ताजा अपडेट »

चूनौतीका साथ यातायात सुचारु गर्दैछौं : अध्यक्ष खरेल

आइतबार, ०४ असोज २०७७, २० : १८
6 Shares

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले भोलि सोमबारदेखि आधिकारीक रुपमा लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा ल्याउँदै छ । विश्वव्यापी कोरोना महामारी तथा लकडाउनका कारण ६ महिनापछि यातायात सञ्चालनमा आउन लागेको हो । लामो समय ग्यारेज र पार्किङ्गमै थन्किएपछि जिर्ण बनेका सवारी साधन मर्मत तथा सञ्चालन गर्दा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा तथा चाडवाडसँगै हुन सक्ने यात्रुको भिडभाड व्यवस्थापनको चूनौती पनि उत्तिकै रहेको छ । संक्रमणको अवस्थालाई मध्यनजर गरी यातायता व्यवसायलाई पुरानै अवस्थामा ल्याउनका लागि लामो समय र निरन्तर मिहिनेत गर्नुपर्ने अवस्था छ । यसै सन्दर्भमा रहेर ग्लोबल आवाज डटकमका लागि पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलसँग डि.बी. सुस्लिङले गरेको कुराकानी :

कोभिड–१९ महामारी अझै सकिएको छैन, यातायात बढी जोखिम देखिएको क्षेत्र हो । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
–विश्वव्यापी कोरोना महामारीमा जोखिम बढी देखिएका कारण यातायात क्षेत्रमा अन्यको तुलनामा बढी प्रभावित भएको छ । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी साधन सञ्चालन गर्ने अनुमति दिएसँगै हामीले छिटफुट तथा अध्ययनको रुपमा यातायात सञ्चालन गरेका थियौं। यसैगरी भोलिदेखि ५० प्रतिशत यातायात औपचारिक रुपमै सञ्चालन गर्ने भएका छौं । छोटा दूरीका सवारीलाई जोर–विजोर प्रणालीमा तथा लामो दुरीका लागि परमिटका आधारमा सञ्चालन गरिने छ । यस बीचमा कर्मचारी, मजदुर तथा यात्रुहरुको स्वास्थ्य सुरक्षालाई अत्यन्तै ध्यानमा राखी यातायात सञ्चालन गर्दैछौं । यात्रुहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन सके मात्रै यातायात सञ्चालनमा आउने हो त्यसैले पनि त्यो कुरामा हामी संवेदनशील छौं ।

महामारीले यातायात क्षेत्रमा पारेको क्षति तथा पुरानै अवस्थामा फर्किनका लागि अझै कति समय कुर्नुपर्ला भन्ने आंकलन गर्नु भएको छ ?
–कोरोना महामारी र लकडाउनले बढी प्रभावित हुने क्षेत्रमा यातायात क्षेत्र पर्दछ । यससँग आवद्ध व्यवसायी, कर्मचारी तथा मजदुरले समेत सामाजिक तथा आर्थिक क्षती व्यहोर्नु परेको अवस्थामा अंकगणितीय हिसाबले ठ्याक्कै आंकलन गर्न गार्हाे छ । हामीले आर्थिक क्षतिलाई आँकलन गरेका छैनौं, गर्न पनि सम्भव देखिदैन । लामो समय गाडीहरु चौर वा बसपार्कमा रहे । घाम र पानीले धेरै गाडीहरुको इन्जिन खराब भए । व्यवसायीहरुको बैंकमा रहेका ऋणको व्याजले थप पीडा थपियो, दैनिक गुजारानै चलाउन गार्हाे हुने गरी आम्दानीका सबै बाटाहरु रोकिँदा उहाँहरु मनसिक तनावमा पुग्ने अवस्था आयो ।

अब पहिलेकै अवस्थामा फर्किने सवालमा पनि एकिनका साथ भन्न सकिने अवस्था छैन । महामारी कति लामो समय लम्बिन्छ त्यससँग निर्भर रहन्छ । यदि अवस्था सामान्य बन्दै गयो भने पनि पुरानो अवस्थामा फर्किन कम्तिमा एकवर्ष समय लाग्छ । आर्थिक रुपमा व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेकोले त्यसको पूर्तीका लागि थप समय लाग्छ ।

