ताजा अपडेट »

लुम्बिनीका सामाजिक विकास मन्त्री गुप्ताले कालिका माविको निरीक्षणमा बिताए २ घण्टा

शनिबार, २३ असार २०८०, १५ : ३०
10 Shares

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले बुटवलस्थित कालिका मानवज्ञान माविको निरीक्षण भ्रमण गरेका छन् । शनिवार विद्यालयमा पुगेका मन्त्रि गुप्ताले विद्यालयको प्रयोगशाला, प्रशासनिक कक्षाहरु, अन्य कक्षाकोठा, संग्राहलय र छात्रावासको अवलोकन गरेका थिए । बिदाको दिनमा समेत शैक्षिक र प्रशासनिक कार्यहरु भएको तथा मानवीय संसाधन र भौतिक संरचनाको व्यवस्थापन उत्कृष्ट भएको भन्दै गुप्ताले विद्यालयको प्रशंशा गरे ।

अवलोकन भ्रमणमा गएका मंत्री गुप्तालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयका भौतिक, शैक्षिक अवस्था तथा भावी योजनाको बारेमा जानकारी गराए । उनले विद्यालयमा धेरै विद्यार्थीको आकर्षण रहेको तर भौतिक अवस्थाले सबैलाई भर्ना गरेर पढाउँन कठिन भएकोले विद्यालयको भौतिक विकासमा प्रदेशले सरकार बढी ध्यान दिनुपर्ने बताए । उनले विद्यालयमा संचालन भएको अनाथ असहाय छात्रावासको विस्तार र सुविधा वृद्धि गर्न सकेमा प्रदेशका धेरै अनाथ, असहाय र विपन्न विद्यार्थीलाई विद्यालयको छात्राबासमा राखेर पढाउन सकिने भएकोले छात्राबासमा प्रदेश सरकारले लगानी बढाउँ मन्त्रीको ध्यानाकर्षण गराए ।

निरीक्षणमा पुगेका मंत्री गुप्तालाई विद्यालयका खेलकुद संयोजक तथा सांगीतिक पिटी अभियन्ता हरिश ओलीले कालिकाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि खेलकुद र सांगीतिक पिटीलाई प्राथमिकता गरेको र जिल्लाको खेलकुदलाई चलायमान गराउन भूमिका खेलेकोले प्रदेश सरकारले विद्यालय खेलकुदको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए। निरीक्षणपछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले शिक्षकको मेहनत, व्यवस्थापन समितिको तत्परता र समुदायको खबरदारी भएमा सामुदायिक विद्यालयहरुले उत्कृष्ट शिक्षा प्रदान गर्नसक्ने उदाहरण कालिकाले प्रस्तुत गरेको बताए । केन्द्रदेखि प्रदेशसम्म शिक्षामा कम बजेट बिनियोजन हुने गरेकोले शैक्षिक अवस्था सुधार गर्नको लागि थुप्रै कार्यक्रमहरु भएपनि त्यसलाई पूरा गर्न ठूलो चुनौती भएको बताए ।

प्रशासनिक संरचना, कानूनी अड्चन, बजेटको अभाव र स्थानीय सरकार तथा विद्यालय व्यवस्थापन समितिमा देखिने खिचातानी जस्ता कारणले गर्दा विद्यालय सुधारका कामहरु गर्न सकिएन भन्दै सरोकारवालाहरु उम्कने गरेको अवस्थामा कालिका मानवज्ञान माविले आफूले गरेका शैक्षिक अभ्यासले गर्दा नेपालमा उत्कृष्ट विद्यालय बन्न सफल भएकोमा विद्यालयको प्रशंशा गरे । विद्यालयमा २ घण्टा बिताएका मन्त्रि गुप्ताले छात्राबासमा रहेका विद्यार्थीसंग अन्तरक्रिया गरेका थिए । उनले छात्राबासमा सुविधा विस्तारमा आफ्नो व्यक्तिगत र सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे तथा होस्टेल वार्डेन राम बहादुर जिसीले होस्टेलको विविध पक्षहरुको बारेमा जानकारी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।