ताजा अपडेट »

लालुप्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरे

सोमबार, १२ जेठ २०८२, ०६ : १५
सोमबार, १२ जेठ २०८२

पटना । बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल(आर. जे. डी.) का अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तथा हसनपुरका बिधायक तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्।  तेज प्रतापले केही दिन अगाडी एक युवतीसंग सामाजिक सञ्जालमा  प्रेम अभिव्यक्त गरेको एउटा पोस्ट सार्वजनिक गरेपछि विवादित बनेका थिए । 

लालु यादवले सामाजिक सञ्जाल  एक्समार्फत दिएको जानकारीअनुसार अबदेखि तेज प्रतापको पार्टी र परिवारमा  कुनै पनि प्रकारको भूमिका नरहने बताएका छन् । उनले लेखेका छन्, ‘निजी जीवनमा नैतिक मूल्य-मान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायका लागि हाम्रो सामूहिक सङ्घर्षलाई कमजोर बनाउँछ। जेठो छोराका गतिविधि, सार्वजनिक आचरण र गैर जिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य-मान्यता र परम्पराअनुरूप छैन।’

लालु यादवले थप लेखेका छन्, ‘त्यसैले माथिका परिस्थितिहरूका कारण  म उनलाई पार्टी र परिवारबाट हटाउँछु। अबदेखि पार्टी र परिवारमा उनको कुनै पनि प्रकारको भूमिका हुनेछैन। उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ।’

 शनिवार साँझ तेज प्रतापको फेसबुक अकाउन्टमा उनी एक युवतीसँग देखिएका थिए। जसमा उनीहरूबिच १२ वर्षदेखि चिनजान रहेको रहेको लेखिएको थियो। यस विषयमा कमेन्टको बाढी आएपछि पोस्ट हटाउँदै तेज प्रताप यादवले एक्समा लेख्दै आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको पनि  बताएका थिए। साथै उनले आफ्नो बदनाम गर्न कसैले षड्यन्त्र गरेको दाबी पनि गरे।

तर त्यतिन्जेलसम्म राजनीतिक वृत्तमा पनि टिप्पणी सुरु भइसकेको थियो। यो घटनाले आफ्नो पार्टी र परिवारको बदनाम भएको भन्दै लालु यादवले  जेठा छोरोलाई कारबाही गरेका हुन्।  

तेजप्रतापले सन् २०१८ मा पूर्व मुख्यमन्त्री दरोगा प्रसाद रायकी नातिनी तथा पूर्व मन्त्री चन्द्रिका रायकी छोरी ऐश्वर्यासँग बिहे गरेका थिए। तर केही महिनापछि नै उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगे। हाल यो मुद्दा पारिवारिक अदालतमा विचाराधीन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।