परासी । नवलपरासी जिल्लालाई बिहिवार चालु आर्थिक बर्ष २०८१।०८२ को लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
रामग्राम नगरपालिकामा आयोजना भएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
मन्त्री सारुले लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएकोमा नवलपरासी जिल्लावासीलाई बधाई ज्ञापन गरे । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री सारुले पृथ्वीचन्द्र अस्पतालमा डाक्टरको दरबन्दी पूर्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिला स्वास्थ्य स्वयंसेवीकाहरुले राखेको माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक भएको बताए ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षता र स्वास्थ्य मन्त्री सारुको प्रमुख आतिथ्यमा खोप दिगोपना जिल्ला घोषणा कार्यक्रम आयोजना गरिएको हो । यस अघि जिल्लाका सातै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।
कार्यक्रममा नवलपरासीमा हाल खोप पाइरहेका १५ महिना मुनिका बालबालिका ६ हजार ४५७ जना रहेको र पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिकाहरु १८ हजार ४५९ जना रहेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।
उनले यस बर्ष खोप लगाउन छुटेका १ सय ७३ जना बालबालिकालाई खोप लगाई सकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद एवं पूर्व मन्त्री खड्ग बस्नेत, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठ, निर्देशक रोशनलाल चौधरी, नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति विक्रम यादव, स्वास्थ्य स्वयंसेविका सञ्जालकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतले खोपमा जिल्लाले प्राप्त गरेको दिगोपनाको चर्चा गर्दै शुभकामना व्यक्त गरेका छन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले गरेका थिए भने भने स्वागत मन्तव्य खोप अधिकृत ओम प्रकाशपन्थीले गरेका थिए ।
प्रतिक्रिया