ताजा अपडेट »

जग्गा विवादले विद्यालयको भौतिक सुधार अन्यौलमा

सोमबार, २६ फागुन २०७६, १८ : ५१
4 Shares

दाङ । घोराही उपमहानगरपालिका- १४ मा रहेको एक सामुदायिक विद्यालयको जग्गामा मुद्दा परेको छ । २०३० सालमा जिल्ला बाल संगठनले शिशु कक्षाबाट सञ्चालन गरेको विद्यालय विगत ६ वर्षदेखी जग्गा विवादको मुद्दा खेपीरहेको हो ।

प्राथमिक विद्यालय बालमन्दीर घोराहीको उक्त जग्गाको केही भाग ब्यक्तिको नाममा रहेकोले अहिले विद्यालयले मुद्दा खेप्नु परेको हो । जिल्ला अदालत, पुनरावेदन हुँदै यो विवाद अहिले उच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । जग्गा धनीले राजीनामा गरेर जग्गा विक्रि गरेपछि पहिलो पटक २०७० सालमा जिल्ला अदालत घोराहीमा मुद्दा परेको थियो । जिल्ला अदालतले जग्गा धनीको पक्षमा फैसला गरेपछि विद्यालय तत्कालिन पुनरावेदन अदालत तुलसीपुर पुग्यो । पुनरावेदन अदालत तुलसीपुरले जग्गा विद्यालयकै रहेको र मुआब्जा नपाएको भए नगरविकास समितिबाट लिनु भन्ने निष्कर्ष निकालेको विद्यालयका तर्फबाट मुद्दा हेरीरहेका वकिल शंकर देवकोटाले जानकारी दिए । पुनरावेदन अदालतले विद्यालयको पक्षमा फैसला गरीदिएकोले जग्गाका विषयमा विवाद नरहेको उनले बताए । अधिग्रहण गर्ने समयमा नै नगर विकास समितिले जग्गा धनिलाई मुआब्जा दिएको बताउँदै आएको भएपनि जग्गा धनीका हकवाला मुआब्जा नपाएको बताउछन् ।

मुआब्जा नपाएका कारण देखाउदै उनिहरुले जग्गा दाबी गरिरहेका हुन् । तत्कालीन नगरविकास समितिले अधिग्रहण गरेर १ विगाह १८ कठ्ठा जग्गा विद्यालयलाई दिईएको थियो । सर्वोच्च अदालतमा पुगेको मुद्दाको फैसला भए नभएको बारे अहिलेसम्म जानकारी नआएको वकिल देवकोटाले बताए । ‘दुईवर्ष अगाडीसम्म विचाराधिन अवस्थामा थियो अहिले के भयो बुझिएको छैन’ देवकोटाले भने । फोनबाट जानकारी लिन नसकिने भएकोले सर्वोच्चमा नै गएर मुद्दा के भैराखेको छ भनेर बुझ्नुपर्ने देवकोटाले बताए । ‘जग्गाधनि भनिएकाहरुको पक्षमा फैसला भएको भए त उनीहरु दाविगर्न आईसक्थे त्यसैले फैसला भएको भए विद्यालयको पक्षमा फैसला भएको छ यदी नभएको भए विचाराधिन अवस्थामा नै छ भन्ने हाम्रो बुझाई हो’ देवकोटाले भने ।

शिशु कक्षाबाट शुरु भएको विद्यालय २०४२ सालमा प्राथमिक विद्यालय बालमन्दिरको नामबाट हालसम्म सञ्चालीत छ । घोराहीको बीच बजारमा रहेको प्राथमिक विद्यालय बालमन्दीर अहिलेसम्म अर्काको स्वामित्वको जग्गामा रहेको छ । तत्कालिन त्रिभुवन नगरपालीका, घोराही नगरविकास समितिले विद्यालयलाई जग्गा त दिए तर त्यसको स्वामित्व हस्तान्तरण नहुँदा अहिले विद्यालयले मुद्दा खेप्नु परीरहेको छ । २०३० सालमा नगरविकास समितिले जग्गा अधिग्रहण गर्ने समयका ब्यक्तिहरु पनि जिवित छैनन् । मुआब्जा लिएका व्यक्तिहरु पनि जिवित छैनन् । यता नगर विकास समितिमा मुआब्जा लिएका कागजपत्र पनि नभएकोले जग्गाधनिका सन्तानहरुले जग्गा दाबी गरिरहेका हुन् । २०५८ सालको माओवादी आक्रमणमा नगर विकास समितिका सबै कागजात जलेकोले प्रमाण जुटाउन नगर विकास समितिले नसकेको हो ।

