ताजा अपडेट »

कोरोना प्रभाव : ठूला होटल ठप्प, रेष्टूरेण्टहरुको घर-घरमा सेवा

आइतबार, २५ साउन २०७७, १८ : १०
4 Shares

बुटवल । विश्वव्यापी कोरोना महामारीसँगै लामो सयम लकडाउनको मारमा परेका होटल तथा रेष्टूरेण्ट व्यवसायीहरुले व्यवसायिक ढाँचा परिवर्तन गर्न थालेका छन् । भौतिक तथा सामाजिक दूरी कायम राख्नु पर्ने तथा भिडभाड नगरी व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरुले नयाँ उपाय अपनाउन थालेका हुन् । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टूराँ व्यवसाय गत साउन १५ गतेदेखि सञ्चालनमा आएपनि ग्राहकको आगमन न्यून भएपछि नयाँ उपाए अपनाउन थालेका हुन् । व्यवसायीहरुले अनलाइन बुकिङ तथा टेलीफोन मार्फत अर्डर लिएर सेवाग्राहीको घरमै सेवा पुर्याउन थालेका छन् ।

गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न सरकारले स्वीकृति दिएको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा ल्याउन सरकारले अनुमती दिएको हो । अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताउने गरेका छन् । यस्तै होटेल सञ्चालन गर्न आवश्यकता बमोजिम कर्मचारीलाई तालिम दिइसकेका रेष्टूराँ तथा बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले बताएका छन् । अहिले पूर्णरुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उनको भनाई छ ।

कोरोना महामारीले थला परेको होटवल व्यवसाय सञ्चालनका लागि सामाजिक तथा भौतिक दूरी कायम राखी उच्च स्वाथ्य सुरक्षा अपनाउन सबैलाई आग्रह गरिएको होटवल तथा रेष्टूरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले बताएका छन् । होटल तथा रेष्टूरेण्टहरुमा अनिवार्य रुपमा सेनिटाइजर तथा साबुन पानीले हात धुने व्यवस्था, माक्सको प्रयोग तथा खान बस्नका लागि अनिवार्य सामाजिक दुरी कायम राख्न आग्रह गरिएको उनले बताए । कतिपय व्यवसायीहरुले स्वास्थ्य सुरक्षाका लागि होम डेलिभरी तथा व्याकेजिङ सर्विस उपलब्ध गराउने गरेका छन् ।

बुटवलको किनारा होटलले ग्राहकलाई घरमै सेवा पुर्याउने तथा होटलमा आएका ग्राहकहरुलाई प्याकेजीङ गरी सेवा दिन सुरु गरिएको सञ्चालक किसोर पाण्डेयले बताए । यसैगरी होटलमा आउने ग्राहकहरुलाई समेत सामाजिक दूरी कायम राखी बस्न आग्रह गर्ने गरिएको उनले बताए । यस क्षेत्रमा सञ्चालनमा आएका अधिकांश होटल तथा व्यवसायीहरुले सेवा ग्राहीहरुलाई अनिवार्यसेनिटाइजर प्रयोग तथा सावुन पानीले हात धोएपछि मात्रै बस्न दिने गरेका छन् ।

भैरहवामा रहेको चार तारे होटल बोधी रेडसनले एक वर्षको लागि निःशुल्क योग शिविर सुरु गरेको छ । होटलमै योगा कक्षा सञ्चालन गरी आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले योगा कक्षा सञ्चालन गरिएको हो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद तथा होटलका सञ्चालक प्रमोद कुमार यादवले शारिरीक ब्यायमको साथै रोगब्याधिबाट जोगिन योग लोकप्रिय हुदै गई रहेको अवश्थामा होटलमा यसको प्रशिक्षणले धेरै स्थानिय लाभान्वित हुने अपेक्षा गरे ।

यसैगरी बुटवल कालिकानगरको द कन्सेप्ट क्लब एण्ड पबले भने कोरोना महामारीपछि होम डेलिभरी सुविधा हटाएको छ । सामान्य दिनमा दैनिक लाइभ कन्सर्ट गर्दै आएको क्लबले कोरोना महामारीपछि हप्तामा दुई दिन मात्रै लाइभ कन्सर्ट गर्ने गरेको म्यानेजर अमृत घिमिरेले बताए । हप्ताको शुक्रबार र शनिबार मात्रै खोलिने क्लबमा सेवाग्राहीहरुका लागि अनिवार्य सेनिटाइजर प्रयोग, ज्वरो परिक्षण तथा बस्नका लागि टेवल डिस्टेन्स कायम गर्ने गरिएको उनले बताए ।

स्टार होटलहरु पर्यटकविहिन भएपछि ठप्प
विश्वव्यापी कोरोना महामारिसँगै मुलुक बन्दाबन्दीका कारण सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसायी मारमा परेका छन् । महामारीको समयमा संक्रमण फैलिन सक्ने अति संवेदनशिल मानिएको होटल तथा पर्यटन व्यवसायलाई सरकारले सञ्चालनमा ल्याउन अनुमती दिएपनि विदेशी पर्यटकहरुको आगमन नहुँदा स्टार होटवलहरु भने अझै पनि ठप्प रहेका छन् । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष-२०७६ लक्षित तारे होटलहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको हानका केन्द्रीय सदस्य तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्टका सञ्चालक समति अध्यक्ष गोपाल रानाले बताए । रुपन्देहीमा १० वटा तारे होटलसहित १ सय ५० वटा क वर्गका, ५ सय बढी ख बर्गका, १ हजार ५ सय बढी ग वर्गका तथा २ सय बढी स्तरीय पार्टि प्यालेस तथा रेष्टूरेन्टहरु रहेको छन् ।

यसैगरी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रका ठूला होटल व्यवसायीहरु, भैरहवा, तिलोत्तमा तथा बुटवल क्षेत्रका ठूला होटलमा कारोबार ठप्प हुँदा आर्थिक क्षेति व्यहोर्नु परेको व्यवसायीहरुले बताए । कोभिड-१९ का कारण अन्तराष्ट्रिय उडान ठप्प हुनु, अन्य देशसँगका सिमा नाका बन्द हुनु लगायत कारणले पर्यटकको आगमन नहुँदा होटल सञ्चालनको अनुमति प्राप्त भएपनि कारोबार ठप्प रहेको होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा भैरहवामा सञ्चालनमा रहेको होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताए । नेपाल होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालले बन्दाबन्दीका कारण ३५ प्रतिशत बढी होटल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए ।

https://www.globalaawaj.com/archives/38074
https://www.globalaawaj.com/archives/48669
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।