको छ । विभिन्न विकास निर्माण तथा अन्य कारणले बेला-बेलामा विद्युत अवरुद्ध हुने समस्यालाई यहाँका जनताले सामान्य नै मान्य गरेका छन् ।

https://www.globalaawaj.com/archives/71987
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।