ताजा अपडेट »

तिनाउलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सामूहिक प्रतिवद्धता

शुक्रबार, १८ साउन २०८१, १७ : २०
100 Shares
शुक्रबार, १८ साउन २०८१
100 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा बालमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनाका लागि शुक्रबार प्रतिवद्धतापत्रमा हस्तारक्षर गरिएको छ । गाउँपालिकामा रहेका विभिन्न १८ वटा विषयगत क्षेत्र अन्तरगत पर्ने सामाजिक संघ–संस्था तथा सरोकारवालाहरुको प्रतिनिधि बीचको अन्तरक्रियापछि प्रतिवद्धतापत्रमा हस्ता गरिएको हो । 

बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै तिनाउलाई बालमैत्री घोषणा गर्ने सरोकारवालाहरुले  प्रतिबद्धता जनाएका छन् । बालमैत्री पालिका निर्माणका आवश्यक सूचक पूरा गर्न टोल–समुदाय, विद्यालय, स्वास्थ्य संस्था, वडा तथा पालिका तहमा विभिन्न कार्यक्रमहरु भैरहको तिनाउका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जानकारी दिए ।

विभिन्न चरणमा भएका अभिमुखीकरण कार्यक्रम पश्चात जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, टोल विकास संस्था, विभिन्न संघ–संस्था, सेवाप्रदायक कार्यालय, बाल क्लवका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुले घोषणाको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । सहभागीहरुले बालअधिकार सुनिश्चितताको लागि बालबालिकालाई केन्द्रमा राखी कार्य गर्ने सहमति जनाएका छन् ।

बालमैत्री स्थानीय शासन निर्माणको लागि बनाइएको कार्ययोजनामा तोकिएका सूचक तथा मापदण्ड पूरा गर्न विद्यालय, समुदाय, वडा, नगर तहबाट गरिने कार्यविवरण उल्लेख छ । बालमैत्री स्थानीय शासनस बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।

यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्दतीलाई जनाउँछ । ‘बालमैत्री स्थानीय तह’ भन्नाले अर्थपूर्ण बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरिएको गाउँपालिका वा नगरपालिकालाई जनाउने बालमैत्री राष्ट्रिय अभियानका सहजकर्ता विष्णुप्रसाद चौवेले बताए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।