घोराही नगरविकास समितिका अध्यक्ष नरुलाल चौधरीका अनुसार तत्कालीन समितिले मुआब्जा वितरणगरी लगत कट्टा गर्न बिर्सिएको हुनुपर्ने दाबी गर्छन् । ‘मालमोत कार्यालयमा व्यक्तिका नामबाट विद्यालय वा नगरविकासकै नाममा नामसारी गर्नुपर्ने हो, नभएकोले अहिले जग्गादाताका सन्तानले दाबी गरिरहेका छन्‘–चौधरीले भने । विद्यालयले जग्गा भोगचलन गरेको ४ दशकसम्म कसैले कुरा उठाएन तर २०७० सालमा आएर जग्गामा विवाद आयो भन्छन् विद्यालयका पुर्व अध्यक्ष निर्मलकुमार देवकोटा । मुक्ति प्रसाद श्रेष्ठ, बृजलाल चौधरी, राम धिरज गुप्ता र मुरारी गुप्ताको नाममा उक्त जग्गा रहेको छ । जग्गाधनी बृजलाल चौधरीले राजीनामा गरेर घोराहीकै जयवहादुर खत्रीलाई बिक्रि गरेपछि अहिले विद्यालयले मुद्दा खेप्नु परेको हो ।

विद्यालयको कम्पाउड २०३० सालमा लगाईएको र अहिले रहेको पुरानो भवन पनि २०३० सालमै बनेकोले उक्त जग्गाको मुआब्जा जग्गाधनीले पाएको हुनुपर्ने पुर्व अध्यक्ष देबकोटाको तर्क छ । पहिले जग्गाको पोत तिर्न पनि पैसा नहुने भएकोले धेरै जग्गा हुनेहरुले दान दिने परम्परा पनि थियो । बजारको बिचमा विद्यालय सञ्चालन गर्ने भनेपछि नगरविकास समितिले अधिग्रहण गरी मुआब्जा वितरण गरे पछि विद्यालय सञ्चालन भएको देवकोटाले बताए । विद्यालयले भोगचलन गर्दै आएको जग्गाको तीनतिरबाट निकास भएकोले पनि जग्गाधनीहरुको मनमा लोभ पलाएको हुनसक्ने विद्यालयको भनाई छ । ‘बिच बजारमा त्यो पनि तिन तिरबाट निकास सहितको जग्गा अहिले त्यो जग्गाको मुल्य करोडौको भैसक्यो त्यसैले दाबी गरेको हुनुपर्ने हाम्रो अनुमान हो’–विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले भने ।

विद्यालयमा अहिले २०३० सालमा निर्मित पुरानो भवन, विद्यालयलाई तत्कालीन जिल्ला विकास समिति र नगरपालीकाले बनाएका दुई भवनको साथै जाईकाले बनाईदिएका २ वटा भवन संरचना रहेका छन् । त्यस्तै २०४५ सालमा रत्नराज्यलक्ष्मी शाहको हिरक जन्मोत्सवको समयमा बनाईएको स्तम्भ समेत विद्यालय परिसरमा रहेको छ । अहिले विद्यालयमा १ सय ८७ विद्यार्थीले अध्ययन गरीरहेको विद्यालयले जनाएको छ । त्यस्तै विद्यालयमा ३५ जना बौद्धिक अपाङ्ग विद्यार्थीहरु आवासिय रुपमा अध्ययन गरीरहेका छन् । उनीहरुलाई होष्टेलमा राखेर पठन–पाठनको व्यवस्था मिलाईएको विद्यालयका प्रधानाध्यापक बिष्णु भण्डारी बताउछन् । अन्यलाई भन्दा बौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई विद्यालयमा समस्या रहेको उनले बताए । विद्यालय अपाङ्गमैत्री नहुँदा कक्षा कोठामा जान विद्यार्थीलाई समस्या भैरहेको छ ।

त्यस्तै बौद्धिक अपाङ्ग विद्यार्थीहरु आवासीय भएकोले उनीहरुको व्यवस्थापन गर्न पनि समस्या भएको विद्यालयले जनाएको छ । अहिले कसैले जन्मदिन त कसैले केही अवसर पारेर दिएको सहयोगले उनीहरुको व्यवस्थापन गरीरहेका छौ प्रअ भण्डारीले भने ।घोराही मुटुमै रहेको विद्यालयलाई शिक्षा मन्त्रीका राजनीतिक सल्लाहकार जिवन गौतमको पहलमा मन्त्रालयले प्रदेशस्तरीय विशेष आवासिय विद्यालय बनाउन लागीएको छ । २ सय जना बौद्धिक अपाङ्गहरुलाई राखेर अध्यापन गराउने लक्ष्यका साथ बजेट विनियोज गरिएको गौतमले जानकारी दिए । ‘अहिले विद्यालयको डिपिआर तयार भैसकेको छ, केही दिनमा नै सम्झौतागरी भवन निर्माणको काम सुरुहुन्छ’–गौतमले भने । प्राथमिक विद्यालय बालमन्दिरमा पाँच नम्वर प्रदेशभरी रहेका बौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई राखेर अध्यापन गराउने उद्देश्य रहेको गौतमले बताए ।

मुद्दाको विषयमा सामुदायीक विद्यालयकै पक्षमा फैसला हुने गौतम बताउँछन् । ‘पुनरावेदन अदालत तुलसीपुरले विद्यालयको पक्षमा फैसला गरेको हुनाले सोही फैसला सदरहुने छ भन्ने विश्वासका साथ सरकारले लगानि गरेको हो” गौतमले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।