ताजा अपडेट »

इन्टरनेट गुणस्तरमा नेपालको सुधार, ११७औँ स्थानमा

आइतबार, ३० चैत्र २०७६, ०७ : ५४

बुटवल । बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल नौ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ ।

इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्याङ्कअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४.२२ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड भने ८.४८ एमबीपीएस छ । इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ । ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०.४७ एमबीपीएस छ भने अपलोड स्पिड १०.७३ एमबीपीएस छ ।

मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् । मोबाइल इन्टरनेटबाहेक फिक्स्ड ब्रोडब्यान्डमा समेत नेपालले आफ्नो स्थानबाट फड्को मारेको छ ।

खास गरी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराउँदै आएको फिक्स्ड इन्टरनेटको गुणस्तरको सम्बन्धमा बारम्बार प्रयोगकर्ताको गुनासो रहने गरेको छ । यद्यपि मार्चमा नेपालले फिक्स्ड इन्टरनेटको स्पिडमा सुधार गरी तीन स्थान माथि उक्लँदै १११औँ स्थानमा पुगेको छ । फिक्स्ड ब्रोडब्यान्डमा नेपालको औसत डाउनलोड स्पिड २०.८१ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड १९.५९ एमबीपीएस छ । यो दुवै गति विश्वव्यापी औसतको तुलनामा भने निकै कम हो ।

फिक्स्ड ब्रोडब्यान्डमा विश्वव्यापी डाउनलोड औसत ७६.६४ एमबीपीएस छ भने अपलोड स्पिड ४०.०७ एमबीपीएस छ । अहिले नेपालमा करिब ४८ लाखले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्ने तथ्याङ्क छ । विश्वभर मोबाइल इन्टरनेटको स्पिड सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (दुबई)मा रहेको छ । ओक्लाका अनुसार दुबईमा मोबाइलको डाउनलोड स्पिड ८३.५२ एमबीपीएस र अपलोड स्पिड २१.७९ एमबीपीएस रहेको छ ।
त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड स्पिडमा सिङ्गापुर अगाडि रहेको छ ।

सिङ्गापुरको डाउनलोड स्पिड १९७.२६ एमबीपीएस र अपलोड स्पिड २०८.२६ एमबीपीएस छ । मोबाइल इन्टरनेटको धेरै स्पिड भएका दक्षिण एसियाली देशमध्ये नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि श्रीलङ्का ९८औँ स्थानमा छ । छिमेकी देश भारत १३०औँ स्थानमा छ । - गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।