ताजा अपडेट »

‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सांसद घिमिरेको माग

आइतबार, ०६ फागुन २०८०, १५ : २८
118 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भैरहेको चोरी पैठारीलाई तत्काल रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने स्पष्ट पारे ।

बजारमा आपूर्ति नभएको जनाउँदै दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्न छाड्दा मुलुकका धेरै स्थानमा मिल्क होलिडेको अवस्था सिर्जना भएको छ । संस्थानले किसानलाई दूधको भुक्तानी नदिएको तीन महिना भैसकेको छ । संस्थानले भुक्तानी रोक्दा दुई लाख बढी किसान मर्कामा छन् भने मिल्क होलिडे हुँदा किसान गाईभैंसीपालन व्यवसायबाटै पलायन हुने जोखिम बढेको छ ।

कतिपय प्रदेश र स्थानीय सरकारले दूध उत्पादन बढाउन किसानलाई अनुदान दिँदै गर्दा मिल्क होलिडेको अवस्था सिर्जना हुनु दुःखद् रहेको बताउँदै सांसद घिमिरेले यो विषयप्रति संघीय सरकार संवेदनशील बन्नुपर्ने बताए । अर्थतन्त्रमा ९ प्रतिशतभन्दा बढी योगदान गरिरहेको र लाखौं किसानको रोजीरोटीसँग जोडिएको दूग्ध क्षेत्रको विद्यमान समस्या समाधानमा गम्भीर बन्न उनले सरकारलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।