ताजा अपडेट »

हुथी विद्रोहीको आधार शिविरमा अमेरिका र बेलायतकाे आक्रमण

शुक्रबार, २७ पुस २०८०, ११ : २५
64 Shares

काठमाडौँ । अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको अखडामा आक्रमण गर्न थालेका छन्, जसले लाल सागर हुँदै जाने जहाजलाई निशाना बनाउँदै आएका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार यमनको राजधानी साना, सादा र धामार सहरका साथै होदेइदाह प्रान्तमा आक्रमण भएको छ। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले यी आक्रमणहरू विमान, जहाज र पनडुब्बीबाट गरिएको बताएको छ।

अमेरिका र बेलायतको आक्रमणको पुष्टि गर्दै एक हुथी अधिकारीले यसलाई ‘अमेरिकी(यहूदी(ब्रिटिश आक्रमण’ भनेका छन्। गाजामा इजरायलको आक्रमणबाट आक्रोशित हुथी विद्रोहीहरूले विगत केही हप्तादेखि लाल सागर हुँदै जाने जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। त्यसपछि पहिलो पटक इरान समर्थित संगठनविरुद्ध कारबाही गरिएको हो ।

अमेरिका र बेलायतका यी आक्रमणमा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले विज्ञप्ति जारी गर्दै दुई देशको यो संयुक्त सैन्य कारबाहीको उद्देश्य हुथी विद्रोहीको क्षमतालाई कम गर्नु रहेको बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘यी आक्रमणहरूले मानव रहित हवाई सवारी साधन, मानवरहित विमान, ग्राउन्ड अट्याक क्रुज मिसाइल, तटीय निगरानी रडार र हुथी विद्रोहीहरूको आकाश निगरानी प्रणालीलाई निशाना बनाएको छ।’

यी आक्रमणहरू सुरु भएपछि साउदी अरेबियाले अमेरिका र उसका सहयोगीहरूलाई संयम अपनाउन आग्रह गरेको छ। साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश यी आक्रमणबाट चिन्तित रहेको र स्थितिको निगरानी गरिरहेको जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।