ताजा अपडेट »

बुटवलमा हुने एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट

शनिबार, ०९ भदौ २०८०, १० : ०४
30 Shares
शनिबार, ०९ भदौ २०८०
30 Shares

बुटवल । नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने प्रथम अधिवेशनका लागि आज प्रतिनिधि छनौट हुँदै छन् । प्रदेशमा रहेका १०९ वटै पालिका र सबै जनसंगठनबाट आज एकसाथ प्रतिनिधि छनोट हुने भएका हुन् ।

केही पालिका र जनसंगठनमा निर्विरोध रुपमा प्रतिनिधि छनौट भए पनि अधिकांश ठाउँमा आकांक्षी धेरै भएकाले निर्वाचनबाटै जानुपर्ने अवस्था आएको नेताहरुले बताएका छन् । प्रदेशमा १ हजार ४ जना प्रतिनिधि रहनेछन् । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्य रुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रीत हुनुपरेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

बुटवल–१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।

प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले प्रतिनिधि छनौटका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै सर्वसम्मत भएका क्षेत्रहरुमा शुक्रबार नै घोषणा भएको र नभएका ठाउँमा शनिबार निर्वाचनबाट छानिने बताए । कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार ४ जना प्रतिनिधि छनोटका लागि यो प्रक्रिया सुरु भएको हो ।

प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिए पनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको बताए ।

अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसँग मिडियामार्फत् सहयोगको लागि अन्तरक्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उद्घाटनको दिन पार्टीको वेभसाइटसहित न्यूज पोर्टल लुम्बिनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए ।

यो पटक अधिवेशनमा प्रतिनिधि छानिन एमालेले केही कडा नियम बनाएको छ । पार्टी केन्द्रबाट २०८० सालको नवीकरण भइ प्रमाणित भएको सदस्यता विवरणका आधारमा छनौट गर्ने, प्रतिनिधि छनौटको आवश्यक योजनासहितको व्यवस्थापन जिल्ला कमिटीले गर्ने, प्रतिनिधि छनौटको इकाई ९क्षेत्र० गाउँपालिका÷नगरपालिका र उपमहानगर पालिकालाई बनाउने १०० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने, १५० भन्दा बढी सदस्य भएको खण्डमा २ जना, २५० जना सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्ने, यसरी ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने विधि बनाइएको छ ।

त्यसै गरी दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य संख्या बराबर १ जना प्रतिनिधि हुने, शेष संख्या ५० प्रतिशतभन्दा धेरै भएमा थप १ जना प्रनितिधि हुने, हरेक ३ जनामा १ जना महिला अनिवार्य हुनुपर्ने, २ जना मात्र प्रतिनिधि भएका १ जना महिला अनिवार्य, ५ जना प्रतिनिधि भएमा २ जना महिला, ८ जना भएमा ३ जना महिला अनिवार्य हुनुपर्ने र यसरी जम्मा हुने प्रतिनिधि संख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने विधि बनाइएको छ ।

प्रतिनिधि छनौट गर्दा दलित समुदायको संख्या घटाएर मात्र अन्यको गणना हुनेछ । दलित सदस्यले अन्य तथा खुल्लामा जान चाहेमा प्रतिनिधि छनौटको दिनभन्दा ३ दिन अगावै जिल्ला कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसै गरी जनसंगठनको हकमा महासंघ भएकोबाट ५ जना र अन्य जनसंगठनहरुको हकमा ३ जना प्रदेश कमिटीबाट छनौट गर्नुपर्ने, प्रतिनिधि छनौट गर्दा समावेशीलाई ध्यान दिने, अनेमसंघबाहेक अन्य जनसंगठनहरुमा प्रतिनिधि ५ जना हुनेबाट २ महिला र ३ जना हुनेबाट १ महिला अनिवार्य हुनुपर्ने, जनसंगठनको प्रतिनिधित्व गर्न पार्टी सदस्य भएको र २०८० सालको नवीकरण भई प्रमाणित गरेको सुचिमा नाम भएको हुनुपर्ने नियम बनाइएको छ ।

अधिवेशनका लागि लुम्बिनी प्रदेशको समृद्धि र विकासको अवधारणापत्र तयारीका लागि पार्टी पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी संयोजक तथा सदस्यमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य समेत रहेको कमिटी गठन गरिएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिवद्घय लिला राना र दुर्गाप्रसाद थारु एवं जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने गरी १७ सदस्यीय मूल ब्यवस्थापन कमिटी, राजनैतिक, सांगठिनक तथा आर्थिक प्रतिवेदन तयारीका लागि संयोजक राधाकृष्ण कडेल, सदस्य भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लिला राना र दुर्गाप्रसाद थारुलाई जिम्मेवारी दिइएको छ ।

त्यसै गरी अतिथि सत्कार संयोजक भोजप्रसाद श्रेष्ठ, स्वास्थ्य समिति संयोजक बाबुराम भट्टराई, साँस्कृतिक उपसमिति संयोजक सिन्धु जलेशा, कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति संयोजक लक्ष्मण आचार्य, सदस्य बालकृष्ण पाण्डे, प्रचार प्रसार समिति संयोजक डी।आर। घिमिरे, सदस्य मोहन चापागाई, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे, प्रदीप आचार्य, शोभाखर पन्थी, निरु गौतम, रामप्रसाद आचार्य, मञ्च व्यवस्थापन र स्वंयसेवक परिचालन संयोजक पुरन गुरुङ्ग, सह–संयोजक तुलबहादुर अधिकारी, आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक तेजेन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भए पनि प्रतिनिधि छनौटमै फालिने डरले बोलेका छैनन् । अहिले ६ सयभन्दा माथिको प्रदेश कमिटीलाई अब २ सय ५० को संख्यामा बनाइने भएकाले पनि यसमा धेरैको चासो बढेको एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।