सरकार तथा कम्पनीको तर्फबाट व्यवसायीहरुलाई राहतका लागि के कस्ता पहलहरु भएका छन् ?
–व्यवसायीहरुलाई परेको आर्थिक मारका पक्षमा सरकारले केही सकारात्मक काम गर्न खोजेपनि उत्साहजनक अवस्थामा राहतका कार्यक्रमहरु खासै आएका छैनन् । तर, हाम्रो कम्पनीको पहल तथा दबावले गर्दा ३३ प्रतिशत करमा छुट र लकडाउन शुरु भएपछि यस महिनासम्मको विभिन्न अतिरिक्त शुल्क तथा जरिवाना तिर्न नपर्ने व्यवस्था भएका छन् । व्यवसायीहरुले बैंकमा तिर्नु पर्ने ऋणको समयावधी थप गर्ने, व्यवसायीहरुको बीमा लगाएतका क्षेत्रमा सरकार तथा कम्पनीको तर्फबाट भएका सकारात्मक पहलहरु हुन् । तर, सरकारले जुन हिसाबले बोलीमा गरेको छ, सोही हिसाबले व्यवहारिक कार्यान्वयनको क्षेत्रमा काम गर्न नसकेको अवस्था छ ।

व्यवसायी मात्र नभई यस कम्पनीसँग जोडिएका कर्मचारी तथा मजदुरको पनि समस्याहरु छन्, उनिहरुको लागि के गर्नुभयो ?
–हामीले हाम्रो हैसियतले भेट्ने, सक्नेसम्मका सबै पहलहरु गरेका हौं । तर, संक्रमण र लकडाउनको अवधि लम्बिदै जाँदा स्वयम् व्यवसायीहरुलाई नै छाक टार्न समस्या पर्न थालेपछि कर्मचारी तथा मजदुरका बारेमा केही गर्न सक्ने अवस्थानै बनेन । लकडाउनको शुरु–शुरुका दिनहरुमा हामीले ७०÷७५ लाख बढीका राहत सामाग्रीहरु बाढ्यौं । पछिल्लो समय कम्पनीको आर्थिक अवस्था पनि संकटमा परेपछि उल्लेख्य केही गर्न सकेनौं ।

हामीसँग भएका करिब ३ हजार बढी कर्मचारी तथा मजदुरहरुको छाक र व्यवसायीहरुको छाकसँगै जोडिएको विषय हो । त्यसैले पनि भोलिदेखि यातायातका साधन सञ्चालनमा आएपछि कम्तिमा ५० प्रतिशत कर्मचारी तथा मजदुर काममा फर्किन पाउने छन् । बाँकी रहेका मजदुर कर्मचारी यातायताको संख्या वृद्धिसँगै क्रमशः रोजगारमा फर्किने छन् ।

चाडवाड नजिकिँदै छ, यातायात सञ्चालन गर्दा यात्रुको भिडसँगै स्वास्थ्य चुनौती पनि थपिन सक्छन्, यी चूनौतीहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
–चाडवाड मान्ने भन्दा पनि ठूलो विषय स्वास्थ्य हो । कोभिड महामारीका कारण यसैपनि जनता घरबाट बाहिर निस्कन चाहँदैनन् । उहाँहरुलाई स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूत नगराउँदासम्म हाम्रो यातायात सञ्चलन हुन सक्ने अवस्था पनि नरहेका कारण हामी अत्यन्तै संवेदशील र चनाखो भएर काम गर्ने प्रयास गरेका छौं ।

यात्रुको चाप बढ्यो र सवारी संख्या कमी भएको अवस्थामा ५० प्रतिशतबाट बढाएर चाप अनुसार सवारीको संख्या क्रमशः थप्दै जानेछौं । यात्रागर्दा भौतिक तथा सामाजिक दूरी कायम गर्ने कुरालाई हामीले अनिवार्य गर्ने छौं । यात्रुलाई बसमा चढाउनु अघि अनिवार्य मास्क, सेनिटाइजर तथा थर्मल गर्न ज्वरो जाँच गरिने छ । यसका साथै सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाइने जस्ता मापडण्डहरु पूरा गर्ने छौं । जसरी पनि पैसा कमाउनु पर्छ भन्ने ध्यय हाम्रो होइन, हाम्रो पहिलो मान्यता स्वास्थ्य सुरक्षा नै हो ।

सुरक्षित र सहज यात्राका लागि सरकारले विभिन्न ठाउँमा भएका बस स्टेशनहरु तथा मूख्य–मूख्य नाकाहरुमा उच्च स्वास्थ्य सुरक्षा अपनाउने कुरालाई कडाई गर्नुका साथै सार्वजनिक स्थानहरुमा सावुन–पानीले हात धुने व्यवस्था तथा सेनिटाजरको व्यवस्था गर्न आवश्यक देखिन्छ । विभिन्न ठाउँमा सवारी सेनिटाइज गर्ने व्यवस्था, भिडभाड र सामाजिक दूरी कायम भए नभएको नियमित अनुगमन लगायत कुरामा ध्यान जान आवश्यक छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।