ताजा अपडेट »

‘कोरोना केही होइन भन्नू मूर्खता हो, ज्यान जान सक्छ’

शुक्रबार, १४ कार्तिक २०७७, २० : १४
4 Shares

बुटवल । ओमकुमार श्रेष्ठ कोरोना जितेर भर्खर तंग्रिँदै छन् । सामान्य अवस्थाको जस्तो स्फूर्ती उनको शरीरमा अझै पलाएको छैन । ‘कोरोना जित्न सक्छु ।’ भन्ने आँट भने उनले बटुली सकेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका व्यवसायी तथा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल श्रेष्ठले १८ दिनको लामो संघर्षपछि कोरोनासँग विजयी प्राप्त गर्न सफल भए ।

सुरुमा सामान्य रुघा खोकी लागेपनि मौसमी फ्लू वा अन्य कुनै कारणले भएको भन्दै करिब १ हप्तासम्म नजरअन्दाज गरेका उनको शरिरमा कतिखेर कोरोना भाइरसले बास बसाल्यो उनलाई नै पत्तो भएन । सुख्खा खोकी लागीरहने, ज्वरो कम हुनुको साटो थप बढ्दै गएपछि उनि अस्पतालमा उपचारका लागि पुगे । अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार पिसिआर टेस्ट गराउँदा कोरोना पोजेटिभ देखा पर्यो ।

आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको परिवारको पनि पिसिआर परीक्षण गर्नुपर्ने भयो । श्रेष्ठका श्रीमती, ७ वर्षको छोरी, १३ वर्षकी छोरी, सँगै बस्ने दाईको छोरो, जेठानको छोरो र बुढी आमाको पिसिआर परीक्षण गराउँदा बुढी आमा र दाईको छोरो बाहेक सबैलाई कोरोना संक्रमण भइसकेको प्रमाणित भयो । एउटै घरमा बस्दा बुढी आमा र अन्य परिवारलाई पनि संक्रमण हुने डर भएपछि उनले होटल आइसोलेशनमा बस्ने निधो गरे।

भैरहवाकै एक होटलमा उनीसहित ५ जना परिवार आइसोलेशनमा बस्न पुगे । असोजको २१ गते परिवारसहित होटल आइसोलेशनमा पुगेका श्रेष्ठलाई ज्वरो तथा खोकी कम हुनुको साटो थप बढ्दै गएपछि अवस्था गम्भीर हुन थाल्यो । चिकित्सकहरुले उनी तथा उनको परिवारसँग सल्लाह गरी आइसियूमा बस्नु पर्ने सल्लाह दिए । भैरहवा मेडिकल कलेजमा २५ गते विहान १ बजेनै रातारात आइसियूमा भर्ना हुन पुगे । २५ गतेदेखि आइसियूमा बसेका श्रेष्ठ ३१ गते मात्रै अस्पतालबाट स्वास्थ्य अवस्था सुधार भएपछि पुनः होटल आइसोलेशनमा फर्किए । होटलमा बसेका परिवारहरु कोरोना जितेर सामान्य अवस्थामा पुगिसकेका थिए ।

उनिहरुको अवस्था सामान्य भएपछि १४ दिनको आइसोलेशन बसाई सकेर ४ जना परिवार घर फर्किए पनि श्रेष्ठ भने अझ ३ दिनका लागि घर फर्किन पाएनन् । आइसोलेशन बसाईको १८ दिनछि मात्रै चिकित्सकहरुको सल्लाह अनुसार कोरोना जितेर घर फर्किए । यसरी स्वास्थ्य अवस्था सामान्य भएर घर फर्किन पाउँदा उनलाई एक महान यूद्ध जितेर फर्किएको योद्धाको भन्दा उनको खुशी कम थिएन ।

ओम श्रेष्ठलाई कोरोना संक्रमण सामान्य जस्तै लाग्थ्यो । नेपालमा कोरोनाको प्रभाव त्यती भयावह अवस्थामा छ जस्तो उनलाई लागेको थिएन । जव कोरोनाले उनी आफैलाई आक्रमण गर्यो तव उनलाई लाग्न थाल्यो कोरोना समुदाय स्तरमा मात्र होइन प्रत्येकको घर–घरमा पसिसकेको छ । अव स्वास्थ्य सुरक्षा तथा सचेतना अपनाउनुको विकल्प छैन । दैनिक जीवनमा गरीने हरेक क्रियाकलापहरु स्वास्थ्य सुरक्षा अपनाउन उनले सल्लाह दिन्छन् । सकेसम्म घर बाहिर ननिस्कने, निस्कनै पर्ने अवस्था भए अनिवार्य मास्क लगाउने, स्यानिटाइजर प्रयोग गरिरहेने तथा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्न उनले सल्लाह दिने गरेका छन् ।

संक्रमण हुनुभन्दा पहिले आफूले दैनिक जिवनमा गर्ने गरेरका व्यवहार सम्झिँदै उनले कसैलाई पनि कोरोनाप्रति हेलचक्र्याई नर्गन सल्लाह दिन्छन् । कोरोना केही होइन भन्ने भ्रम नपाल्न आग्रह गर्दै उनले सचेतना अपनाए कोरोनाले त्यत्तिकै आक्रमण नगर्ने बताउँछन् । ‘कोरोना केही होइन भन्नेहरुलाई सामान्य रुँघा खोकी लाग्यो भने पनि कोरोना हो कि भनेर डराउँछन् ।’-श्रेष्ठले भने ‘हामीले सोँचेजस्तो कोरोनालाई कम्जोर आँकेर हुँदैन, यसलाई व्यवास्ता गर्यौ भने अवस्था थप भयावह हुन सक्छ ।’

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।